कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

बक्सर मोहम्मद अलीद्वारा संन्यास

काठमाडौँ — सन् १९७९ मा आजकै दिन (जुन २६) मा बक्सर मोहम्मद अलीले व्यावसायिक बक्सिङ खेलबाट संन्यास लिएका थिए । उनी तीन पटकका विश्व हेभिवेट (ठूलो तौल समूह) च्याम्पियन हुन् । 

बक्सर मोहम्मद अलीद्वारा संन्यास

सन् १९४२ को जनवरी १७ मा अमेरिकाको केन्टकी राज्यमा जन्मिएका अलीको खास नाम क्यासियस मार्सेलस क्ले थियो । उनले १९५४ मा पहिलो पटक प्रतिस्पर्धात्मक बक्सिङ खेलेका थिए । त्यसको ६ वर्षपछि पोल्यान्डका प्रतिद्वन्द्वीलाई हराएर उनी पहिलो पटक ओलम्पिक च्याम्पियन बनेका थिए ।

अमेरिका फर्केपछि उनको भव्य स्वागत गरिएको भए पनि एक रेस्टुरेन्टमा बस्नका लागि टेबल नदिइएपछि उनी जातीय भेदभावविरुद्ध लागेका थिए । जातीय भेदभावको समयमा पृथकतावादी समूहमा आबद्ध भएपछि उनलाई विभाजनकारीको आरोप लागेको थियो । उनी मुसलमानका लागि छुट्टै राष्ट्र (नेसन अफ इस्लाम) को माग गर्ने समूहसँग आबद्ध भएका थिए । तर नागरिक हकको खुलेर समर्थन गरेपछि भने उनी विश्वभर लाखौं मानिसका प्रिय बनेका थिए ।

१९६४ मा विश्व हेभिवेट च्याम्पियन बनेका उनले त्यसअघि नै आफ्नो नाम मोहम्मद अली राखिसकेका थिए । ‘क्यासियस क्ले’ दासको नाम भन्दै उनले उक्त नाम प्रयोग गर्ने मानिसप्रति आक्रोश व्यक्त गर्ने गर्थे । बक्सिङ रिङमा रहँदा उनी प्रतिद्वन्द्वीलाई जिस्क्याउने तथा उनीहरूको वरिपरि नाच्ने गर्थे । त्यसका साथै खेलका दर्शकलाई कविता सुनाएर मनोरञ्जन गराउँथे ।

दुई दशक लामो व्यावसायिक जीवनमा अली ५६ वटा म्याचमा विजयी र ५ वटामा पराजित भएका थिए । अलीको ७४ वर्षको उमेरमा सन् २०१६ को जुन ३ मा मृत्यु भएको थियो ।

प्रकाशित : असार ११, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?