सन् १९९५ मा आजकै दिन (मे १९) मा बालामुरली अम्बाटी विश्वकै सबैभन्दा कान्छो चिकित्सक बनेका थिए । भारतीय राज्य तमिलनाडुको भेलोरमा १९७७ को जुलाई २९ मा जन्मिएका बालामुरली १७ वर्षको उमेर चिकित्सक बनेका थिए ।
उनी १३ वर्षको उमेरमा अमेरिकाको न्युयोर्कस्थित माउन्ट सिनाइ स्कुल अफ मेडिसिनमा भर्ना भएका थिए । त्यसको चार वर्षपछि उनले अप्थाल्मोलोजीमा मेडिकल डिग्री प्राप्त गरेका थिए । १९५५ मा नेसनल मेडिकल बोर्डको परीक्षामा ९९ प्रतिशतभन्दा बढी ल्याएर चिकित्सक बनेसँगै उनले विश्व कीर्तिमान कायम गरेका थिए ।
त्यसपछि उनले हावार्ड विश्वविद्यालयको रेसिडेन्सी चिकित्सका रूपमा अप्थाल्मोलोजिस्टको अध्ययन पूरा गरेका थिए । २००२ मा उनी डुक विश्वविद्यालयबाट कोर्नियासम्बन्धी अध्ययन पूरा गरेपछि उनी केही समय जर्जिया मेडिकल कलेजसँग पनि आबद्ध भएका थिए । त्यसका साथै उनले एमबीएसमेत गरेका छन् ।
हाल उनी अमेरिकाको उटाह विश्वविद्यालयमा प्राध्यापकसमेत हुन् । त्यहाँ उनले आँखामा हुने विभिन्न प्रकारका समस्याबारे शल्यक्रिया गर्नुका साथै अनुसन्धानात्मक कार्य गर्ने जनाइएको छ । भारतीय मूलका बालामुरलीका पिता औद्योगिक इन्जिनियर र आमा गणितज्ञ थिए । ३ वर्षको हुँदा आमाबुबाले उनलाई अमेरिका लगेका थिए ।
