आजकै दिन

आइफल टावर खुला

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रवेश शुल्क तिरेर सर्वाधिक धेरै घुमिने संसारको मानव निर्मित संरचनामा पर्ने फ्रान्सको पेरिसमा अवस्थित आइफल टावर १ सय ३३ वर्षअघि आजकै दिन खुला गरिएको थियो । सन् २०२२ मा मात्र ५८ लाख ८९ हजारले भ्रमण गरेका थिए । 

फ्रान्सको सिटी आफ पेरिसको स्वामित्वमा रहेको उक्त टावर १८८७ जनवरी २८ देखि निर्माण सुरु गरेर झन्डै २६ महिनाभित्रमा तयार पारिएको थियो । यस टावरको डिजाइन इन्जिनियर गुस्ताभ आइफलले तयार पारी निर्माणसमेत गरेका थिए । युनेस्कोको विश्व सम्पदामा सूचीकृत ३ सय ३० मिटर अग्लो यस टावरले त्यसताकाको विश्वको अग्लो मानव निर्मित भवन वासिङ्टन स्तम्भको रेकर्डलाई तोडेको थियो भने आफ्नो रेकर्ड ४१ वर्षपछि जोगाएको थियो ।

फलाममा खिया लाग्नबाट जोगाउन आइफल टावरलाई हरेक ७–७ वर्षमा रङरोगन गर्ने गरिन्छ । पूरा टावरका लागि ६० टन बढी रङको आवश्यकता पर्ने यहाँ हालसम्म १९ पटक रङरोगन गरिइसकेको छ । २१ औं शताब्दीको सुरुताकाबाट भने यो टावरलाई रेडियो तथा टेलिभिजन ट्रान्समिसनका लागि समेत प्रयोग गर्दै आइएको छ ।

प्रकाशित : चैत्र १७, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

शरणार्थी बनाउने नाममा ठगी प्रकरण : पूर्ववडाध्यक्ष राई दुलालका ‘मुख्य सहयोगी’

विनोद भण्डारी

विराटनगर — ललितपुरको बालकुमारीबाट बुधबार पक्राउ परेका सागर राई नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दामा सक्रिय संलग्न रहेको पीडितहरूले बताएका छन् । उनीहरूका अनुसार भुटानी शरणार्थी बनाएर अमेरिकालगायत तेस्रो मुलुक उडाउने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका नाइके केशव दुलालका मुख्य सहयोगीका रूपमा राई सक्रिय थिए ।

राई गिरोहका नाइके दुलालको घर रहेका पथरी शनिश्चरे–१० का पूर्ववडाध्यक्ष हुन् । राई र दुलालको घर मंगलबारेमा पर्छ । पहिला त्यही छेउमा भुटानी शरणार्थी शिविर थियो । पीडितहरूका अनुसार ठगी धन्दामा राई दुलालको लेखापालजस्तै भूमिकामा थिए । ‘पूर्वी क्षेत्रबाट उठाएको पैसा दुलालका विभिन्न बैंक खातामा जम्मा गर्ने मुख्य जिम्मेवारी राईको देखिन्थ्यो,’ एक पीडितले भने ।

दुलाल कांग्रेस नेता सुजाता कोइराला २०६६ सालमा परराष्ट्रमन्त्री भएका बेला उनको निजी सहायक थिए । त्यही बेला राजनीति र कर्मचारीतन्त्रमा पहुँच बढाएर उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका, अस्ट्रेलिया र क्यानडालगायतका मुलुकमा पुनर्वास गराउने धन्दा थालेका थिए । जानकारका अनुसार त्यति बेलैदेखि सागर उनको सहयोगीका रूपमा सक्रिय थिए । राईले अमेरिका लैजाने भन्दै साढे दुई सयभन्दा बढी नेपालीसँग जनही १० लाखदेखि २० लाख रुपैयाँसम्म उठाएको स्थानीयको भनाइ छ ।

‘मध्यम वर्गीय परिवारका सागरले दुलालको संगतमा लागेर बाटो बिराए,’ स्थानीय हरि कोइरालाले भने, ‘पैसा उठाइएका व्यक्तिलाई दुलालले विदेश नपठाएपछि राई चपेटामा परे । पैसा फिर्ता माग्न आउनेलाई उनले बाबुआमाको पेन्सनको रकमसमेत दिएको सुनिन्थ्यो ।’

एक स्थानीयका अनुसार राईले अमेरिका लैजाने भन्दै आफ्नै गाउँका श्रीहाङ लिम्बूबाट पनि १० लाख रुपैयाँ लिएका थिए । ‘अमेरिका जान ढिलो भएपछि श्रीहाङ खुकुरी लिएर सागरको घरमा पुगेछन् अनि पैसा फिर्ता दिन्छस् कि छप्काइदिऊँ भनेपछि तत्काल रकम फिर्ता दिएर पठाए रे,’ ती स्थानीयले सुनाए ।

राई अघिल्लो स्थानीय निर्वाचनसम्म कुनै राजनीतिक दल र भ्रातृ संगठनमा आबद्ध थिएनन् । उनी गाउँको युवा जमातलाई लिएर हिँड्ने गर्थे । युवाकै जोडबलमा उनलाई कांग्रेसले वडाध्यक्षको टिकट दिएको थियो । वडाध्यक्षमा विजयी भएपछि उनले वडा सदस्यलाई कार्यवाहक दिएका थिए । उनी भने प्रायः काठमाडौंमा बसेर दुलालसँग ठगी काममै व्यस्त भएका थिए ।

राईबाट आफ्नो रकम फिर्ता लिइसकेका पथरीका एक युवाका अनुसार कानेपोखरीमा ६ जनाले भुटानी शरणार्थीका नाममा अमेरिका लैजाने भन्दै ५० जनाभन्दा बढीसँग रकम असुली गरेका थिए । रकम असुली गर्नेमध्येका ५ जना आफैं प्रक्रिया मिलाएर बेलायत पुगेका छन् । दुलाल, राईलगायतको गिरोहले नै उर्लाबारीका एक चटपट व्यापारीबाट ५ लाख रुपैयाँ लिएको पाइएको छ । ती व्यापारीले रकम फिर्ता गराइदिन हारगुहार गरिरहेको एक जनप्रतिनिधिले बताए ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : चैत्र १७, २०७९ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×