सिरम इन्स्टिच्युटमा आगलागीबाट 'एक हजार करोड रुपैयाँभन्दा बढीको क्षति'- विश्व - कान्तिपुर समाचार

सिरम इन्स्टिच्युटमा आगलागीबाट 'एक हजार करोड रुपैयाँभन्दा बढीको क्षति'

इकान्तिपुर डेस्क

काठमाडौँ — सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई)मा बिहीबार लागेको आगलागीका कारण करिब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिृकत(सीईओ) अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको जानकारी दिएका हुन् । ‘बिहीबार पुणेस्थित कम्पनीमा आगलागीका कारण एक हजार करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,’ सीईओ पुनावालाले भने ।

साथै सीईओ पुनावालाले आगलागीका कारण कोरोना भाइरसविरुद्धको खोप आपूर्तिमा कुनै असर नपर्ने पनि बताएका छन् । पुनावालाले भने, ‘कोरोना खोप उत्पादनमा कुनै असर पर्दैन । हामीले कम्पनीमा कैयौं औषधि बनाउँछौं । तर बीसीजी खोपको आपूर्ति भने प्रभावित हुन सक्छ । यस घटनाले हामीलाई ठूलो आर्थिक क्षति पुगेको छ ।’

आगलागीमा परी कम्पनीमा कार्यरत ५ जना कर्मचारीको मृत्युसमेत भएको थियो । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सायरस पुनावालाले आगलागीमा परी मृत्यु भएका ५ जनाको परिवारलाई २५ लाख रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्ध कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ । भारत सरकारले उक्त कम्पनीले बनाएकै कोभिसिल्ड खोपको १० लाख डोज नेपाल सरकारलाई उपलब्ध गराएको छ । डोजको संख्याका हिसाबले एसआईआई विश्वकै ठूलो खोप निर्माता कम्पनी हो ।

प्रकाशित : माघ १०, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्

सवारी दुर्घटनामा २ जनाको मृत्यु

भरत जर्घामगर

सिरहा — पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको प्रयागपुर खण्डमा शुक्रबार राति मोटरसाइकल र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मोटरसाइकल र यात्रुबाहक बस ठोक्किँदा मोटरसाइकलमा सवार धनुषा सबैला नगरपालिका–१३ का सचिन महतो र सुशिल महतोको मृत्यु भएको हो ।

धनुषाबाट पूर्वतर्फ ज ८ प ६४८४ नम्बरको मोटरसाइकलमा जन्ती गइरहेको बेला विपरीत दिशाबाट आइरहेको ना ५ ख ५२५४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने बसलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : माघ १०, २०७७ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×