अस्ट्रेलियाका अधिकांश सहरमा नयाँ वर्षको आतिसबाजी रद्द
अस्ट्रेलिया — केही दिनदेखि सिड्नीमा कोरोना भाइरसको नयाँ संक्रमण देखिएपछि अधिकांश राज्यले सिड्नीसँगको सीमाना बन्द गरेका छन् । हरेक नयाँ वर्षको दिन हार्बर ब्रिजमा आयोजना गरिने आतिसबाजीसमेत आंशिक रुपमा मात्र गरिने भएको छ ।
करिब एक साताअघि सिड्नीको उत्तरी क्षेत्रका केही स्थानबाट देखिएको संक्रमण बढेर १ सय ४४ पुगेसँगै भिक्टोरिया, पश्चिम अस्ट्रेलिया, दक्षिण अस्ट्रेलियालगायतका राज्यले आफ्नो सीमाना बन्द गरेका छन् । त्यसैगरी नर्दन टेरिटोरी तथा क्विन्सल्याण्डले न्यु साउथ वेल्सका प्रभावित स्थानबाट आउने नागरिकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगाएका छन् ।
पश्चिम अस्ट्रेलियाले केही दिन पहिल्यै सिड्नीबाट आउने नागरिकलाई प्रतिबन्ध लगाइसकेको भए पनि भिक्टोरिया र दक्षिण अस्ट्रेलियाले नयाँ वर्षको दिनदेखि अनिश्चितकालका सीमाना बन्द गर्ने निर्णय गरेका छन् । अत्यावश्यक काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सकलगायतका अन्य कर्मचारीलाई भने आवश्यक्ताअनुसार पास उपलब्ध गराएर आउन दिइने भएको छ । दक्षिण अस्ट्रेलियाका प्रिमियर स्टिभन मार्सलले सीमाना बन्द गर्ने निर्णय अत्यन्तै कठोर भए पनि स्वास्थ्य अधिकारीको सल्लाहअनुसार नै निर्णय लिइएको बताएका छन् ।
अस्ट्रेलियाले कोरोना भाइरसलाई पूर्ण रुपमा नियन्त्रण लिइसकेको भए पनि केही महिना पहिले भिक्टोरियामा देखिएको दोस्रो लहरले तनाव सिर्जना गरिदिएको थियो । उक्त दोस्रो लहर पूर्ण रुपमा नियन्त्रणमा आइसकेपछि न्यु साउथ वेल्समा देखिएको नयाँ संक्रमणले अधिकारीलाई झन तनाव थपिदिएको छ । न्यु साउथ वेल्सले प्रभावित स्थानमा घरभित्र बालबालिकासहित ५ जनाभन्दा बढी भेला हुन नपाउने नियम लगाएको छ भने बाहिर ३० जनाभन्दा बढी भेला हुन नपाउने नियम लगाइएको समाचारमा जनाइएको छ । जसको प्रत्यक्ष असर सिड्नी हार्बरब्रिजको नयाँ वर्षको आतिसबाजीमा समेत पर्ने भएको छ ।
कोरोना भाइरसको प्रकोप बढेसँगै नयाँ वर्षको दिन आयोजना गरिने आतिसबाजी अधिकांश राज्यमा रद्द गरिएको छ । अस्ट्रेलियाका हरेक मुख्य सहरका साथै सामुन्द्रिक किनारमा साँझको ९ बजे र रातिको १२ बजे आतिसबाजी आयोजना हुने गर्दछ । तर यस वर्ष सिड्नीको राति ९ बजेको आतीसबाजी रद्द गरिएको छ भने आतीसबाजी हेर्नका लागि निश्चित स्थान तोकिएको छ ।
ठूलो संख्यामा जम्मा हुन बन्देज गरिएको भए पनि स्थानीय क्याफे तथा होटलमा गएर रमाइलो गर्न प्रोत्साहित गरिएको छ । भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, राजधानी क्यानबेरा र क्विन्सल्यान्डका मुख्य सहरमा गरिने आतिसबाजी रद्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने कारण देखाउँदै अधिकांश राज्यले आतीसबाजी नगर्ने निर्णय गरेको स्थानीय समाचारमा जनाइएको छ । तर पनि केही राज्यले आतिसबाजीको साटो लेजर बत्तीलगायतको प्रयोग गरेर नयाँ वर्षलाई स्वागत गर्ने तयारी गरेका छन् ।
