कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

अधिकांश देशमा फैलिने जोखिम
एजेन्सी

वासिङ्टन — अमेरिकामा पनि नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । कोलोराडोका एक युवकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको बीबीसीले जनाएको छ । उनलाई अहिले आइसोलेसनमा निगरानीमा राखिएको छ ।

अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । अधिकारीहरूले अमेरिकामा नयाँ स्वरूपको कोरोना फैलिइसकेको आशंका व्यक्त गरेका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ लाख ३८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको र मोडर्नाको कोरोना खोप आपत्कालीन प्रयोगमा आइसकेको छ ।

बेलायतमा पहिलो पटक देखिएको कारोना भाइरसको नयाँ प्रकार विश्वभर फैलने क्रम जारी छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार उक्त भाइरस हालसम्म अमेरिका, डेनमार्क, नेदरल्यान्ड्स, अस्ट्रेलिया, स्विडेन, स्विट्जरल्यान्ड, जर्मनी, क्यानडा, जापान, फ्रान्स, लेबनान, सिंगापुर, दक्षिण कोरिया, भारत, पाकिस्तानलगायत देशमा पुष्टि भइसकेको छ ।

कोभिड–१९ को तुलनामा नयाँ भाइरसले युवाहरूलाई बढी प्रभावित पारेको देखिएको डब्लूएचओले जनाएको छ । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरूलाई कडाइका साथ अवलम्बन गर्न अत्यावश्यक भएको संगठनको भनाइ छ ।

यसको गुण, लक्षण, असरलगायतबारे अध्ययन भइरहेको र नतिजा आएर धेरै कुरा प्रस्ट भइसकेपछि मात्रै नयाँ रणनीति तय गर्न सकिने डब्लूएचओको भनाइ छ । यसअघि डब्लूएचओका एक वरिष्ठ अधिकारीले नयाँ प्रकारको भाइरस फैलिइसेको अवस्थानमा रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नुको विकल्प नरहेको जनाएका थिए ।

बेलायती वैज्ञानिकहरूले गरेको अध्ययनमा नयाँ कोरोना भाइरस पहिले देखिएको भाइरसको तुलनामा ७० प्रतिशतभन्दा बढी छिटो सर्ने देखिएको छ । छिटो सर्ने भए पनि बिरामीको मृत्यु हुने दर कम भएको दाबी वैज्ञानिकहरूको छ । यद्यपि यसको पुष्टि हुन बाँकी नै छ ।

त्यसका साथै कोरोना भाइरसविरुद्ध विकास गरिएको खोपले काम गर्ने वा नगर्ने विषयमा पनि यकिन भइसकेको छैन । यसबारे बेलायतका वैज्ञानिकहरूले अध्ययन सुरु गरिसकेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले मार्चमा विश्वव्यापी महामारीका रूपमा घोषणा गरेको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर ८ करोड १९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । १७ लाख ८९ हजार जनाको भाइरसका कारण मृत्यु भएको छ ।

भाइरसका कारण प्रभावित हुने देशहरूको सूचीमा भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् । विश्वविद्यालयका अनुसार मंगलबार साँझसम्म भारतमा १ करोड २ लाखभन्दा बढीमा २४ हजार जनामा संक्रमण देखिइसकेको छ । त्यस्तै तेस्रो प्रभावित ब्राजिलमा संक्रमितको संख्या ७५ लाख ४ हजारभन्दा बढी छ । भारतमा १ लाख ४८ हजारभन्दा बढी र ब्राजिलमा १ लाख ९२ हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : पुस १५, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?