नयाँदिल्ली — भारतले अन्य युरोपेली मुलुकको अनुशरण गर्दै बेलायतसँग हवाई सम्पर्कलाई डिसेम्बर ३१ सम्मका लागि प्रतिबन्ध लगाएको छ ।
नयाँ स्वरूपको कोरोना भाइरसको जीवाणु फेला बेलायतभर फैलिसकेको पुष्टि भएसँगै युरोपका अधिकांश मुलुकले सोमबार बिहानदेखि बेलायतसँगको हवाई उडानदेखि रेल सेवामा रोक लगाएका छन् । त्यसको केही घण्टामै भारतले पनि बेलायतसँग सिधा हवाई सम्पर्कमा उडानमा रोक लगाउने गर्ने निर्णय गरेको हो ।
भारतको नागरिक उड्डयन मन्त्रालयले सोमबार ट्वीट गर्दै औपचारिक रूपमा त्यससम्बन्धमा जानकारी गराएको हो । मन्त्रालयले मंगलबारदेखि डिसेम्बर अन्त्यसम्मका लागि बेलायतसँगको हवाई सम्पर्क अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको समेत जनाएको छ । त्यसैगरी बेलायतबाट भारत हुँदै अन्य मुलुक जाने हवाई यात्रुहरूलाई समेत पीसीआर परीक्षण अनिवार्य गरिएको छ । भारतको यो कदमले बेलायतबाट भारत हुँदै नेपाल यात्रा गर्ने नेपालीहरू पनि प्रभावित हुनेछन् । बेलायतमा बस्ने नेपालीहरू र अध्ययनलगायतका विभिन्न प्रयोजनका लागि बेलायत जानेहरूमध्ये ठूलो संख्या भारत हुँदै आउजाउ गर्ने गर्छन् ।
कोरोनाको संक्रमणमा तीव्र वृद्धि देखिएपछि बेलायत सरकारले शनिबार मात्र डिसेम्बर ३० सम्मका लागि लन्डन र देशका अन्य प्रमुख भागहरूमा यही आइतबारदेखि लकडाउन गर्ने निर्णय गरेको थियो । र, यो लकडाउन कम्तीमा पनि दुई सातासम्म काम रहने बताइएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्ममा बेलायतमा २० लाख मानिस संक्रमित भइसकेका छन् र ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । दैनिक रूपमा २८ हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् ।
बेलायतसँगको हवाई सम्पर्कलाई निरन्तर दिँदा कोरोना महामारीको जोखिम बढ्ने देखेर भारतले पछिल्लो निर्णय लिएको हो । भारतमा शनिबार मात्र कोरोना संक्रमितको संख्याले एक करोड नाघेको थियो । सोमबार साँझसम्ममा भारतमा एक करोड ५५ हजारभन्दा बढी संक्रमित भएका छन् । जसमध्ये १ लाख ४५ हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ । साथै ९६ लाखभन्दा बढी निको भइसकेका छन् ।
भारतको ३६ वटा राज्य तथा प्रदेशहरूमध्ये महाराष्ट्रमा सबैभन्दा बढी संक्रमण देखिएको छ । त्यहाँ हालसम्म करिब १९ लाख संक्रमित भइसकेका छन् । राजधानी नयाँदिल्लीमा त्यो संख्या छ लाखभन्दा बढी छ । भारतले कोरोना महामारी सुरु भएपछि बन्द गरिएको अन्तर्राष्ट्रिय हवाई सेवालाई एयर बबल योजनाअन्तर्गत सुरु गरेको थियो । जसअन्तर्गत हाल नेपाल, बेलायतलगायत विभिन्न २२ मुलुकसँग सोही योजनाअन्तर्गत हवाई सेवा सञ्चालनमा रहेको थियो ।
