बाइडेनको वाचा : पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप

सय दिनसम्म मास्क लगाउन अमेरिकी नागरिकलाई आग्रह

मंसिर २४, २०७७

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पदभार ग्रहण गरेको सय दिनभित्र १० करोड व्यक्तिलाई कोरोना खोप दिने वाचा गरेका छन् । आफ्नो कार्यकालको सुरुवाती महिनामा कोरोना महामारी अन्त्य नहुने भए पनि यसको बाटो मोड्ने रणनीतिमा आफूहरु लागेको उनले दाबी गरेका छन् । 

बाइडेनले भने, 'मेरा सुरुवाती १०० दिनमा कोरोना महामारी अन्त्य हुँदैन । म त्यस्तो वाचा गर्न सक्दिनँ । यस्तो भद्रगोल अवस्थाबाट छिट्टै छुटकारा पाउन कठिन छ  तर सय दिनमा यसको बाटो मोडेर अमेरिकी नागरिकको जीवन सहज बनाउन भने सक्नेछौं ।'

बाइडेनले आउँदो जनवरी २० तारिखमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्  । त्यसअघि बाइडेनले म‌ंगलबार आफ्नो स्वास्थ्य कार्यदलको परिचय गराएका हुन् । उनले आफूले कार्यभार सम्हालेको सय दिनसम्म सबै अमेरिकी नागरिकलाई मास्क लगाउन पनि आग्रह गरेका छन् । 

बाइडेनले स्वास्थ्य सचिवका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता हाभियर बेसेरालाई मनोनीत गरेका छन् । त्यस्तै डा. विवेक मुर्थीलाई सर्जन जनरलका रुपमा र डा. रोचेल वालेन्स्कीलाई रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) को निर्देशकका रुपमा मनोनीत गरिएको छ ।

त्यस्तै डा. मार्सेला नुनेज स्मिथलाई कोभिड-१९ टास्क फोर्सको अध्यक्षका रुपमा र वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीलाई कोभिड-१९ सम्बन्धी राष्ट्रपतिका प्रमुख स्वास्थ्य सल्लाहकारको रुपमा मनोनीत गरिएको छ । त्यस्तै कोभिड-१९ प्रतिकार्य तथा काउन्सिलरको संयोजकमा जेफ जायन्ट्सलाई मनोनीत गरिएको छ । 

म‌ंगलबार नै अमेरिकी नियामक निकाय औषधि तथा खाद्य प्रशासन (एफडीए) ले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप सुरक्षित र प्रभावकारी भएको बताएको छ । छिट्टै नै अमेरिकामा कोरोना खोप वितरण गरिने बताइएको छ । त्यसका लागि वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित कोरोना खोप अभियानसम्बन्धी सम्मेलनमा सहभागी भएका छन् । बेलायतमा भने फाइजरको खोप मंगलबारदेखि प्रयोगमा आइसकेको छ । एफडीएले बिहीबार बैठक बसेर खोप प्रयोगका लागि अनुमति दिने सम्बन्धमा निर्णय गर्ने बताइएको छ ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बुधबार बिहानसम्म १ करोड ५१ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा कोरोनाले २ लाख ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ५७ लाख ८६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । 

कोरोना खोपकोरोना भाइरस

इकान्तिपुर

Link copied successfully