फ्रान्सका पूर्वराष्ट्रपति दिस्तँको कोरोनाले निधन- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्सका पूर्वराष्ट्रपति दिस्तँको कोरोनाले निधन

इकान्तिपुर डेस्क

काठमाडौँ — फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको बुधबार निधन भएको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको निधन भएको भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । उनी ९४ वर्षका थिए । परिवारका सदस्यहरुका अनुसार भ्यालेरीको इच्छाअनुसार नै परिवारका केही सदस्यहरुको उपस्थितिमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

फ्रान्सलाई आधुनिक मूल्यमान्यताअनुसार् अगाडि बढाउन प्रमुख भूमिका खेलेका दिस्तँ सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका थिए । सन् १९८१ मा राष्ट्रपति पदका लागि चुनाव लडे पनि उनी समाजवादी फ्राँस्वा मितेरँसँग पराजित भएका थिए । फ्रान्सली समाजको आधुनिकीकरण, गर्भपतनलाई वैधता, आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाउने तथा मताधिकार २१ वर्षबाट १८ वर्षमा झार्ने काम दिस्तँले गरेका थिए ।

साथै उनले जीवनभर युरोपेली मुलुकबीचको सहकार्यलाई जोड दिँदै आएका थिए । सन् २०१६ मा युरोपेली युनियनबाट बाहिरिने विषयमा जनमतस‌ंग्रह हुनुपूर्व उनले बेलायतलाई युनियनमै रहन पनि आग्रह गरेका थिए ।

प्रकाशित : मंसिर १८, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

ह्वीलचियरमा म्‍यानेजर

‘पढ्ने अवसर चाहिन्छ, काम गर्न क्षमता प्रदर्शन गर्न दिनुपर्छ । दयाको पात्र बनाइयो भने अपांग मात्र हैन, आरक्षणमा परेका सबै कमजोर हुन्छन् ।’
प्रकाश बराल

बागलुङ — झरी, बादल, घाम र जाडो भन्दैनन् । कम्मरमुनि उनका खुट्टाका पैताला मात्रै छन्, अरू भाग छैनन् । ह्वीलचियरमा ओहोरदोहोर गर्छन् । अपांगता भएकामा उनले पीर गरेर जीवन चल्दैन भन्ने बुझेका छन् । अपांगता भएका अरूलाई सल्लाह र हौसला दिन्छन् । सीप सिकाउँछन् ।

सबैलाई आफूले सकेको काम गर्न र त्यसमा रमाउन सल्लाह दिन्छन् । काठेखोला गाउँपालिका–४ तंग्रामका ३० वर्षीय होमबहादुर थापा धेरैका सम्मानित व्यक्ति बनेका छन् ।

बालक छँदा शारीरिक अपांगता भएकै कारण उनलाई घरपरिवार र छिमेकीले पढाउन चाहेनन् । पढ्नकै लागि उनले परिवारमै विद्रोह गरेर घर छोड्न आँट गरे । बाबु खड्गे र आमा डल्लीलाइ पहिलो सन्तान अपांग जन्मेकामा धेरै चिन्ता थियो । भाइबहिनी विद्यालय गएपछि उनले घरमै विद्रोह गरे । विद्यालय जान नपाएसम्म भोकै बसिदिए । दुवै खुट्टाको समस्याले उनी हातले टेकेर हिँड्नुपर्थ्यो तैपनि पढ्ने इच्छा मेटाएनन् । भाइले पढेको देखेर घरकै भित्तामा अँगारले लेखेर अक्षर सिकेका थापाले बाबुआमासँग पढ्न पाउनुपर्ने माग राखे ।

‘अपांगले पढ्नु पर्दैन’ भनेर जवाफ आएपछि उनले केही दिन त भातै खाएनन् । घर नजिकको स्कुल सजिलो ठाउँमा थिएन । सामान्य विद्यार्थीले नै एक घण्टा उकालो चढ्नुपथ्यो । घरबाट जान नसक्ने भएपछि विद्यालय छेवैको घरमा डेरा लिएर बसेर पढे । नातामा आफन्त शिक्षक चन्द्रवीरको घरमा उनले डेरा लिएकाले भाइ रनबहादुर, कृष्ण र बहिनी पवित्रालाई पनि पढ्न सहज भयो । बेलाबेला सँगै बस्थे, कहिले घरबाट आउँदा खाना ल्याइदिन्थे ।

सुरुमा उनी हात टेकेर कक्षामा जाँदा धेरैले गिज्याए । पछि पछि भने उनको क्षमता देखेर सम्मान गर्न थाले । ‘मानिसको शरीर हेरेर बौद्धिक क्षमता नाप्न मिल्दैन,’ शिक्षक कलिन्द्रकुमार पुन भन्छन्, ‘सद्दे भनिएका धेरैले पढाइ छाडेर गए, होमबहादुरले विद्यालयको इज्जतसमेत धानेको हो ।’ पढ्ने मात्र नभई अरूलाई सिकाउन पनि उनी अगाडि रहेको पुनले बताए ।

विद्यालयबाट घर जानु पर्दा भाइ रनबहादुरले बोकेर लैजान्थे । घरको अवस्था र पढाइ दुवै कमजोर भएकाले रनबहादुरले बीचैमा पढाइ छाडे । उनी भारतीय सेनामा भर्ती भए । अर्का भाइले पनि पढ्न सकेनन् । एसएलसी उत्तीर्ण गरेपछि विवाह गरेकी बहिनी पवित्राको पढाइमा घरव्यवहारको ब्रेक लाग्यो । होमबहादुरले पढ्न छाडेनन् । सदरमुकाम झरेर धौलागिरि बहुमुखी क्याम्पसबाट बीबीएस गरे । तिनताक उनलाई बजारमा कोठा भाडामा पाउन पनि कठिन भयो तर उनकै क्षमताले एकदुई महिनामै समस्या समाधान भयो । पढाइसँगै कम्प्युटर सिके । अरूलाई पनि सिकाए । घरमा बाबुआमालाई पनि पहिलो कमाइ बुझाउने उनै भए ।

पढेर मात्र सन्तोष मानेनन्, वित्तीय संस्थाको म्यानेजर पदमा पुगेर काम गरिरहेका छन् । बागलुङ बजारमा रहेको लखन बहुउद्देश्यीय सहकारी संस्थामा चार वर्षदेखि उनी म्यानेजर हुन् । कामप्रतिको लगनशीलताले सञ्चालकलाई लोभ्याएको छ । ‘उहाँका कामबाट हामी सन्तुष्ट छौं,’ संस्थाका अध्यक्ष तेजेन्द्र थापाले भने, ‘शारीरिक अवस्थाले होइन, सीप र क्षमताले अरू संस्थाको प्रतिस्पर्धी बनाएर देखाउनुभयो ।’ हिसाबकिताब चुस्त राख्ने र स्पष्टवक्ता भएकाले सहकारीले विकल्प खोज्न नपरेको थापा बताउँछन् । त्यसअघि उनले कम्प्युटर शिक्षक र सहकारीकै कर्मचारी भएर पनि काम गरेका थिए । दयामायाले नभई प्रतिस्पर्धाले काम गर्दा गुणस्तरीय हुने उनको विश्वास छ । ‘पढ्ने अवसर चाहिन्छ, काम गर्न क्षमता प्रदर्शन गर्न दिनुपर्छ,’ थापा भन्छन्, ‘दयाको पात्र बनाइयो भने अपांग मात्र हैन, आरक्षणमा परेका सबै कमजोर हुन्छन् ।’

खुट्टाको उपचारका लागि उनी तीनपटक धुलिखेल पुगे तर उपचार सम्भव भएन । ‘शारीरिक उपचारमा सम्भव भएन तर मेरो बौद्धिक क्षमता लगाएर संस्थाको प्रमुख बन्न सकेको छु,’ उनले भने, ‘अपरेसन गरेको भए मेरो शरीर झन् कमजोर हुन्थ्यो, नगरेरै ठीक भयो ।’

उनी ट्राइसाइकलमा हुइँकिन्छन्, यो साइकलमा सहजै ब्रेक पनि लाग्छ । सामान्य उकालो पनि गुड्छ । तीन तलामाथिको कार्यालय पुगेर उनी सजिलै काम गर्छन् । कसैको सहयोग चाहिँदैन । ‘उनको हिम्मतबाट सबैले मिहिनेत गर्न सिक्नुपर्छ,’ गाउँपालिका अध्यक्ष अमर थापाले भने, ‘अपांगता भएकालाई सीप सिकाउने योजना छ । होमबहादुर जस्तै हिम्मत बटुल्ने धेरै चाहिएको छ ।’

प्रकाशित : मंसिर १८, २०७७ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×