फ्रान्समा पाँच चरणको कोरोना खोप योजना पारित

मंसिर १८, २०७७

कान्तिपुर संवाददाता

पेरिस — फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप पाँच चरणमा लगाउने योजना पारित गरेको छ । फ्रान्सको राष्ट्रिय स्वास्थ्य सेवा विभागले सोमबार खोपका लागि पाँच चरणको योजना पारित गरेको हो ।

पहिलो चरणमा ६५ वर्ष माथिका वृद्धवृद्धा र कोरोना भाइरसबाट उच्च जोखिममा रहेका, गम्भीर रोगको सामना गरिरहेकाहरुलाई प्राथमिकतामा राखिएको छ । फ्रान्सको कोरोना खोप डिसेम्बरको अन्त्य वा जनवरीको पहिलो साताबाट सुरु गरिने स्वास्थ सेवा विभागले जनाएको हो । 

फ्रान्सेली राष्ट्रिय स्वास्थ्य विभागले पहिलो प्राथमिकतामा खोप दिनका लागि सबैभन्दा जोखिममा रहेका नागरिकहरु को-को हुन् भन्ने पहिचान गरिसकेको उल्लेख गरेको छ । पहिलो चरणमा खोप दिइने यस्ता नागरिक मुख्यत: वृद्धाश्रमका ६ लाख ५० हजार रहेको आकलन गरिएको छ ।

दोस्रो चरणमा ७५ वर्षभन्दा बढी उमेरका र त्यसपछि स्वास्थ्य सिफारिसका आधारमा ६५ देखि ७४ वर्षका छन् । त्यसपछि बल्ल ६५ वर्षसम्मका सबै व्यक्ति पर्ने छन् ।

तेस्रो चरणमा ५० वर्षभन्दा माथिकालाई प्राथमिकतामा राखिएको छ । तीमध्ये पनि स्वास्थ्य समस्या भएकाहरुलाई चिकित्सकको सिफारिसका आधारमा प्राथमिकतामा राखिने स्वास्थ्य सेवा विभागको सूचनामा उल्लेख छ । चौथो चरणमा भने जुनसुकै उमेरका भए पनि कोरोना भाइरसको उच्च जोखिम हुन सक्नेसित सम्पर्क भएकाहरुलाई दिइने छ ।

अन्तिम चरणमा १८ वर्षभन्दा माथिकालाई खोप दिने योजना बनाइएको छ । फ्रान्समा कुनै नि नागरिकलाई कोरोना भाइरसको खोप लगाउनै पर्ने बाध्यकारी नियम भने छैन । 

फ्रान्सले अमेरिकाको फाइजर र जर्मनीको बायोएनटेक कम्पनीले संयुक्त रुपमा उत्पादन गरेको खोप छिटो प्राप्त हुने हुँदा यही प्रयोगमा ल्याउने यसअघि नै सार्वजनिक गरिसकेको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully