अमेरिकामा डिसेम्बरसम्म कोरोना खोप उपलब्ध हुन सक्ने- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा डिसेम्बरसम्म कोरोना खोप उपलब्ध हुन सक्ने

एजेन्सी

वासिङ्टन — अमेरिकी नागरिकहरूले कोभिड–१९ विरुद्धको खोप पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोभिडविरुद्धको खोप कार्यक्रमका प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँग उक्त कुरा बताएका हुन् ।

स्लावीले प्रयोगका लागि स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाए । देशव्यापी रूपमा कोभिड–१९ को संक्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १ करोड २० लाखभन्दा धेरै मानिसमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कम्तीमा २ लाख ५५ हजार जनाको मृत्यु भइसकेको छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोप प्रयोगका लागि आकस्मिक अनुमति माग गर्दै शुक्रबार आवेदन दिएका थिए । दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोभिड–१९ को भाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो । खोप लिएपछि भाइरुसविरुद्ध लड्न शरीरले एन्टीबडी बनाउने जनाइएको छ । फाइजरले यो वर्षको अन्त्यसम्ममा उक्त खोप ५ करोड डोज उत्पादन गरिने जनाएको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गरिने जनाइसकेको छ । डा. स्लावीले सीएनएनसँगको कुराकानीमा अनुमति पाएको दुई दिनमै खोप दिन सकिने बताए । डा. स्लावीका अनुसार खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्नेछन् । तर स्वास्थ्यकर्मी तथा पाका उमेर समूहका मानिसहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।

प्रकाशित : मंसिर ९, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला

कान्तिपुर संवाददाता

काठमाडौँ — नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन औपचारिक रूपमा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार उद्घाटन गरेका हुन् ।श्रीसदन खुलेसँगै नारायणहिटी दरबार संग्रहालयका ५२ कक्षमध्ये ३२ वटालाई सर्वसाधारणका निम्ति खुला गरिएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन भएको लकडाउनयता सर्वसाधारणलाई अवलोकन बन्द गरिएको थियो ।

सरकारले गठन गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (२०७६) गठन भएपछि यसरी पहल भएको हो । समितिले बृहत योजनासहित निर्माण कार्य निरन्तर राखेको र तत्काल स्वास्थ्य मापदण्ड कायम गरी सर्वसाधारणलाई अवलोकन खुला गरिएको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।‘दरबार संग्रहालयका ५२ कक्षामध्ये ३२ वटा सर्वसाधारणलाई अवलोकन खुला गरेको छौं,’ उनले भने, ‘लकडाउनयता हामीले राजा वीरेन्द्र निवास श्रीसदनलाई व्यवस्थित गर्न सक्यौं । राजा परिवारले प्रयोग गरेका हवाई जहाज, हेलिकोप्टरसमेत यही परिसरमा व्यवस्थापन गरेका छौं । सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड कायम गराएर अवलोकन गराइने छ ।’

प्रकाशित : मंसिर ८, २०७७ २१:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×