कोरोनाविरुद्ध मोडर्नाले बनाइरहेको खोप ‘९५ प्रतिशत प्रभावकारी’- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाविरुद्ध मोडर्नाले बनाइरहेको खोप ‘९५ प्रतिशत प्रभावकारी’

इकान्तिपुर डेस्क

काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अर्को सफलता प्राप्त भएको दाबी गरिएको छ । कोरोनाविरुद्ध अमेरिकी कम्पनी मोडर्नाले बनाइरहेको खोप प्रभावकारी देखिएको दाबी गरिएको हो ।

सोमबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध आफूले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको हो । केही दिनअघि फाइजर र बायो एनटेकले संयुक्त रुपमा विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो ।

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले कोरोनाविरुद्धको तेस्रो चरणको चिकित्सकीय परीक्षणका उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको बताएको हो । मोडर्नाको परीक्षणमा ३० हजार स्वयंसेवी सहभागी भएको बताइएको छ । तीमध्ये आधालाई २८ दिनका अन्तरमा खोपको २ डोज दिइएको थियो भने आधालाई उति नै समयावधिमा प्लेसिबोको दुई सट दिइएको थियो ।

‘तेस्रो चरणको परीक्षणअन्तर्गतको अन्तरिम विश्लेषणले हाम्रो खोपले गम्भीर प्रकृतिका रोगसहितका कोरोना बिरामीलाई निको बनाउन सक्छ भन्ने देखिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मोर्डनाले पनि फाइजर र बायो एनटेकले प्रयोग गरेकै विधि अपनाई कोरोनाविरुद्धको खोप बनाइरहेको छ । यो खोप मोलिक्युलमा आधारित छ, जसलाई ‘एमआरएनए’ वा ‘मेसेन्जर आरएनए’ का नामले चिनिन्छ ।

उक्त मोलिक्युलले शरीरको कोशिकाभित्र प्रोटिनको विकासमा सहयोग पुर्याउने अनुसन्धानकर्मीहरुले बताएका छन् । यो प्रविधिमा आधारित खोपले कुनै साइड इफेक्टबिना एन्टिबडीको विकास गरी भाइरसलाई परास्त गर्ने दाबी पनि गरिएको छ । त्यसैले ‘एमआरएनए’ प्रविधिमा आधारित कोरोनाविरुद्धका २ खोपको परीक्षण प्रभावकारी देखिनु चिकित्सा क्षेत्रका लागि खुसीको खबर भएको वैज्ञानिकहरु बताउँछन् ।

मोडर्नाले विकास गरिरहेको खोपको सुरक्षित भण्डारण पनि फाइजरको भन्दा फरक रहेको छ । मोडर्नाले आफूले विकास गरिरहेको खोप माइनस ४ डिग्री सेल्सियसको तापक्रममै सुरक्षित रुपमा भण्डार गर्न सकिने दाबी गरेको छ । जुन घरमा राखिने फ्रिजमा पनि सम्भव देखिन्छ । तर फाइजरले बनाइरहेको खोप भने माइनस ७० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने बताइएको छ ।

दुवै कम्पनीले अमेरिकाको नियमनकारी निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए) बाट खोपको सुरक्षा र प्रभावकारिताबारे अझै पनि ‘सेफ्टी डेटा’ लिने काम गरिरहेका छन् ।मोडर्नाले केही हप्तामा एफडीएमा खोपको आपत्कालीन प्रयोगका लागि निवेदन पेस गर्ने बताएको छ ।

मोडर्नाले विकास गरिरहेको कोरोना खोपको प्रभावकारिता सफल हुनु अत्यन्तै उत्साहजनक कुरा भएको अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले प्रतिक्रिया दिएका छन् । ‘यो निकै नै उत्साहजनक परिणाम हो,’ सीएनएनसँगको कुराकानीमा डा. फौचीले भनेका छन्, ‘९४.५ प्रतिशत प्रभावकारी देखिनु अत्यन्तै उत्कृष्ट नतिजा हो ।’

सम्बन्धित समाचार

प्रकाशित : मंसिर १, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो रह्यो कलाकारहरुको भाइटीका

रीना मोक्तान

काठमाडौँ — अभिनेता नाजिर हुसेनले यो वर्ष पोखरामा रहेकी दिदी फ्लोरेन्स कार्कीसँग मात्रै भाइटीका मनाए ।

अघिल्लो वर्ष काठमाडौंमा फ्लोरेन्ससँगै सरु, सोनी, सुनिता राई दिदीको हातबाट उनले टीका थापेका थिए । यसपालि पनि काठमाडौंमा गत साल जसरी नै सबै दिदीसँग तिहार मनाउने योजना थियो उनको । तर, गाउँमा भाइहरुको निधार खाली होला भनेर सरु र अन्य दिदी बारा गइन् । नाजिरलाई पनि 'सँगै जाऔं' भनेकी थिइन् । तर, उता पोखरामा दिदी फ्लोरेन्स एक्लै होलिन् भनेर नाजिर त्यतै बसे ।

फ्लोरेन्सकै हातबाट यसपालि नाजिरको निधार रंगियो । गाउँ गएका दिदीहरुसँग फोनमै कुरा गरे । 'सरु दिदीहरु गाउँ फर्कनु भयो, उता प्रशस्त दाइहरु छन् । अनि पोखराको दिदी काठमाडौं आउन पाउनु भएन । कुस्मामा भर्खर उहाँहरुले बन्जी खोल्नु भएको थियो । त्यताको कामै व्यस्त भएर दिदी काठमाडौं आउन पाउनु भएन । त्यसैले म पोखरा आएँ,' उनले सुनाए, 'सबै दिदीहरुसँग तिहार मनाउन नपाउँदा सम्झँना आउँदो रहेछ ।'

सरुको बुवा लीलाराम राईलाई नाजिरकी आमाजी मीना बेगमले भाइ बनाएपछि नाजिरले सरुको हातबाट टिका लगाउन सुरु गरेका हुन् । धार्मिक हिसाबले नाजिर मुस्लिम । सरुका परिवार किराँत । सानो छँदै बुवा आमाले गाँसेको सम्बन्धबाट नाजिर सरुको भाइ बने । सानैदेखि सरु र उनका अन्य दिदीबहिनीबाट नाजिरले भाइटीका मनाउन थालेका हुन् ।

यसपाली सबै दिदीलाई फोनबाटै सबैलाई शुभकामना दिए । नाजिरले फ्लोरेन्ससँग भाइटीका मनाउन थालेको भने २ वर्ष भयो । यसपालि दिदीलाई उपहारमा लुगा किनिदिएको सुनाउँछन् नाजिर ।

नाजिरले फ्लोरेन्सलाई चिनेको भने पाँच वर्ष भयो । एक भेटपछि फ्लोरेन्सको मिल्ने साथी भए नाजिर । त्यसपछाडि २/३ वर्ष साथीकै रुपमा उनी दुईको भेट हुन थाल्यो । दुवै नजिकिँदै गए । एकदिन फ्लोरेन्स र नाजिरले एकअर्कासँग आफ्ना जिन्दगीका भोगाइहरु बाँडे । त्यसपछि दुईबीच दिदी भाइको सम्बन्ध गाँसिएको उनी सुनाउँछन् । 'त्यो दिन दिदीले मेरो कान्छो भाइ भइदिएको भए म यसरी नै हुर्कन्थ्यो होला भनेर भन्नुभयो । त्यसपछि मैले कुरा भएको भोलीपल्ट मेरो दिदी बन्न त भनें,' उनले भने,'आमाजीले जसरी लीलाराम राईलाई भाइ बनाउनु भएको थियो त्यसरी नै मैले फ्लोरेन्सलाई दिदी बनाएँ ।'

हरिवंश आचार्यको 'कूल तिहार'

हाँस्य कलाकार हरिवंश आचार्यले दुई दिदीको हातबाट टिका थापेर तिहार मनाए । परिवारका सबैजना भर्खरै कोरोना मुक्त भएका हुनाले तडकभडकबिना नै तिहार मनाउने योजना बनाएका थिए । श्रीमती र बुहारी टिका लगाउन माइतीतिर । घरमा छोरा मोहन र उनीमात्रै । दुवैजानले थोरै सेल पकाए । 'आज घर, महसञ्चारको अफिस र सुटिङ गर्ने स्टूडियोमा पूजा गर्‍यौं । त्यसपछि सेल पकायौं । दिदीहरुसँग टिका लगाएँ । मास्क लगाएर टिका लगाउनु पर्‍यो,' उनले भने ।

हरिवंशकी दिदी शारदा अर्याल बानेश्वरमा बस्छिन् । शारदाकै घरमा भाइटिका मनाए उनले । माइली दिदी गीता ढकाललाई उनले उतै लिएर गएका थिए । अस्ट्रेलियामा रहेकी कान्छी दिदीसँग भने भिडियोमार्फत शुभकामना आदनप्रदान गरेको उनी सुनाउँछन् । 'अस्ट्रेलियामा भएको दिदीलाई पनि उपहार किनेर राखेको छु । अब आउनु भएपछि दिन्छु,' उनले भने ।

नेपालमा भएका दुई दिदीलाई भने तिहारमा उपहार र दक्षिणा दिए उनले । दिदीहरुले पनि उनलाई सेलरोटी र लुगा दिएका थिए । सँधैजसो दिदीहरुलाई उपहारमा सारी किनिदिन्थे उनी । यसपालि उपहारमा दिदीहरुलाई स्वेटर दिएको उनले सुनाए । 'तीनजना दिदीको लागि उपहारमा स्वेटर किनिदिएको थिएँ । ठिकै भएछ, आज मौसम पनि जाडो थियो,' उनले भने,'सारी दिएपछि बाहिर निस्कनु हुन्थ्यो । अब कोरोनाको बेलामा बाहिर जानु भएन नि !'

यस वर्ष कोरोनाले गर्दा तिहार फरक भयो । 'अहिले छोरा र म मात्र घरमा । यसो बाहिर निस्किउँ भनेर गाडी लिएर घुम्न निस्केको । पोहोरको भन्दा बत्तीहरु पनि कम छ । मानिसहरुको चहलपहल पनि कम छ । भैलोदेउसीको आवाज पनि सुनिएन । पटका पड्केको आवाज पनि आएन । यसपाली 'कूल तिहार' भयो,' उनले भने ।

अभिनेत्री केकी अधिकारीको तिहार घरभित्रै सीमित भयो । अरु बेला मामा र ठूलो आमा उनको घरमा भाइटीका मनाउन आउँथे । केकी भने भाइसँगै मामा घर गएर तिहार मनाउँथिन् । यो वर्ष उनको तिहार घरमै सीमित भयो । 'पहिलोजस्तो रौनक छैन । आ-आफ्नै घरमै मनाइयो । देउसी भैलो पनि छैन । पहिला जस्तो तिहार छैन,' उनले भनिन् । भाइ बिम्वलाई उनले टिका लगाइदिइन् । भाइटीकाका लागि आवश्यक सामाग्री अनलाइनबाट मगाइन् । यसपटक उपहारमा भाइलाई सर्ट उपहार दिएको केकीले बताइन् । परिवारसँग रमाइलो गर्न उनले तास पनि खेलिन् ।

भाइटीकाको अघिल्लो दिन धनगढीबाट काठमाडौं फर्केका हुन् अभिनेता पुष्प खड्का । त्यसअघि उनी म्यूजिक भिडियोको सुटिङमा व्यस्त थिए । यसपटक बहिनी राधा खड्का जोशीको हातबाट टिका थापेर उनले तिहार मनाए । दिदी कैलालीमै थिइन् । जुठो परेको हुनाले यसपाली दिदीको हातबाट टिका थाप्न पाएनन् । 'बिहिनी पनि घर गएकी थिइन् । टिका चाहिँ नछुटाउँ भनेर हाम्रो कुरा भयो । अनि उ पनि यता आइन्,' उनले सुनाए ।

प्रकाशित : मंसिर १, २०७७ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×