१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कोरोनाबाट पाठ सिकेर अर्को महामारीका लागि विश्‍व तयार हुनुपर्छ : डब्लूएचओ 

'स्वास्थ्य विलासिताको बस्तु होइन'

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।

कोरोनाबाट पाठ सिकेर अर्को महामारीका लागि विश्‍व तयार हुनुपर्छ : डब्लूएचओ 

सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा महानिर्देशक डाक्टर टेड्रोसले अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।

कोरोनाले सबैलाई पाठ सिकाएको उल्लेख गर्दै टेड्रोसले भने, 'कोरोनाले सिकाएको एउटा कुरा के हो भने स्वास्थ्य भनेको विलासिताको बस्तु होइन । यो आवश्यकताको कुरा हो र यो एउटा मानव अधिकार हो ।'

महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको बताए ।

उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए । 'यो नै अन्तिम महामारी हुँदैन, इतिहासले बताउँछ कि महामारी हाम्रो जीवनको वास्तविकता हो । अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्छ,' उनले भने । उनले केही देशले सार्स, मर्स, पोलियो, इबोला र फ्लुलगायतका महामारीबाट सिकेर तुलनात्मक रुपमा राम्रो काम गरेको बताए । केही देशले मेडिसिनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउँदै महानिर्देशक टेड्रोसले धेरै देशले भने आधारभूत जनस्वास्थ्यका क्षेत्रमा पनि हेलचेक्य्राइँ गरेको बताए ।

उनले कोरोना नियन्त्रण तथा रोकथाममा कम्बोडिया, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, रुवान्डा, सेनेगल, स्पेन, भियतनामलगायतका देशले प्रभावकारी कदम चालेको बताए । महामारी नियन्त्रणका विषयमा जर्मनीबाट पनि धेरै कुरा सिक्न सकिने उनले बताए । 'जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०२६ सम्ममा जर्मनीको जनस्वास्थ्यमा ४ अर्ब युरो लगानी गर्ने कुरालाई म स्वागत गर्छु', उनले भने, 'म सबै देशलाई जर्मनीको उदाहरण हेर्दै जनस्वास्थ्य र प्राथमिक स्वास्थ्य उपचारमा लगानी गर्न आग्रह गर्दछु ।'

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना महामारी विश्वका एकाध देशबाहेक सबैतिर फैलिएको छ । मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७३ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट ८ लाख ९२ हजारभन्दा बढीको मृत्यु भएको छ भने कोरोना पुष्टि भएकामध्ये करिब एक करोड ८३ लाख जना संक्रमणमुक्त भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मंगलबार बिहानसम्म ६३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकामा कोरोनाबाट एक लाख ८९ हजारभन्दा बढीको मृत्यु भएको छ भने २३ लाख ३३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

त्यस्तै दोस्रो प्रभावित मुलुक भारतमा अहिलेसम्म ४२ लाख ८० हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ हजारभन्दा बढी रहेको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा करिब ३३ लाख २३ हजारभन्दा बढी निको भएका छन् ।

प्रकाशित : भाद्र २३, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?