३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चीन-दक्षिण एसिया साहित्यिक गतिविधि सुरू

लक्ष्मी लम्साल

बेइजिङ — नवौं चीन-दक्षिण एसिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चअन्तर्गत साहित्यिक गतिविधि सुरू गरिएको छ । विविध सौन्दर्य विषयक चिनियाँ र दक्षिण एसियाली युवाहरूको साहित्यिक वाचनको पहिलो श्रृंखला सोमबारदेखि सुरू भएको हो ।

कोभिड-१९ का कारण अनलाइनबाट गरिएको यस गतिविधिको पहिलो चरणमा चीन, भारत र बंगलादेशका युवाहरूले भाग लिएका छन् भने क्रमशः नेपाल, श्रीलंका, पाकिस्तान लगायत दक्षिण एसियाली युवाहरूले यो गतिविधिमा भाग लिने कार्यक्रम छ ।

सुरूवाती कार्यक्रममा भारतको विश्वभारती विश्वविद्यालय र बंगलादेशको ढाका विश्वविद्यालयका विद्यार्थीहरूले प्रसिद्ध चिनियाँ स्रष्टा लु शुन, पा चिन्, हाइ ची लगायत लेखकका रचनाहरू वाचन गरेका छन् भने चिनियाँ युवाहरूले भारतीय कवि रवीन्द्रनाथ टैगोर, बंगाली कवि लालन फकीरका कविता तथा साहित्यिक सिर्जना वाचन गरेका छन्।

आयोजककातर्फबाट वैदेशिक मित्रताका लागि चिनियाँ जनमैत्री संघका अध्यक्ष लिन सोङ्थ्येनले चीन र दक्षिण एसियाबीच साँस्कृतिक ‘जीन’,प्राचीन इतिहास र विकासको लक्ष्य समान रहेको बताए । २१औं शताब्दी एसियाली शताब्दी भएको बताउँदै उनले प्राचीन रेशमी मार्गको प्रचार प्रसार गर्दै प्राचीन सभ्यता आदानप्रदानमा युवाहरूले योगदान गर्ने अपेक्षा गरे।

चिनियाँ तथा दक्षिण एसियाली युवाहरूले वेभ-भिडियोद्वारा क्लासिक कविता वाचनको तरिकाबाट अन्तरदेशीय मित्रता बढाउनुका साथै जारी कोभिड-१९ महामारी परास्त गर्न आपसी हातेमालो र आत्मविश्वासलाई प्रवर्द्धन गरेका छन् ।

वैदेशिक मित्रताका लागि चिनियाँ जनमैत्री संघ र युन्नान प्रान्त सरकारले आयोजना गरेको नवौं चीन-दक्षिण एशिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्च अन्तर्गत गत मध्य अगस्टदेखि डिसेम्बरसम्मका लागि फोटो प्रदर्शनी चलिरहेको छ ।

नेपालका तर्फबाट वर्ल्ड कल्चरनेटको संयोजनमा आधा दर्जन फोटोग्राफरले नेपालको परम्परा तथा अमूर्त संस्कृति झल्किने फोटोहरू सहित प्रदर्शनीमा भाग लिइरहेका छन् ।

प्रकाशित : भाद्र १५, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?