सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको युरोलोजी विभागका चिकित्सहरुले कोरोनाको शंकास्पद संक्रमितलाई शल्यक्रिया गरेर ज्यान बचाएका छन् ।
शल्यक्रिया हुँदाहुँदै पीसीआर जाँचका लागि संकलित स्वाबको रिपोर्ट पनि कोरोना पोजिटिभ नै आएको छ । शल्यक्रियामा संलग्न युरोलोजी युनिटका विषेशज्ञ चिकित्सक डा. सुधिर सिंहलगायतका स्वास्थ्यकर्मीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
शल्यक्रियापछि ती बिरामीको कोरोना पोजिटिभ रिपोर्ट आएपनि उनमा कोरोनाका कुनै लक्षण देखिएको थिएन ।
मोरङका ७८ वर्षीय ती वृद्ध प्रोटेस्ट ग्रन्थीको समस्याबाट पीडित भएपछि थप उपचारका लागि प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना भएका थिए । उनको प्रारम्भिक जाँच गर्दा मूत्र थैलीमा रगत जमेको थियो ।
कोरोना महामारी फैलिएपछि पछिल्लो समयमा बिरामीको उपचार वा शल्यक्रिया गर्नु परे सबैभन्दा पहिले कोरोना संक्रमण भए नभएको पहिचान गर्न पीसीआर जाँच गरिन्छ । नेगेटिभ रिपोर्ट आए तत्काल थप उपचार गरिन्छ भने पोजिटिभ आए कोभिड अस्पताल पठाउने गरिन्छ ।
ती वृद्धलाई शल्यक्रिया पश्चात कोभिड अस्पतालमा स्थानान्तरण गरिएको थियो । उनलाई होम आइसोलेसनमा बस्ने गरी कोभिड अस्पतालबाट सोमबार बिहान डिस्चार्ज दिइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
