देशव्यापी संक्रमणको संघारमा कोरिया

भाद्र ९, २०७७

एजेन्सी

सोल — दक्षिण कोरिया फेरि देशव्यापी कोरोना भाइरसको प्रकोपको संघारमा पुगेको अधिकारीहरूले बताएका छन् । यसअघि भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कोरियाली मोडल निकै प्रभावकारी मानिएको थियो ।

राजधानी सोलस्थित एक चर्चबाट सुरु भएको भाइरसको संक्रमण पहिलोपटक देशका सबै १७ वटा प्रान्तमा पुगेको जनाइएको छ । त्यसका साथै पछिल्ला केही दिनयता दैनिक संक्रमित हुनेको संख्या १ सयभन्दा बढी छ ।

संक्रमण फैलिएसँगै सामाजिक दूरी कायम गर्ने नियमलाई थप कडा पारिएको छ । राजधानी सोलमा मास्क लगाउन अनिवार्य गरिएको छ । त्यसैगरी विद्यालय र व्यापार व्यवसाय बन्द गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको अधिकारीहरूले जनाएका छन् ।

संक्रामक रोगविज्ञहरूले अस्पतालका बेडहरू निकै चाँडै भरिइरहेका तथा स्वास्थ्य प्रणाली असफल हुन सक्ने चेतावनी दिँदै सरकारलाई सामाजिक दूरी कायम गर्ने प्रावधान थप कडा गर्न आग्रह गरेका छन् । कोरियन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) ले एक घण्टामा १ हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न सक्ने व्यवस्था हुँदाहुँदै पनि नयाँ संक्रमितमध्ये करिब २० प्रतिशतलाई कसरी संक्रमण भयो भन्नेबारे यकिन नभएको स्वीकार गरेको छ । दक्षिण कोरियामा गत फेब्रुअरीमा पहिलोपटक कोरोना भइरसको संक्रमण पुष्टि भएको हो । त्यसको केही साताभित्रै संक्रमण नियन्त्रणमा आएको थियो । तर, अहिले अवस्था निकै फरक भएको अधिकारीहरूको भनाइ छ ।

पछिल्लो समय देखिएका अधिकांश संक्रमणहरू १ करोडभन्दा बढी मानिसको बसोबास भएका सहरसँग नजिकका क्षेत्रमा छन् । सोमबार साँझसम्म दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ६५ पुगेको छ । भाइरसका कारण ३ सय ९ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully