कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बेलायतमा कोरोना परीक्षण अब ९० मिनेटमै

बेलायतका अस्पतालमा आगामी सातादेखि प्रयोगमा ल्याइने, नयाँ विधि ‘द्रुत’ र ‘विश्वसनीय’ रहेको दाबी
नवीन पोखरेल

लन्डन — बेलायतले आगामी सातादेखि कोरोना भाइरस (कोभिड–१९) वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने भएको छ । उक्त विधि अस्पताल तथा केयरहोमहरूमा सुरु गरिने सरकारले जनाएको छ । हाल परीक्षणको एक चौथाइ नतिजा आउन कम्तीमा २४ घण्टासम्म लाग्ने गरेको छ ।

बेलायतमा कोरोना परीक्षण अब ९० मिनेटमै

सरकारले आगामी सातादेखि अस्पताल तथा केयरहोमहरूमा झन्डै ५ लाख र्‍यापिड स्वाब टेस्ट (जसलाई ल्यामपोर भनिन्छ) उपलब्ध हुने जनाएको छ । यस वर्षको अन्त्यसम्म त्यस्ता किट अरू लाखौं बनाइने सरकारको भनाइ छ ।

बेलायत सरकारले त्यस्तो स्वाब र डीएनए परीक्षणबाट कोभिड–१९ र अन्य फ्लु जस्तो मौसमी रोग छुट्याउन सकिने विश्वास व्यक्त गरेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले जाडोयाममा यो विधि निकै लाभदायक हुने बताएका छन् । सरकारी विज्ञप्तिमा उनले बेलायत सबैभन्दा इनोभेटिभ प्रविधि प्रयोग गरी कोभिडसँग जुध्न सक्षम भएको पनि बताए ।

संकलित नमुना प्रयोगशालामा पठाइरहन नपर्ने भएकाले नतिजा छिटो आउनेछ । अहिले अस्पतालहरूमा प्रायः १० मध्ये ९ वटा टेस्टको नतिजा आउन कम्तीमा २४ घण्टा लाग्छ । ड्राइभ थ्रु सेन्टरमा पोस्टल किट्स वा मोबाइल युनिटमार्फत गर्दा झन् समय लाग्ने गरेको छ किनकि त्यसलाई प्रक्रियाका लागि ल्याब पठाउनुपर्ने हुन्छ ।

एनएचएस हस्पिटलहरूमा सेप्टेम्बरबाट यो परीक्षणका लागि डीएनए नजले ५ हजार डीएनए मेसिन उपलब्ध गराउनेछ, जसबाट आगामी महिनामा ५८ लाख परीक्षण गर्न सकिनेछ । नयाँ परीक्षण ‘द्रुत’ र ‘विश्वसनीय’ रहेको कम्पनीको दाबी छ ।

बेलायतमा हाल दैनिक ३ लाख जनासम्ममा कोरोना परीक्षण हुँदै आएको छ तर सरकारले दैनिक ५ लाख पुर्‍याउने लक्ष्य राखेको छ । बेलायतमा कार्यरत नेपाली डाक्टरहरूको संस्था ‘नेप्लिज डक्टर्स एसोसिएसन यूके’ का अध्यक्ष डा. रमेश खोजू नयाँ प्रविधिले छिटो र परीक्षणको दायरा बढ्ने बताउँछन् । उनका भनाइमा यो प्रविधिमा नाकबाट स्वाब वा थुकको नमुना लिई डीएनए परीक्षण गरिन्छ ।

यो परीक्षण विश्वभरका लागि सस्तो र सहज हुने आशा व्यक्त गर्दै डा. खोजूले संक्रमण फैलिरहेको नेपालमा यस्तो विधि प्रभावकारी हुने बताए । यसको खर्च र प्रभावकारिताबारे भने अहिले नै भन्न नसकिने उनको भनाइ छ । ‘तर कति खर्चिलो छ त्यो पनि महत्त्वपूर्ण कुरा हुन्छ,’ उनले भने । आगामी साताबाट अक्सफोर्ड नानोपोरले ९० मिनेटमै नतिजा आउने ४ लाख ५० हजार ल्यामपोर स्वाब टेस्ट उपलब्ध गराउनेछ ।

प्रकाशित : श्रावण २०, २०७७ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?