मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा

श्रावण १९, २०७७

राजविराज — सप्तरीमा मंगलबार बिहानदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यसअघि स्थानीय प्रशासनले गत साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गतेसम्म सम्मका लागि जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताएका छन् । 

जिल्लामा सोमबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३१ पुगेको छ । एक हप्तादेखि सप्तरीमा निरन्तर रुपमा संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ ।

निषेधाज्ञा अवधीमा राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु औषधि पसल,खाद्यान्‍न फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्न तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानी यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण कार्य, पेट्रोलियम पदार्थको ढुवानी तथा भण्डारण र वितरण, फोहोर मैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधनसहितका अत्यावश्यक सेवा बाहेक अन्य सेवा र स्थलहरुमा अनावश्यक आवतजावत र हिँडडुल गर्न रोक लगाएको हो ।

कोरोना भाइरस

Link copied successfully