काठमाडौँ — कोरोना भाइरसबाट संक्रमित भएकामध्ये बुधबार दिउँसोसम्म १२ लाखभन्दा बढी निको भएका छन् । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार बुधबार दिउँसोसम्म कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये १२ लाख ४ हजार ३ सय ५ जना निको भएका छन् ।
विश्वविद्यालयको तथ्यांकअनुसार बुधबार दिउँसोसम्म संक्रमित हुनेको संख्या ३६ लाख ७७ हजार १ सय ६५ पुगेको छ । त्यस्तै २ लाख ५७ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये १२ लाख निको भइसकेकाले उपचाररतमध्ये पनि धेरै निको हुने चिकित्सकहरुले बताएका छन् । मेडिकल जर्नल द लान्सेटका अनुसार कोरोना भाइरसको मृत्युदर एन्फ्लुएन्जाको भन्दा ०.१ प्रतिशत तथा सार्सको भन्दा ९.५ प्रतिशत कम रहेको छ ।
अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये सबैभन्दा बढी अमेरिकामा एक लाख ८९ हजार ७ सय ९१ जना निको भएका छन् । अमेरिकामा संक्रमितको संख्या १२ लाख ४ हजार ४ सय ७५ पुगेको छ । त्यस्तै बुधबार दिउँसोसम्म अमेरिकामा ७१ हजार ७८ जनाको मृत्यु भएको छ ।
त्यस्तै जर्मनीमा संक्रमण पुष्टि भएका एक लाख ६७ हजार ७ मध्ये एक लाख ३७ हजार ४ सय जना निको भएका छन् । जर्मनीमा बुधबार दिउँसोसम्म ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमित दुई लाख १९ हजार ३ सय ३७ जनामध्ये करिब एक लाख २३ हजार निको भएका छन् । स्पेनमा बुधबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार ६ सय १३ पुगेको छ ।
इटालीमा दुई लाख १३ हजार १३ संक्रमितमध्ये ८५ हजार २ सय ३१ जना निको भएका छन् । त्यस्तै इटालीमा २९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा संक्रमण नियन्त्रणउन्मुख रहेको छ । चीनमा संक्रमितमध्ये धेरै जना निको भएका छन् । गत २४ घण्टामा चीनमा २ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । चीनमा कोरोना संक्रमण पुष्टि भएका ८३ हजार ९ सय ६८ जनामध्ये ७८ हजार ८ सय ७० जना निको भएका छन् । चीनमा ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । चीनमा अहिले करिब ५ सय कोरोना संक्रमित मात्रै उपचाररत रहेका छन् । चीनमा केही दिनयता कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
दक्षिण कोरियामा पनि कोरोना संक्रमण नियन्त्रणउन्मुख रहेको छ । दक्षिण कोरियामा बुधबार दिउँसोसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार ८ सय ६ पुगेको छ भने २ सय ५५ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा संक्रमण पुष्टि भएकामध्ये ९ हजार ३ सय ३३ जना निको भएका छन् ।
त्यसैगरी न्युजिल्यान्डले पनि कोरोना भाइरस नियन्त्रण गरेको दाबी गरेको छ । न्युजिल्यान्डले समुदायमा हुने स्थानीय संक्रमण रोकेको जनाउँदै कोरोना भाइरसलाई निर्मूल पारेको दाबी गरेको हो । न्युजिल्यान्डमा अहिलेसम्म एक हजार ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये २१ जनाको मृत्यु भएको छ भने एक हजार ३ सय १६ जना निको भएका छन् ।
