नेपालगन्जमा स्वाब संकलनमा तीव्रता

७ वर्षीया बालिकाकी आमालाई पनि कोरोना संक्रमण, एउटै क्याबिनमा बाबुआमा र छोरी

वैशाख २४, २०७७

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जको पहिलो संक्रमण पुष्टि भएका व्यक्ति बस्ने क्षेत्रमै थप २२ जना कोरोना संक्रमण पुष्टि भएपछि बुधबार पुन स्वाब संकलन् थालिएको छ  ।

विश्व स्वास्थ्य संगठनसहितको स्वास्थ्यकर्मीले नेपालगन्जका भैरवटोल, रानीतलाउ सब्जीमण्डी, नाउ टोल, पन्डन मोहला र टागा स्टेशनबाट  मंगलबारसम्म ५६ जनाको स्वाव संकलन गरेको हो । ७१जनाको नाम संकलन गरिएकोमा आज पुन: स्वाब संकलन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले बताए । ‘हिजो ७१ जनको नाम संकलन गरेका थियौं,’ उनले भने, ‘आज पनि संख्या थप्दै जान्छौं ।’

नेपालगन्जको एउटै बस्तीमा २३ जनामा कोरोना देखिएपछि विश्व स्वास्थ्य संगठनको टोली नेपालगन्ज आएको छ  । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विभिन्न पाँच स्थानबाट थ्रोट स्वाब संकलन गरिएको छ । २३ जना कोरोना संक्रमितको सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।

नेपालगन्जमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दै जाने क्रममा एउटै टोलका २३ जनालाई संक्रमण पुष्टि भएको थियो  । पछिल्लो पटक गरिएको ४५ जनाको परीक्षणमा मंगलबार ७ जनामा संक्रमण पुष्टि भएको हो । सक्रमित २३ जनालाई खजुरा आइसोलेसन अस्पतालमा भर्ना गरिएको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताए  । 

७ वर्षीया संक्रमितका बाबु भन्छन्- 'छोरी रोइरहन्छे, म सुन्‍नै सक्दिनँ'

नयाँ संक्रमण पुष्टि हुनेमा एकै परिवारका सदस्यसमेत छन् । त्यसअघि ७ वर्षीया बालिकामा संक्रमण पुष्टि भएकोमा उनकी आमाको नतिजा पनि पोजिटिभ आएको डाक्टर प्रकाश थापाले बताए । आमा पनि पोजिटिभ भएपछि बाबु, आमा र छोरीलाई एउटै क्याबिनमा राखिएको छ । ‘परिवारका तीनै जना सदस्यलाई अस्पतालले एउटै क्याबिनमा बन्दोबस्त मिलाइएको रहेछ’, मुस्लिम आयोगद्वारा गठित जिल्ला स्थित अनुगमन समितिका सदस्य अनुगमन समितिका सदस्य शाहिदा शाह वाहिदीले सुनाइन्  । ‘अस्पतालमा रहेका सबै बिरामीहरुको अवस्थामा सामान्य छ,’उनले भनिन् ,‘अनुगमनका क्रममा कुनै किसिमको गुनासो आएन् ।’ 

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा राखिएका ११ जनालाई मंगलबार घर फर्काइएको छ । ‘स्वाब परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनमा रहेका घर फर्काएका छौं,’ नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भनिन् ,‘चिकित्सकहरुको सुझावका आधारमा सबै जना घरमै क्वारेन्टाइनमा बस्नुहुनेछ ।’

मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले यसअघि सरोकारवालाहरुसँग भेटघाट गरी नेगेटिभ आएकाहरुले रोजा बस्ने हुँदा घरमै सेल्फ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको थियो । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully