महामारी नियन्त्रणमा उदाहरणीय बन्दै छ जर्मनी
गोटिंगन, जर्मनी — जर्मनीकी चान्सलर एंगेला मार्केलले गत मार्च २२ को साँझ राष्ट्रका नाममा सम्वोधन गर्दै कोरोनाको महामारीबाट बच्नैपर्ने भएकाले देशमा आवतजावत र स्वतन्त्र जीवनशैलीलाई अझ कडा बनाउन सहयोगका लागि आफ्ना नागरिकलाई आह्वान गरिन् ।
मार्केलको प्रत्यक्ष टेलिभिजन सम्वोधन सकिन नपाउँदै उनलाई अघिल्लो दिन सुई लगाइदिने चिकित्सकमा कोरोना पोजेटिभ भएको समाचार सार्वजनिक भयो । त्यसलगत्तै उनी १४ दिन होम क्वारेन्टिनमा बसिन् र तीनपटकको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र नियमित काममा फर्किइन् ।
जर्मन नेतृ मार्केल अहिले संसारभर चर्चाको विषय बनेकी छन्, यसको एकमात्र कारण हो– विश्वभर खडेरीमा सल्किएको डढेलोजस्तै गरी फैलिएको कोरोना भाइरसलाई नियन्त्रणमा लिन सक्नु । संसारभर अहिले कोरोना भाइरसले मान्छेलाई हायलकायल बनाएको छ । कुन मान्छे कुन दिन कुन अवस्थामा पुग्छ कसैलाई थाहा छैन । तर, यी जर्मन चान्सलर मार्केलले संसारलाई चकित पार्दै आफ्नो देशमा कोरोना नियन्त्रण गर्न सफलता पाइरहेकी छन् । यसले उनको राजनीतिक छवि अन्तर्राष्ट्रिय स्तरमा पनि चुलिँदै गएको छ । अहिले संसारभरि सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा चान्सलर मार्केलको प्रशंसा भइरहेको छ । उनी अहिले संसारकै लोकप्रिय नेताहरूमध्येकी एकका रूपमा चित्रित हुँदै गएकी छन् ।
बेलायती अखबार ‘द गार्जियन’ ले १६ अप्रिलको आफ्नो अनलाइन संस्करणमा मार्केलको प्रशंसा गर्दै लेखेको छ, ‘कोरोना भाइरसको संकटका बीचमा उनले चालेका कदमलाई लिएर उनका आलोचक पनि अहिले प्रशंसा गर्न थालेका छन् ।’ मार्केलले कोरोनाविरुद्ध चालेका कदममा वैज्ञानिक आधार रहेको उसको भनाइ छ ।
‘द न्युजिल्यान्ड हेराल्ड’ ले मार्केलबारे एउटा लेख प्रकाशित गर्दै लेखेको छ, ‘सत्ताबाट टाढा हुँदै छिन् तर संकटको यो समयमा पनि चम्किरहेकी छन् जर्मनीकी नेता ।’ अर्जेन्टिनाको धेरै बिक्री हुने अखबार ‘क्लारिन’ ले पनि मार्केलको प्रशंसा गर्दै लेख छापेको छ । लेखक रिकार्डो रोआले अखबारमा लेखेका छन्, ‘कोरोना संकटको यो घडीमा मार्केल संसारकै एक उत्कृष्ट नेतामध्येकी एक देखिएकी छन्, जसले आफूलाई बचाउनुपर्ने बेलामा कोरोना महामारीविरुद्घ नेतृत्व गर्न सक्रिय भइरहेकी छन् ।’ उनी शालीन भएर वैज्ञानिक तर्कसहितका संवाद गर्छिन् र कुतर्कलाई गतिलो जवाफ दिन्छिन् ।
इजरायलको सरकारी टेलिभिजन च्यानल कानका संवाददाता अमिचाई स्टाइनले जर्मन टेलिभिजन डैच वेलेसँग भनेका छन्, ‘इजरायलका सञ्चारमाध्यम मार्केललाई संसारकै शक्तिशाली नेताहरूमध्ये एक मान्छन् । उनी यस्ती एक नेता हुन्, जो जनताका लागि काम गरिरहेकी छन् ।’
यसअघि कतिपय उनका आलोचकले चान्सलर मार्केलको राजनीतिक यात्रा अब धेरै अगाडि नबढ्ने दाबी गरिरहेका बेला कोरोना संकट व्यवस्थापनमा उनले देखाएको प्रशासनिक कुशलता थप लोकप्रियताको कसी बनेको हो । मार्केलले जर्मनीको सत्तासीन क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) पार्टीको नेतृत्व समालेको गत १० अप्रिलमा दुई दशक पूरा भएको छ । तर, यसबीच सन् २०१८ मा उनले पार्टी प्रमुखको पद छोडेकी थिइन् भने आनग्रेट क्राप करेनबावरलाई पार्टी प्रमुख चयन गरिएको थियो । त्यसबेला करेनबावरले नै मार्केलपछि चान्सलरको पद पनि समाल्ने अनुमान गरिएको थियो । तर, केही नराम्रा विवादमा मुछिएपछि करेनबावरले चाँडै नै पार्टी नेतृत्वबाट बाहिरिनुपरेको थियो । त्यसपछि अहिलेसम्म सीडीयूमा कुनै नयाँ प्रमुख चुनिएको छैन । यसको मतलब मार्केलले नै अनौपचारिक रूपमा पार्टीको पनि नेतृत्व गरिरहेकी छन् । अहिले जर्मनीमा सीडीयू/सीएसयू र एसपीडी पार्टीको गठबन्धन सरकार छ ।
चान्सलरका रूपमा मार्केलको कार्यकाल यही वर्षसम्मका लागि मात्र हो । उनले यही कार्यकाल आफ्नो अन्तिम पनि भएको बताइसकेकी छन् । तर, कोरोना महामारीबाट देशलाई बचाउन गरेको प्रयासलाई लिएर अन्य दलहरूसमेतले मार्केलको प्रशंसा गरिरहेका छन् । जर्मनीको वामपन्थी पार्टी द लिंकेका नेता डिटमार बार्चले सरकारको प्रशंसा गर्दै संसद्मा भने, ‘संकटका बेला देशमा देखिएको एकताले नै यो सफलता मिलिरहेको छ ।’
हालै गरिएको एक सर्वेक्षणअनुसार, देशका ८० प्रतिशत नागरिक कोरोनाको संकटलाई समाधान गर्न चान्सलर मार्केलले चालिरहेको कदमबाट आफूहरू सन्तुष्ट भएको बताएका छन् । यसको मतलब देशका अधिकांश नागरिक कोरोनाविरुद्घ मार्केलले चालेका हरेक कदममा सहमत छन् ।
मार्केलले कोरोना संकटका बेला राजनीतिक नेतृत्वले गर्नुपर्ने साँच्चिकै उदाहरणीय काम गरिरहेकी छन्, जसका कारण जर्मनीमा महामारीकै रूपमा द्रुत गतिमा फैलिएको संक्रमण अहिले क्रमशः नियन्त्रण हुँदै गएको छ । कोरोना महामारी सुरु भएपछि मार्केलले जर्मनीको संघीय संसद्मा पहिलोपटक सम्बोधन गर्दै देशवासीलाई चेतावनी दिएकी थिइन्, ‘यो महामारी लामो समयसम्म रहिरहनेछ । यसलाई हल्का रूपमा कसैले पनि लिनु हुँदैन । हामी कोरोना महामारीको अन्त्यमा पुगेकै छैनौं, अहिले त सुरुआतमा मात्रै छौं ।’ उनले लकडाउन शब्द उच्चारण नगरी यसको कडा पालना गर्न र सामाजिक दूरी कायम गर्न आग्रह गर्दै नागरिकलाई चेतावनी दिएकी छन्, ‘यो महामारी लोकतन्त्रका लागि कलंक हो, यसले हाम्रा लोकतान्त्रिक र नागरिक अधिकारलाई सीमित गरिदिएको छ ।’
चान्सलर मार्केलले लामो समयदेखि नागरिकमा कायम रहेको एक्लोपनले निम्त्याएको समस्या आफूले राम्ररी बुझेको तर कोरोनालाई नियन्त्रण गर्न यसको अरू विकल्प पनि नभएको बताएकी छन् । खासगरी वृद्घवृद्घा र अशक्त व्यक्तिमा एक्लोपनले गम्भीर समस्या खडा गरेको अनुभव गरेकी मार्केलले लोकतन्त्र र नागरिक अधिकार सीमित पार्न आफूले चाल्नुपरेको कदम आफ्नो जीवनकै कठिन निर्णयमध्येको एक भएको स्वीकार गरेकी छन् ।
चीनपछि इटालीमा कोरोना भाइरसले महामारीको रूप लिइसक्दा पनि अन्य युरोपेली देशले यसलाई सामान्य रूपमा लिइरहेका थिए । आवतजावतमा कुनै बन्देज थिएन । हरेक वर्ष जाडोको छुट्टी मनाउन धेरै जर्मन नागरिक इटाली जाने गर्छन् । यस वर्ष पनि त्यसैगरी गएका थिए । उनीहरू छुट्टी मनाएर बिनाकुनै सावधानी आ–आफ्नो घर फर्किए । त्यसपछि एक–दुई गर्दै जर्मनीमा भकाभक कोरोनाका संक्रमित भेटिन थाले र यसले दुई साताको अवधिमै महामारीको रूप लिइसकेको थियो ।
जर्मनीमा कोरोना महामारीविरुद्घ सफलता पाउनुका तीन महत्त्वपूर्ण कारण छन्— एक सरकारले चालेको कदम, दुई सरकारको आग्रह नागरिकले पालना गर्नु । र, अर्को यहाँको गुणस्तरीय स्वास्थ्य उपचार प्रणाली । यसैको प्रभावस्वरूप अहिले यहाँको लकडाउन क्रमशः खुकुलो हुँदै गएको छ । कोरोनाको संक्रमण दर पनि कम हुँदै गएको छ । अहिले जर्मनीका विद्यालयहरू सर्तसहित आंशिक रूपमा खुलेका छन् । अहिलेका लागि जुन–जुन विद्यार्थीले माथिल्लो कक्षामा जानका लागि परीक्षा दिनुपर्ने हुन्छ उनीहरूका लागि विद्यालय जान अनिवार्य गरिएको छ ।
त्यसैगरी आठ सय वर्गमिटर क्षेत्रफलसम्मका पसलहरू पनि खुलेका छन् । केही राज्यमा भने ठूला पसललाई पनि आठ सय वर्गमिटर क्षेत्रलाई बारेर यही क्षेत्रफलमा मात्र सामान बेच्ने गरी अनुमति दिइएको छ । त्यस्तै सर्तसहित यही मे ४ बाट बालबालिका खेल्ने खेल मैदान, चिडियाखाना, म्युजियम, चर्च, सैलुन र ब्युटिपार्लरहरू पनि खुलेका छन् । तर, सामाजिक दूरी र निर्धारित सर्तको भने कडा रूपमा पालना गर्नुपर्नेछ ।
विद्यालय जाने विद्यार्थी, सुपरमार्केट र अन्य पसलमा सामान किन्न जाने ग्राहक तथा बस अनि रेलमा यात्रा गर्ने यात्रीले अनिवार्य रूपमा मास्क लगाउनैपर्नेछ । १६ प्रदेश रहेको जर्मनीमा यसरी खुला गरिँदा अपनाउनुपर्ने कतिपय सर्त र नियम भने स्थानीय सरकारले नै निर्धारण गरेका छन् ।
जर्मनीको स्वास्थ्य अनुसन्धान तथा महामारी नियन्त्रण संस्थान रोवर्ट कोख इन्टिच्युटका अनुसार जर्मनीमा कोरोना संक्रमितको संख्या एक लाख ६३ हजार एक सय ७५ छ भने यसबाट मृत्यु हुनेको संख्या ६ हजार ६ सय ९२ मात्र छ । कोरोना संक्रमितको संख्या धेरै भए पनि जर्मनीमा मृत्युदर एकदमै कम छ । यहाँ कोराना संक्रमित निको हुने दर पनि अन्यत्रभन्दा उच्च छ । अहिलेसम्म जर्मनीमा एक लाख ३२ हजार सात सयभन्दा बढी निको भइसकेका छन् ।
अहिलेसम्म जर्मनीले २५ लाख ४७ हजारजनाभन्दा बढीमा कोरोनाको परीक्षण गरेको छ । अब भने एक सातामा नौ लाखजनासम्ममा कोरोना परीक्षण गर्नेगरी क्षमता वृद्घि गरिएको छ । गत अप्रिल २० देखि २७ का बीचमा यहाँ चार लाख ६७ हजार एक सय ३७ जनामा कोरोना परीक्षण गरिएको थियो । इन्टिच्युटका अनुसार अप्रिल १३ देखि १९ का बीचमा तीन लाख २३ हजार चार सय ४९ जनामा परीक्षण गरिएको थियो ।
जर्मनीमा कोरोनाले महामारीको रुप लिइसक्दा फाट्टफुट्ट बिरामी देखिएको छिमेकी देश फ्रान्समा अहिले संक्रमणसँगै मृत्युदर पनि उच्च छ । एक लाख ६९ हजार चार सयभन्दा बढीमा संक्रमण देखिएको फ्रान्समा मृत्यु हुनेको संख्या २५ हजार दुई सय नाघेको छ । जर्मनी र फ्रान्समा संक्रमितको संख्यामा ठूलो अन्तर नभए पनि मृत्युदरमा फराकिलो अन्तर छ । दुई लाख ४८ हजारभन्दा बढी संक्रमित भएको अर्को युरोपेली देश स्पेनमा मृत्यु हुनेको संख्या २५ हजार चार सय नाघेको छ । इटालीमा दुई लाख ११ हजार नौ सयभन्दा बढीलाई संक्रमण भएको छ भने २९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यसै बेलायतमा संक्रमितको संख्या एक लाख ९० हजार पाँच सय नाघेको छ भने २८ हजार सात सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
जर्मनीले अन्य युरोपेली देश फ्रान्स, स्पेन, इटालीलगायतबाट पनि कोरोनाका धेरै बिरामी ल्याएर उपचार गराइदिएको छ ।
