रुसमा एकैदिन १० हजारभन्दा बढीमा कोरोना संक्रमण

वैशाख २१, २०७७

एजेन्सी

मस्को — रुसमा पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै रुसमा थप १० हजार ६ सय ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

रुसमा कोरोना संक्रमण देखिएपछि एकैदिन सबैभन्दा बढी व्यक्ति संक्रमित भएका हुन् । योसँगै रुसमा कोरोना संक्रमितको संख्या एक लाख ३४ हजार ६ सय ८७ पुगेको छ । रुसमा कोरोना भाइरसबाट आइतबार साँझ(स्थानीय समयअुनसार) सम्म एक हजार २ सय ८० जनाको मृत्यु भएको छ ।

रुसमा पछिल्लो चार दिनयता लगातार संक्रमितको संख्या बढिरहेको छ । प्रत्येक दिन ५ देखि ६ हजार संक्रमित थपिइरहेका बेला आइतबार १० हजारभन्दा बढी संक्रमित भएका हुन् । कोरोना संक्रमणबाट मस्को सहर सबैभन्दा बढी प्रभावित भएको छ । संक्रमण पुष्टि भएकामध्ये आधाभन्दा बढी मस्कोकै छन् ।गत अप्रिल ३० मा रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि प्रधानमन्त्री मिशुस्टिनले अस्थायी रुपमा पदीय जिम्मेवारी त्यागेका छन्।  

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख ४० हजार ९ सय ४ पुगेको छ । त्यस्तै आइतबार दिउँसोसम्म २ लाख ४४ हजार २१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब ११ लाख निको भएका छन् । अमेरिकामा मात्रै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ हजारभन्दा बढी रहेको छ भने करिब ११ लाख ३३ हजार संक्रमित भएका छन् । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully