कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोप : जापानमा संकटकाल घोषणा

एजेन्सी

टोकियो — कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि जापानमा संकटकाल घोषणा गरिएको छ । मंगलबार जापानी प्रधानमन्त्री सिन्जो आबेले कोरोना रोकथामका लागि भन्दै संकटकालको घोषणा गरेका हुन् । 

कोरोना प्रकोप : जापानमा संकटकाल घोषणा

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि जापानले ढिलागरी संकटकाल घोषणा गरेको हो । विज्ञहरुले जापानले कोरोना नियन्त्रणका लागि चालेको कदमको प्रशंसा गरे पनि कडा कदम नचालेको भन्दै आलोचना गरेका थिए । प्रधानमन्त्री आबेले संकटकाल टोकियो, ओसाकासहित ७ प्रान्त(प्रिफेक्चर) मा लागू हुने र आवश्यकता अनुसार बढाइँदै लैजाने बताए । जापानमा ४७ वटा प्रिफेक्चर रहेका छन् ।

जापानमा संकटकाल घोषणा गरिए पनि कोरोना भाइरसबाट अतिप्रभावित मुलुकहरु इटाली, चीन र फ्रान्समा जस्तो कडा खालको लकडाउन भने नगरिने जापानी समाचार एजेन्सी क्योदोले जनाएको छ । राष्ट्रिय संकटकाल बुधबारबाट एक महिनाका लागि लगाइएको क्योदोले उल्लेख गरेको छ ।


साथै जापानले कोरोना रोकथाम तथा नियन्त्रणका लागि करिब एक ट्रिलियन अमेरिकी डलरबराबरको प्याकेज कार्यक्रम पनि ल्याउने तयारीमा रहेको छ ।

मंगलबार दिउँसोसम्म जापानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने संक्रमितको संख्या ३ हजार ९ सय ६ रहेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?