कोरोना प्रकोप : एकैदिन स्पेनमा ९१३, अमेरिकामा ५ सय बढीको मृत्यु

एजेन्सी

म्याड्रिड — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट स्पेनमा सोमबार मात्रै ९ सय १३ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । यसअघि हिजो स्पेनमा ८ सय ३८ जनाको मृत्यु भएको थियो ।

मंगलबार बिहानसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा थप ७ हजार ७ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ भने करिब १४ हजार संक्रमित निको भएका छन् ।


त्यस्तै इटालीमा पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । सोमबार इटालीमा ८१२ जनाको मृत्यु भएको छ । इटालीमा आइतबार भने ७५६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा इटालीमा थप ४ हजार ५० जनामा संक्रमण देखिएको छ । अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या भने करिब एक हजारले घटेको छ । मंगलबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या एक लाख एक हजार ७ सय ३९ पुग्दा निको हुनेको संख्या करिब १४ हजार रहेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ५७३ जनाको मृत्यु भएको छ भने थप १९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार एक सय ५६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ६३ हजार रहेको छ । अमेकिारमा करिब ५ हजार ५ सय जना निको भएका छन् ।


त्यस्तै सोमबार फ्रान्समा पनि गत जनवरी २३ मा पहिलो संक्रमण देखिएयताकै सबैभन्दा बढी ४१८ जनाको मृत्यु भएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ७६ जनामा संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ । फ्रान्समा संक्रमितको संख्या ४४ हजार ५ सय ५० रहेको छ भने करिब ८ हजार निको भएको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।


त्यस्तै सोमबार कोरोना संक्रमणबाट इरानमा ११७, जर्मनीमा १०४, बेलायतमा १८०, बेल्जियममा ८२ र स्विजरल्यान्डमा ५९ जनाको मृत्यु भएको छ ।


पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ३ हजार ७ सय १५ जनाको मृत्यु भएको छ भने थप करिब ६० हजारमा संक्रमण देखिएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट मंगलबार बिहानसम्म ३७ हजार ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै निको हुनेको संख्या करिब एक लाख ६५ हजार रहेको छ ।

प्रकाशित : चैत्र १८, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धादिङमा मजदुरलाई घर जान मर्का

हरिहरसिंह राठौर

धादिङ — विभिन्‍न निर्माणस्थल र उद्योगमा काम गर्न धादिङ आएका मजदुर कोभिड- १९ फैलिने त्रासले सरकारले लकडाउन गरेपछि उद्दारको पर्खाइमा छन् । तीमध्ये केही पैदलै गन्तव्यतर्फ गएका छन् भने सयौं मजदुर अझै उद्दारको पर्खाइमा रहेका छन् ।

बाहिरी जिल्लाबाट आएर भूकम्प पुनर्निर्माण, सिमेन्ट उद्योगहरू, जिल्लाका अन्य विकास निर्माण खटिएका, ४२ वटा इँटा भट्टामा कार्यरत हजारौं मजदुरलाई घर फर्काउन जिल्ला प्रशासन कार्यालयमा सवारी पास लिनेहरूको लर्को लागेको छ ।

सोमबारसम्म मजदुरहरूको नाम, ठेगाना र सवारी साधनको विवरण मागेर करिब ९ सय मजदुरहरूका लागि सवारी पास दिइएको छ भने जिल्लामा अझै २ हजार ५ सय मजदुर उद्दारको पर्खाइमा छन् ।

‘छिमेकी जिल्ला लगायत नवलपासी, चितवनका मजदुर पैदल घर फर्के, करिब ३ सय पश्चिम नेपालका मजदुरलाई सवारी साधनमा पठाउने व्यवस्था गर्दैछौं,’ मलेखु स्थित चिनियाँ लगानीमा निर्माणाधीन सिमेन्ट उद्योगका स्थानीय व्यवस्थापक तुलसी थापाले भने । उक्त निर्माणाधीन सिमेन्ट उद्योगमा कार्यरत ४ सय चिनियाँ मजदुर नयाँ वर्ष मनाउन गएदेखि नफर्केको र भएका ३ सय मजदुरले पनि आफ्नो देश फर्कन दबाब दिइरहेको उनले जानकारी दिए ।

‘काम नभएर अलपत्र परेका कामदारलाई सम्बन्धित आयोजना वा इँटाभट्टाले नै उनीहरूको घरसम्म पुर्‍याउने गरी पास दिइएको हो,’ धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाले भने । जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीसहित राजमार्गमा लकडाउनको अवस्थाबारे अनुगमनमा निस्केका प्रजिअ तामाले मलेखु खोलामा निर्माणाधीन ह्वाङ्सी सिमेन्ट उद्योगबाट घर जान भागेर पृथ्वीराजमार्गस्थित मलेखु बजार पुगेका मजदुरका लागी ठेकेदार कम्पनीले बसभाडा ब्यहोर्ने गरी सवारी पास दिएका थिए ।

जिल्लामा विद्युत् आयोजना, अप्टिकल फाइबर, त्रिशूली नदीका पक्की पुल, सडक निर्माण लगायतमा काम गर्ने करिब १० हजार मजदुर बाहिरी जिल्ला र भारतबाट पनि आएका प्रशासनले जनाएको छ ।

भारतीय मजदुर इट्टाभट्टामा ठूलो संख्यामा कार्यरत छन् । लकडाउनको अवधि थपिएपछि उनीहरूको जीवनयापन कष्टकर नहोस् भनेर घरसम्म पठाउन लागिएको सवारी पास लिन स्थानीय प्रशाासनमा आएका इँटा व्यवसायी अनिल महर्जनले बताए ।

प्रकाशित : चैत्र १८, २०७६ ०७:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×