कोरोना प्रकोप : एकैदिन स्पेनमा ८३८ को मृत्यु, अमेरिकामा १८ हजार बढी संक्रमित

एजेन्सी

म्याड्रिड — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट स्पेनमा आइतबार मात्रै ८ सय ३८ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो ।

कोरोना प्रकोप : एकैदिन स्पेनमा ८३८ को मृत्यु, अमेरिकामा १८ हजार बढी संक्रमित

सोमबार बिहानसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा थप ६ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । स्पेनमा अहिलेसम्म करिब १४ हजार संक्रमित निको भएका छन् ।


त्यस्तै शनिबारको तुलनामा केही कम भए पनि इटालीमा पनि आइतबार ७५६ जनाको मृत्यु भएको छ । शनिबार भने इटालीमा ९१९ जनाको मृत्यु भएको थियो । इटालीमा आइतबार थप ५ हजार २ सय १७ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या ९७ हजार ६ सय ८९ पुग्दा निको हुनेको संख्या करिब १३ हजार रहेको छ । इटालीको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र लोम्बार्डीमा आइतबार भने मृतक र संक्रमितको संख्या केही घटेको अधिकारीहरुले जनाएका छन् ।


त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा २६४ जनाको मृत्यु भएको छ भने थप १८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुुनेको संख्या २ हजार ४ सय ८४ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ४२ हजार रहेको छ । अमेकिारमा करिब ४ हजार ५ सय जना निको भएका छन् ।


त्यस्तै आइतबार कोरोना संक्रमणबाट फ्रान्समा २९२, इरानमा १२३, जर्मनीमा १०८, बेलायतमा २०९, बेल्जियममा ७८ र स्विजरल्यान्डमा ३६ जनाको मृत्यु भएको छ ।


पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ३ हजार १ सय ४ जनाको मृत्यु भएको छ भने थप करिब ३४ हजारमा संक्रमण देखिएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहानसम्म करिब ३४ हजारको मृत्यु भइसकेको छ भने ७ लाख २१ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै निको हुनेको संख्या करिब एक लाख ५१ हजार रहेको छ ।

प्रकाशित : चैत्र १७, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?