कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाको प्रकोपमा किन फस्दैछ अमेरिका ?

बुद्धिसागर मरासिनी

काठमाडौँ — ‘डेमोक्र्याट्सहरूले कोरोनामाथि राजनीति गरिरहेका छन्’, ‘अमेरिका लकडाउनका लागि बनेको होइन । यो त्यसका लागि बनेको देश होइन ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हालैका अभिव्यक्ति हुन् यी ।

कोरोनाको प्रकोपमा किन फस्दैछ अमेरिका ?

विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को जोमिखप्रति उनी कति गम्भीर छन भन्‍ने उनका भनाइबाट सजिलै बुझ्‍न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको संज्ञा दिएको कोभिड–१९ बाट अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । हालसम्म एक हजार ५ सय भन्दा बढी अमेरिकी नागरिकले यसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

भाइरसको प्रभावका कारण अमेरिकाका प्रमुख एवं ठूला सहरहरू ‘लकडाउन’ अवस्थामा छन् । होटल, रेष्टुँरा, रात्रि क्लबलगायत व्यवसाय चौपट छन् । भाइरसले प्राकृतिक प्रकोपले भन्दा अर्थतन्त्रलाई नराम्ररी शिथिल पार्दै लगेको विज्ञहरूले बताएका छन् ।

संक्रमण फैलिँदै गएपछि अमेरिकामा बेरोजगारी दर बढेको छ । संघीय श्रम विभागको पछिल्लो तथ्यांकअनुसार गत साता मात्रै ३२ लाख अमेरिकीले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन् । अमेरिकी इतिहासमै बेरोजागारीको किर्तीमानी संख्यामा तत्काल ब्रेक लाग्‍ने देखिँदैन ।

अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कका गभर्नर एन्ड्रिउ कोमोले कोभिड–१९ को संक्रमण ‘बुलेट ट्रेन’ भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै संघीय सरकारसँग औषधोपचार तथा अत्यावश्यक सामग्रीको आपूर्तिका लागि आग्रह गरेपनि राष्ट्रपतिले कुनै चासो दिएका छैनन् । जसका कारण उनले पत्रकार सम्मेलन नै गरेर संघीय सरकारले आवश्यक सामग्री नपठाएको बताए ।

कोमोले न्यूयोर्कमा भाइरस संक्रमणको दर सोचे भन्दा निकै तीव्र रहेको बताएका छन् । जसले विस्तारै अमेरिकालाई गाँज्दै जाने निश्चित छ । उनका अनुसार न्यूयोर्क राज्यमा कम्तीमा ३० हजार भेन्टिलेटर आवश्यक रहेकामा जम्मा ७ हजार उपलब्ध छन् । यसले अमेरिकी स्वास्थ्य प्रणालीको अवस्था कस्तो छ भन्‍ने प्रष्ट पार्छ ।

संघीय सरकारबाट सुनुवाइ नभएपछि केही व्यवसायीहरूले व्यक्तिगत रूपमा सहयोग गर्ने घोषणा गरेका छन् । नवीकरणीय ऊर्जा तथा कार निर्माण कम्पनी टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले सयौं भेन्टिलेटर उपलब्ध गराउने जनाएपछि न्युयोर्कका मेयर बिल डे ब्लासियोले ट्विटरमार्फत धन्यवाद दिएका छन् । तर राज्य संयन्त्र परिचालन नगरेसम्म व्यक्तिगत तवरबाट हुने सहयोग र क्रियाशीलताले मात्रै भाइरसको संक्रमण रोक्‍न असम्भव रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको चेतावनी छ ।

विश्व स्वास्थ्य संगठनका विज्ञ समूहका अध्यक्ष डा. डेभिड एल हेइम्यानले भाइरस करोकथामका लागि मानिसलाई घरमै बस्‍न प्रेरित गर्नुको विकल्प नरहेको बताउँछन् । त्यसका साथै सम्भावित संक्रमितको खोजी गर्नु र आइसोलेसनमा राख्‍नु अत्यावश्यक हुन्छ । अमेरिकाले भाइरसको संक्रमण देखिएलगत्तै निश्चित स्थानमा आवतजावत बन्द गर्नुपर्थ्यो, तर त्यसो गरिएन । अझैपनि अमेरिकाले देशव्यापी लकडाउन नगरेको खण्डमा स्थित थप बिग्रने निश्चित छ । तर लकडाउनको विपक्षमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्, ‘अमेरिका लकडाउनका लागि बनेको देश होइन ।’

सुरुमा कोभिड–१९ लाई चिनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले पछिल्लो समय त्यसो भन्न छाडेका छन् । तर इस्टर (अप्रिल १२) को खुशीयालीसँगै भाइरको संक्रमण हट्ने र सबै अमेरिकीहरू काममा फर्कने उनको दाबी छ । राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा मंगलबार पत्रकारहरूलाई प्रतिक्रियाँ दिँदै ट्रम्पले भनेका थिए, ‘अमेरिकाका लागि आगामी महिना निकै सुन्दर हुनेछ ।’

चौतर्फी दबाबपछि राष्ट्रपति ट्रम्पले २० खर्ब डलरको प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । अमेरिकी इतिहासकै ठूलो आर्थिक सहायता प्याकेज कोभिड–१९ को संक्रमणबाट असर पारेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च गरिने जनाइएको छ ।

विधेयकमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले आपत्कालीन प्याकेजले अमेरिकी परिवार, कामदार तथा व्यवसायलाई तत्काल राहत दिने बताएका छन् । तर उक्त प्याकेजले मात्र अमेरिकालाई कोभिड–१९ को अर्को इपिसेन्टर हुनबाट रोक्ने संभावना भने छैन । किनकी, आफ्नो प्रशासनले भाइरसको प्रकोप थप फैलन नदिने उपायबारे तयारी गरिरहेको बताएपनि ट्रम्पले अझैसम्म पनि ठोस र स्पष्ट योजना सार्वजनिक गर्न सकेका छैनन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपतिले जुन काम भाइरसको रोकथामपछि गर्नुपर्थ्यो, त्यो उनले पहिले गरे । तर तत्काल भाइरसको रोकथामका लागि भने उनी गम्भीर भएनन् । राष्ट्रपति ट्रम्पले भाइरस थप फैलन नदिन चीनले चालेको कदमबाट त सिकेनन् नै, इटालीले भोगेको विपद्बाट पनि नसिक्ने आंकलन गर्न गाह्रो छैन ।

वर्तमान स्थितिको विश्लेषण गरी भविष्यमा हुनसक्ने जोखिम वा चुनौती टार्न सक्नु असल नेताको गुण हो । तर अमेरिकाको वर्तमान नेतृत्व त्यसका लागि असफल देखिएको छ । जसका कारण राष्ट्रपतिको दोस्रो कार्यकाल ताकेका ट्रम्पलाई शक्तिमा रहिरने चुनौती झन् बढको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : चैत्र १५, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?