लन्डन — बेलायतमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलँदै गएपछि नियन्त्रणका थप उपाय अवलम्बन गरिएका छन् । सरकारले सोमबार अपिल जारी गर्दै आपत्कालीन विधेयक ल्याउने तयारी गरेको छ ।
कोभिड–१९ को संक्रमण रोक्न बेलायत सरकारले पब, क्लब, रेष्टुरेन्ट, सिनेमा घर, थिएटरलगायत सामाजिक जमघटमा नजान अपिल गरेको छ । सरकारको आग्रहसँगै रोयल ओपेरा हाउस बन्द गरिएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार आयोजित एउटा पत्रकार सम्मेलनमा सबै ब्रिटिस जनतालाई अनावश्यक यात्रा नगर्न र अरु मानिसहरुसँग सकभर सम्पर्कमा नआउन आग्रह गरेका छन् ।
उनले गर्भवती महिला, ७० वर्ष नाघेका तथा केही खास रोग भएका मानिसहरुले सल्लाहलाई महत्वका साथ लिनुपर्ने बताए ।प्रधानमन्त्री जोन्सनले सम्भव भए घरैबाट काम गर्न पनि सुझाएका छन् ।
प्रधानमन्त्रीले उच्च ज्वरो र निरन्तर खोकी लागे सबै परिवारलाई १४ दिनसम्म घरैमा बस्न पनि अनुरोध गरेका छन् । ‘हामी एक अदृश्य हत्याराविरुद्धको युद्धमा छौं, ’ बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले भने, ‘यस भाइरससँग जुध्न बिहीबार एक आपत्कालीन विधेयक ल्याइने छ ।’
बेलायतले कोभिड–१९ नियन्त्रणमा सशक्त कदम चाल्न ढिलाइ गरेको भन्ने आलोचनासमेत भइरहेको छ । सरकारले स्कुल, विश्वविद्यालय बन्द र आमसभा, सम्मेलन रोक्न ढिलाइ गरेकोमा आलोचना खेपेको छ ।
केही दिनअघि पूर्व स्वास्थ्य मन्त्री जेरेमी हन्टले विद्यालय बन्द नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।
तर, बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले सरकारले अहिले अख्तियार गरेको रणनीतिले देशभरि बहुसंख्यक जनतामा रोग प्रतिरोध क्षमता विकास गर्ने बताउँदै त्यसको बचाउ गरेका छन् ।
कोरोना प्रकोप : युरोपमा रहेका अधिकांश नेपालीलाई कोठाभाडा तिर्नै मुस्किल
बेलायतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म ५५ पुगेको छ । मृत्यु भएका सबै ६० वर्ष उमेर माथिका र यसअघि नै बिरामी रहेका बेलायती अखबारहरुले जनाएका छन् । मंगलबार बिहानसम्म १५४३ जना संक्रमित भएका बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४४ हजार बढीले कोभिड–१९ को परीक्षण गराइसकेका छन् ।
कोभिड–१९ महामारीले बेलायतस्थित नेपाली व्यवसायी पनि समस्यामा परेका छन् । विगत १० वर्षदेखि सिटी क्लिन कम्पनी सञ्चालन गरिरहेका व्यवसायी मनोज मेहता आफ्नो व्यापार ५० प्रतिशत घटेको बताउँछन् ।
उनको कम्पनीले सेन्ट्रल लन्डनका करिब ३५ वटा होटेल, रेस्टुरेन्टमा एकसय ६० कामदार पठाइरहेको थियो । तर, अहिले उनले पठाउने होटेल, रेस्टुरेन्टको व्यापार ७० प्रतिशतसम्म घटेपछि संकट आइपरेको गुनासो मेहताको छ ।‘कामदारलाई ब्रेड बटर पुगोस् भनेर बाँडेर जेनतेन काम दिइरहेका छौं,’ मेहताले भने, ‘अब सेप्टेम्बरसम्म व्यापार पूर्ववत अवस्थामा फर्कने आशा छैन । मास्क र स्यानिटाइजर त उपलव्ध गराउन नसक्ने सरकारबाट खोइ के आशा राख्ने ?’
गैरआवासीय नेपाली संघ बेलायतका महासचिव फडिन्द्र भट्टराईको लन्डन ग्रीनवीचस्थित कफी पसल पनि ग्राहकहरुको आगमन नहुँदा ठप्प छ । ‘वाह्य पर्यटकमा आश्रित हामीलाई कोरोना भाइरसले चौपट्ट पारेको छ, ’ भट्टराईले गुनासो गरे, ‘करिब ९० प्रतिशतजति पर्यटक घटेपछि अब कसरी भाडा तिर्ने हो चिन्ता थपिएको छ ।’
बेलायतमा नेपालीका करिब अढाइ सय रेस्टुरेन्टको हालत पनि उस्तै छ । आफ्नो स्वास्थ्यबाहेक रोजगारी र व्यापारको चिन्ताले पनि पिरोलिएका छन् बेलायतमा बस्दै आएका नेपालीहरु ।
