फ्रान्समा कोरोना संक्रमणबाट गम्भीर बिरामी भएकामध्ये ५० प्रतिशत ६० वर्ष मुनिका

चैत्र ३, २०७६

एजेन्सी

पेरिस — फ्रान्समा कोरोना भाइरस(कोभिड–१९)  बाट संक्रमित भएर सघन उपचार कक्ष(आईसीयू) मा उपचाररतमध्ये आधाभन्दा बढी ६० वर्षमुनिका व्यक्ति रहेको त्यहाँका अधिकारीले जानकारी दिएका छन् । 

फ्रान्समा ३ सय भन्दा बढी संक्रमित आईसीयूमा उपचाररत रहेको र त्यसको आधाभन्दा बढी ६० वर्षमुनिका व्यक्ति रहेको फ्रान्सेली राष्ट्रिय स्वास्थ्य विभागका महानिर्देशक जेरोमी सालोमोनले जानकारी दिए । ‘हामीले आज रातिसम्म आईसीयूमा ३ सय भन्दा बढी गम्भीर बिरामी रहेको थाहा पाएका छौँ । हामीकहाँ गम्भीरमध्ये ५० प्रतिशतभन्दा बढी प्रौढ रहेका छन् । उनीहरु ६० वर्षभन्दा मुनिका रहेका छन्,’ पत्रकार सम्मेलनमा महानिर्देशक सालोमोनले बताए । तर आईसीयूमा रहेका बिरामी ६० वर्षमुनिका भएका बताए पनि महानिर्देशक सालोमोनले कति कति वर्ष भन्नेचाहिँ खुलाएनन् । 

कोरोना भाइरसबाट कुन उमेर समूह बढी जोखिममा ?

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणबाट ८० वर्षमाथिका व्यक्ति उच्च जोखिममा रहेको जनाएको छ । त्यसपछि ७०–८० वर्ष उमेर समूहका व्यक्ति भाइरसको संक्रमणको जोखिममा रहेको डब्लूएचओले बताएको छ । तर फ्रान्समा भने गम्भीरमध्ये आधाभन्दा बढी ६० वर्षमुनिका रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । 


सोमबार बिहानसम्म फ्रान्समा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ५ हजार ४ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै फ्रान्समा एक हजारभन्दा बढी संक्रमित थपिएका छन् । 


सोमबार बिहानसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ। त्यस्तै एक लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन्।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully