वासिङ्टन — अमेरिकाले कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै ३० दिनका युरोपेली मुलुकबाट अमेरिका प्रवेशमा रोक लगाएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रातिदेखि लागू हुने गरी युरोपेली मुलुकबाट हुने सबै यात्रामाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।
प्रतिबन्धमा बेलायत भने परेको छैन । बेलायतमा अहिलेसम्म कोभिड–१९ बाट ८ जनाको मृत्यु भएको छ भने ४ सय ५६ जना संक्रमित रहेका छन् ।
राष्ट्रपति ट्रम्पले प्रतिबन्ध ‘कडा कदम’ भए पनि ‘अत्यन्तै आवश्यक’ भएको जनाएका छन् । राष्ट्रपति ट्रम्पले युरोपेली युनियनले अमेरिकाले जस्तो पूर्वसावधानी अपनाउन नसकेको पनि बताए । चीनपछि कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित इटालीले खाद्य सामग्री र औषधि पसल बाहेक सबै पसल बन्द गर्ने र राष्ट्रव्यापी रुपमा आवतजावत ठप्प पार्ने घोषणा गरेसँगै ट्रम्पले युरोपेली मुलुकमाथि यात्रा प्रतिबन्ध लगाएका हुन् ।
कोरोना भाइरस विश्वव्यापी महामारी : विश्व स्वास्थ्य संगठन
युरोपमा रहेका आफ्ना नागरिकलाई भने प्रतिबन्ध नलगाएको ट्रम्पले बताए । यो ३० दिनभित्र युरोपमा रहेका अमेरिकी नागरिक भने युरोप–अमेरिका ओहोर–दोहोर गर्न पाउनेछन् । तर अमेरिका प्रवेश गर्नुअघि उनीहरुको स्वास्थ्य परीक्षण हुनेछ । साथै उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै हिँडडुल गर्न दिइनेछ ।
ट्रम्पले यात्रुहरुमाथि प्रतिबन्ध लगाए पनि यसले अमेरिका र युरोपबीचको व्यापारमा भने असर नपार्ने बताएका छन् । कार्गो विमानहरुमाथि भने प्रतिबन्ध नलगाएको उनले स्पष्ट पारे । उनले भने, ‘प्रतिबन्ध मानिसहरुमाथि हो, सामानमा होइन ।’
बिहीबार बिहानसम्म अमेरिकामा कोभिड–१९ बाट ३८ जनाको मृत्यु भएको छ भने एक हजार ३ सय २७ जनामा संक्रमण देखिएको छ ।
