कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत १४ दिन बन्द  

फाल्गुन २९, २०७६
कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत १४ दिन बन्द  

Highlights

  •  मार्च १२ देखि २६ सम्म सार्वजनिक बिदाको घोषणा
  •  कार्गोबाहेक सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु बन्द

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिनको लागि कुवेत सरकारले बिहीबार (मार्च १२) देखि दुई सातासम्म लागू हुने गरी सार्वजनिक बिदाको घोषणा गरेको छ । यो सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी र कामदारका लागि लागू हुनेछ ।

नेपालीसहित आप्रवासी कामदारको उच्च जनघनत्व रहेको कुवेतले कोभिड-१९ को संक्रमण फैलिन सक्ने भन्दै सुरक्षाका सबै उपायहरु अपनाएको हो । १७ हजार ८ सय १८ वर्गकिलोमिटरको क्षेत्रफल रहेको कुवेतमा झन्डै ४२ लाख मानिस बस्छन् । कुल जनसंख्याको ७० प्रतिशत आप्रवासी कामदार रहेका छन् । नेपाली कामदार भने झन्डै ८५ हजार कार्यरत छन् ।


अन्तर्राष्ट्रिय उडानहरु बन्द

कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिने भएको छ । कार्गोको उडान भने जारी रहनेछ । अन्तर्राष्ट्रिय उडान बन्दले कुवेतसँग हुने नेपाली कामदारको दुईतर्फी आवतजावत पनि बन्द भएको छ । अब वैदेशिक रोजगार विभागबाट कुवेत जानका लागि श्रम स्वीकृति पाइसकेका कामदार अर्को सूचना नआएसम्म कुवेत जान पाउने छैनन् ।


कुवेतको मन्त्रिपरिषद्ले रेस्टुरेन्ट र क्याफेमा भेला हुन र ठूला व्यापारिक केन्द्र (मल)को वरिपरि भेला हुनको लागि रोक लगाएको छ । ठूला खाद्यान्य पाउने मल र साना पसल (वकला) हरु भने बन्द गरिएको छैन । बैंकहरु बन्द गरिएको छ । हरेक गभर्नर क्षेत्रमा भने एउटा मात्रै बैंक खोल्न पाइने छ । एटीएमहरु भने खुल्ला रहनेछ । सरकारले यसलाई कर्फ्यु रुपमा नबुझ्‍न सबैलाई अनुरोध गरेको छ ।


कुवेतको यो निर्णय सार्वजनिक हुनासाथ बुधबार राति किनमेलका लागि व्यापारिक केन्द्रहरुमा निकै भीड लागेको थियो । ‘कुवेत सरकारको खाद्यान्यको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । तर १४ दिन पुरै बन्द हुने हल्ला भएपछि हामी आवश्यक खाद्यान्य खरिद किन्न नजिकको मलमा गएका थियौं । मलभित्र छिर्न सकिने अवस्था थिएन,’ कुवेतमा कार्यरत सुरज मास्केले इकान्तिपुरलाई बताए,‘खाडीको १२ वर्षे बसाइमा मलमा यस्तो भीड देखेको थिइनँ ।’मलमा चामल, दाल, दूध, अन्डा, सागसब्जी र फलफूल किन्नेहरुको भीड लागेको थियो । सलमिया, जलिव, अल सोएक, रिगाई, खैतान, फाहहिल क्षेत्रमा मलमा भीड लागेको थियो ।


कुवेती मलमा लागेको भीड तस्बिर सौजन्य : सुरज मास्के

कुवेत सरकारको यो निर्णयबाट आफूहरु सुरक्षित महसुस गरेको उनले मास्केले बताए । ‘कामहरु सबै बन्द भयो । यसले रोकथाममा सहयोग पुग्छ,’ उनले भने ।


कुवेतले २७ फेब्रुअरीदेखि यता कुवेत प्रवेश गरेका नेपालीसहित आप्रवासी कामदारलाई स्वास्थ्य परीक्षणका लागि अनिवार्य रुपमा कुवेत फेयर ग्राउन्डसमा उपस्थिति हुनका लागि समयसीमासमेत तोकेको छ ।


कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतले क्‍वारेन्टाइनका लागि निश्चित स्थानहरु तोकेको छ । विमानस्थल पुगेका कामदारलाई तोकिएको क्‍वारेन्टाइनमा सिधै लैजानेछ । १४ दिनपछि मात्रै कामका लागि कम्पनीको जिम्मेवारीमा छाडिनेछ ।


फेब्रुअरी २७ यता कुवेत प्रवेश गरी कुवेतको ६ क्षेत्रमा बस्ने कामदारलाई छुट्टाछुट्टै समयमा कुवेतको फेयर ग्राउन्डसको हल नम्बर ६ मा सर्म्पक गर्न सूचना जारी गरिएको छ । जसअनुसार अल जाहरा क्षेत्रमा बसोबास गर्ने नेपालीले मार्च १२, मुबारक अल कबिर क्षेत्रका नेपालीले मार्च १३, फर्वानिया क्षेत्रका नेपालीले मार्च १४, ह्वाली क्षेत्रका नेपालीले मार्च १५ , अहमदी क्षेत्रका नेपालीले मार्च १६ र क्यापिटल (अल असिमा) क्षेत्रका नेपालीले मार्च १७ मा कुवेतको फेयर ग्राउन्डस हलमा जानुपर्ने नेपाली दूतावासले जनाएको छ ।


कुवेतले सबै खालका नयाँ भिसा जारी गर्न पनि रोक्ने निर्णय गरेको छ । अब हालसम्म जारी भएका भिसा प्राप्त नेपाली मात्रै कुवेत जान पाउनेछन् । हालसम्म जारी भएका भिसाको श्रमस्वीकृतिको प्रक्रियामा नै छ । कुवेतमा बिहीबार बिहानसम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ जना निको भएर फर्केका छन् । ५ जनालाई आईसीयूमा राखिएको र १ जनाको अवस्था गम्भीर रहेको कुवेती अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७६ ०७:३८
x
×