कोरोना प्रकोप : मृतकको संख्या १५ सय नाघ्यो, ६७ हजार बढी संक्रमित

एजेन्सी

बेइजिङ — कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १३९ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना प्रकोप : मृतकको संख्या १५ सय नाघ्यो, ६७ हजार बढी संक्रमित

शनिबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय २६ पुगेको छ । त्यसमध्ये फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मृत्यु हुने एक हजार ५ सय २३ मध्ये एक हजार एक सयय २३ हुबेईकै मात्रै छन् ।

शुक्रबार चीनमा थप २ हजार ६ सय ४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ हजार एक सय पुगेको छ । जसमध्ये ६६ हजार ४ सय ९२ संक्रमित चीनकै छन् । त्यस्तै ८ हजार एक सय ४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

'भयावह बन्ने अवस्था छैन'

यसैबीच संक्रमितको पछिल्लो तथ्यांकले प्रकोप भयावह बन्नेतर्फ नदेखिएको युनिभर्सिटी अफ सिड्नीस्थित सेन्टर फर इन्टरनेसनल सेक्युरिटी स्टडिजका संक्रामक रोग विशेषज्ञ अदाम क्रमरादत–स्कटले बताएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चिनियाँ अधिकारीले सक्दो प्रयास गरिरहे पनि निकै ढिला र कम भएको छ,’ उनले भने ।

चीनसमक्ष एकतर्फ संक्रमणलाई फैलन नदिनु चुनौती छ भने अर्कोतर्फ भाइरस नियन्त्रण गर्न । तसर्थ, उसले हुबेई र वुहानलाई विशेष ध्यान दिइरहेको छ । सहरलाई लगभग बन्द गरिएको छ र देशभरका हजारौं स्वास्थ्यकर्मीलाई त्यहाँ पठाइएको छ । यसैबीच, चिनियाँ वैज्ञानिकले कोरोना भाइरसविरुद्धको दुइटा ‘एन्टिभाइरस ड्रग’ को परीक्षण गरिरहेको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । उसका अनुसार परीक्षणका प्रारम्भिक नतिजा केही सातामै आउनेछ । वुहान अस्पतालका प्रमुखले संक्रमण भएर निको भएका बिरामीका ‘प्लाज्मा इन्फ्युजन्स’ ले सकारात्मक प्रारम्भिक नतिजा देखाएको बताएका छन् ।

विश्वका विभिन्न देशले कोरोना संक्रमणपछि आत्तिएर विविध निर्णय लिएको भन्दै विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ । उसले भाइरसका कारण मृत्यु हुनेको संख्यामा त्यति धेरै वृद्धि नभएको र यसले महामारीको रूप नलिएको जिकिर गरेको छ । उसले हुबेई बाहेक अन्य क्षेत्रमा भाइरस संक्रमणमा वृद्धि नभएकाले अनावश्यक हल्लाका पछाडि नलाग्न र सावधानीपूवर्क गतिविधि गर्न भनेको छ । चीनका अन्य क्षेत्रसहित विश्वका अरु देशमा पनि संक्रमणको वृद्धि दर कम भएको पनि उसले जनाएको छ ।

कहाँ कति संक्रमित?

चीन – १५२६ मृत्यु, ६४,४९२ संक्रमित

हङकङ – १ मृत्यु, ५६ संक्रमित

फिलिपिन्स – १ मृत्यु, ३ संक्रमित

जापान - १ मृत्यु, २५९ संक्रमित

संक्रमित मात्रै

सिंगापुर – ६७

थाइल्याण्ड – ३३

दक्षिण कोरिया – २८

ताइवान – १८

अस्ट्रेलिया – १५

मलेसिया – १९

जर्मनी – १६

भियतनाम – १६

अमेरिका – १५

फ्रान्स – ११

मकाओ – १०

बेलायत – ९

क्यानडा – ७

यूएई – ८

इटाली – ३

भारत – ३

रुस – २

श्रीलंका – १

कम्बोडिया – १

फिनल्याण्ड – १

नेपाल – १

स्विडेन – १

स्पेन – १

बेल्जियम - १

इजिप्ट - १

प्रकाशित : फाल्गुन ३, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?