कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना प्रकोप : बिहीबार १२४ को मृत्यु, संक्रमित पुष्टि गर्न नयाँ विधि

एजेन्सी

बेइजिङ — नोवल कोरोना भाइरसका कारण बिहीबार चीनमा १२३ र जापानमा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ३ सय ८३ पुगेको छ । त्यसमध्ये हङकङ, फिलिपिन्स र जापानमा एक-एक जनाको मृत्यु भएको छ ।

कोरोना प्रकोप : बिहीबार १२४ को मृत्यु, संक्रमित पुष्टि गर्न नयाँ विधि

बुधबारको तुलनामा भने बिहीबार मृत्यु हुने र संक्रमितको संख्यामा कमी आएको छ । बुधबार मात्रै डिसेम्बरमा संक्रमण देखिएयताकै सबैभन्दा धेरै २४२ जनाको मृत्यु भएको थियो भने करिब १५ हजार संक्रमित थपिएका थिए ।

त्यस्तै बिहीबार चीनमा मात्रै थप चार हजार ८ सय ५४ जनामा संक्रमण देखिएको छ । बिहीबार नै जापानमा ५०, सिंगापुरमा ८, हङकङमा ३, अमेरिकामा २ र मलेसिया र भियतनाममा १-१ जनामा संक्रमण देखिएको छ ।

शुक्रबार बिहानसम्म विश्‍वरभर संक्रमितको संख्या ६५ हजार २४७ पुगेको छ । उपचारमा नयाँ विधि लागू गरिएपछि थप संक्रमित पहिचान भएको स्वास्थ्य आयोगका प्रवक्ता मीले बताए । प्रयोगशालामा पुष्टि भएका मात्रै नभई लक्षण र जोखिमका आधारमा ‘क्लिनिकल्ली पुष्टि भएका’ लाई पनि संक्रमितमा राखिएकाले यो संख्या पुगेको उनको भनाइ छ ।

संक्रमित पुष्टि गर्न नयाँ विधि

चीनले नोवल कोरोना संक्रमित पुष्टि गर्न नयाँ विधि लागू गरेको छ । संक्रमितको अवस्था हेरेर वर्गीकरणको नयाँ प्रणाली लागू गरिएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

यसअघि ‘न्युक्लेइक एसिड’ परीक्षणका आधारमा संक्रमित पुष्टि गरिन्थ्यो । नयाँ विधिअनुसार संक्रमणका लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा असर देखिए मात्र रोग लागेको पुष्टि गरिनेछ । भाइरसको

उद्गमस्थल हुबेई प्रान्तमा लागू गरिएको विधिले संक्रमण निदानको दायरा फराकिलो बनाउने दाबी छ । भाइरस प्रकोप नियन्त्रणमा उचित कार्य गर्न नसकेको भन्दै हुबेई र वुहानका उच्च अधिकारी हटाइएकै दिन मंगलबार संक्रमण पहिचानका लागि नयाँ विधि लागू गर्ने घोषणा गरिएको थियो । संक्रमण नियन्त्रणमा काम गर्न नसकेको भन्दै व्यापक आलोचना भएपछि ती अधिकारी बर्खास्तमा परेका थिए ।

हुबेईले संक्रमितको पहिचान र उपचारलाई तीव्रता दिन संशोधित निदान र उपचार योजना अपनाएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बताएका छन् । निमोनिया भएका संदिग्धको पहिचान गर्न ‘क्लिनिकल डाइग्नोसिस केस’ नयाँ उपचार प्रणालीमा राखिएकाले जतिसक्दो चाँडो बिरामीबारे जानकारी हुने र संक्रमण पुष्टि भए उपचार गर्न सकिने उनले बताए । नयाँ प्रक्रियाले बिरामीको संख्या र मृत्युदर घटाउन सहयोग पुग्ने प्रवक्ता मीको भनाइ छ ।

वुहानस्थित दुई अस्पतालमा उपचाररत बिरामीको उपचार गर्ने जिम्मेवारीसहित थप दुई हजार ६०० सैन्य स्वास्थ्य अधिकारी पनि खटाइएको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । यसबाहेक चीनका अन्य सहरबाट १८९ स्वास्थ्य टोलीमा रहेका २१ हजार ५६९ अधिकारी पनि हुबेई पठाइएको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । थप सहयोगका लागि १७ प्रान्तबाट एक हजार चिकित्सक, एक हजार ६८१ नर्स र २१३ विज्ञ बुधबार वुहान पुगेका छन् । त्यसैगरी तीनटा मोबाइल पी थ्री प्रयोगशाला पनि वुहान पुर्‍याइएको छ ।

पर्यटकका गतिविधि नियाल्दै इन्डोनेसिया

इन्डोनेसियाले कोरोना भाइरस संक्रमण भएको हुन सक्ने भन्दै चिनियाँ पर्यटकका गतिविधि नियाल्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले बिहीबार जनाएअनुसार रिसोर्ट टापु बालीबाट फर्कने सबै चिनियाँ पर्यटक निगरानीमा हुनेछन् । २६ करोड जनसंख्या रहेको विश्वकै चौथो ठूलो देश इन्डानेसिया चिनियाँ पर्यटकका लागि लोकप्रिय गन्तव्य हो । इन्डोनेसियामा हालसम्म कोरोना संक्रमित व्यक्ति भेटिएका छैनन् ।

चिनियाँ पर्यटक गएका होटल र अन्य गन्तव्यमा भाइरस परीक्षण भइरहेको तर हालसम्म कही पनि संक्रमणका लक्षण नपाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले चीनमा देखापरेको भाइरस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । स्विट्जरल्यान्डको जेनेभामा आयोजित एक कार्यक्रममा संगठनका प्रमुख टेड्रोस एड्हानोम घेब्रेयसुसले कोरोना भाइरसबारे भ्रम फैलाइँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै सावधानीपूर्वक लिन सबैमा आग्रह गरेका हुन् ।

कहाँ कति संक्रमित?

चीन – १३८३ मृत्यु, ६४,६५८ संक्रमित

हङकङ – १ मृत्यु, ५३ संक्रमित

फिलिपिन्स – १ मृत्यु, ३ संक्रमित

जापान - १ मृत्यु, २५२ संक्रमित

संक्रमित मात्रै

सिंगापुर – ५८

थाइल्याण्ड – ३३

दक्षिण कोरिया – २८

ताइवान – १८

अस्ट्रेलिया – १५

मलेसिया – १९

जर्मनी – १६

भियतनाम – १६

अमेरिका – १५

फ्रान्स – ११

मकाओ – १०

बेलायत – ९

क्यानडा – ७

यूएई – ८

इटाली – ३

भारत – ३

रुस – २

श्रीलंका – १

कम्बोडिया – १

फिनल्याण्ड – १

नेपाल – १

स्विडेन – १

स्पेन – १

बेल्जियम – १

प्रकाशित : फाल्गुन २, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?