१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोनाको त्रासमा डगमगाएको आत्मविश्वास

लक्ष्मी लम्साल

(बेइजिङ) — जनवरी महिना, बेइजिङमा उत्रिएको एक साता नबित्दै रूघाखोकी र ज्वरोले एकैसाथ आक्रमण गर्‍यो । सकेसम्म औषधि नखाने म जस्ताका लागि घरेलु उपायले यसपटक त छोएन । वाफ लिनु, ज्वानो, बेसार, अदुवा, लसुनलगायत अनेक चीज हालेर उमालेको पानी पिउनु, व्यायाम गर्नुजस्ता अनेकन् विधि अपनाएर ज्वरोबाट मुक्ति पाउने ध्याउन्नमा थिएँ ।

कोरोनाको त्रासमा डगमगाएको आत्मविश्वास

कैयन् दिनको अथक प्रयासपछि पनि निको नहुने देखेपछि सडकपारीको औषधि पसलमा गएर थर्मोमिटर र ज्वरोको औषधि किनें । यताको औषधि नेपालमा पाउने जस्तो कडा नहुने भएकाले हत्तपत्त छुँदा पनि छुँदैन रहेछ । एकजना साथीले नेपालबाटै ल्याएको सिटामोल खाएपछि भने ज्यान केही हलुका भयो ।


जनवरी ५ तारिख ‘डिले’ भएर ढिलो अवतरण गरेको हिमालय एयरलाइन्सबाट राति ओर्लिँदासम्म बेइजिङको नयाँ तासिङ विमानस्थल सुनसान भैसकेको थियो । ट्याक्सीमा चढेपछि फुरफुर हिउँ पर्न पनि सुरू गर्‍यो । कडा चिसो त्यहीँबाट खान थालियो । हिउँ एक महिना बितिसक्दा पनि निख्रिएन । नेपालमा छँदा निजगढदेखि हेटौंडा, अनि काठमाडौंको झरीमा मोटरसाइकल चलाउँदै र रूझ्दै गर्दा समेत नछोपेको चिसोले यहाँ टेक्नेबित्तिकै नराम्रोसँग गाल्यो ।


अहिले आएर सोच्छु, त्यतिखेरै कोभिड-१९ को आतंक छ भन्ने थाहा पाएको भए मेरो मनोबल कति गिर्थ्यो होला ? प्राणघातक कोरोना भाइरस फैलिएको बेलामा रूघा र ज्वरोका यी लक्षणले थला पारेको कुरा नेपालमा भएका आफन्तले थाहा पाएको भए कति आत्तिन्थे होला ?


कोरोना भाइरसको संक्रमणमा केन्द्र मानिएको हुबेइको वुहान शहर जो सुविधा सम्पन्न छ । १ लाख ८५ हजार ९ सय वर्गकिलोमिटर क्षेत्रफल रहेको चीनको हुबेइ प्रान्त नै सिंगो नेपालभन्दा अझै ठूलो छ । अत्याधुनिक शहरमा मानिसहरूको जीवन ‘लक डाउन’का कारण पिंजडाको सुगाजस्तो भएको यथार्थ हो । संक्रमणले सैयौंको ज्यान लिइसकेको छ । वुहान हुँदै अहिले चीनका अनेकन् क्षेत्र र सीमापार गरेर विदेशसम्म पनि कोरोना फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरू नै भ्याक्सिन पत्ता लगाउन नसकेर हैरान भइरहेका छन् । यस्तो डरलाग्दो रोगको उद्गम भूमिमा जीवनयापन गर्नुपर्दाको मनोवैज्ञानिक असर जो कोहीले अनुमान गर्नसक्छ ।


नेपालमा ‘ललिता निवास’ प्रकरण चर्चामा छ । एकजना चिनियाँ सहकर्मीको चित्र आँखामा छाउँछ । उनको नेपाली नाम ललिता, उनको निवास नजिकै, करीब ५/७ सय मिटर पर, लहरै जोडिएका बिल्डिङमा बस्ने एकजनामा केहीदिनअघि कोरोनाको संक्रमण देखियो । एउटै स्टुडियोबाट समाचार वाचन गर्नुपर्ने, एउटै टेबुल र आमनेसामने कम्प्युटर चलाउनुपर्ने हुँदा उनकै छिमेकीको किस्साले मनोबल ह्वात्तै घटाएको अनुभूति हुन्छ । उनीबाट टाढा भएको बेलामा जब नेपाली संचारमाध्यममा हेर्छु । नेपालको भ्रष्टाचारको जालो तोडिँदै गरेको ‘ललिता निवास’को प्रकरणले भ्रष्टाचारीहरूको सात्तो लिएजस्तै आफूलाई भने तिनै ललिताजीको निवास छेउको कोरोना काण्डले सात्तो उडाइरहेको हुन्छ ।


चीन एक्लैले केही होइन भनेर सान्त्वना दिइरहेको भए अर्कै हुन्थ्यो तर, विश्व समुदाय नै लागिपरेपछि यो चानचुने समस्या होइन भन्ने नै भयो । कोरोनाले छोयो कि गयो । दिनप्रतिदिन क्षयीकरण हुँदै गएको मानवजीवनले संवेदनाको खाल्डो भरेको भर्‍यै छ । परको देशमा जो कोहीले गर्ने अनुभूति नै ‘एक्लोपन’ हो । आफूलाई जतिसुकै बलियो बनाउन खोजेपनि, जतिसुकै शोकहरूलाई हावामा उडाउन खोजेपनि भित्री मनको बाघलाई त कहाँ लखेट्न सकिन्छ र ?


बिहान उठ्यो, ब्रेकफास्ट लिन अर्को बिल्डिङको क्यान्टिनमा गयो । ढोकैमा बसिरहेको यन्त्रले ज्वरो नाप्न थाल्छ । निर्देशन बमोजिम ठिक्क निधार पारेर अगाडि उभिएपछि कामना हुन्छ, ‘भगवान्, मेरो तापक्रम बढी नदेखियोस् ।’


केही दिन अघि मात्रै एकजना तमिल भाषा विभागको विशेषज्ञ अलि बढी शरीरको तापका कारण केरकारमा परेका थिए । पुकार गर्दै लाइनमा नापो लिएसँगै चिकित्सकको इशारा पाएपछि खुर्रर दौडेर लिफ्टभित्र छिरिहालियो । यसरी दौडेर मात्रै कोरोनाको कहरले नभेट्ने भए त हुन्थ्यो । त्यस्तै एकजना अंग्रेजी भाषाकी साथीलाई एम्बुलेन्समा हालेर अस्पताल लगियो, भनेर हल्लाखल्ला भयो । ‘फेक न्यूज’ त होइन रहेछ । हामी १५९ जना विदेशी भाषा विशेषज्ञहरू रहेको वीच्याट ग्रुपमा उनले नै पुष्टि गरिन् । भाग्यवश उनलाई रूघा, खोकी, ज्वरो त आएको रहेछ तर कोरोनाले छोएको रहेनछ ।


भिसा कार्यालयले पासपोर्ट लिन आउने मिति पर सारेको थियो । अपार्टमेन्टको ढोकामा कागजमा चिट टाँसिएको थियो, ‘भिसाको म्याद सकिन लाग्यो ।’ तर आफ्नै पासपोर्ट लिन जान १५ मिनेटको बाटो १५ माइलजस्तै लागिरहेको थियो । एक्लै जाउँ, असावधानी होला । साथीसँग जाउँ, जो कोही साथ दिनै हच्किने । एउटा नेपाली साथीलाई घुर्की लगाएँ, ‘मलाई मात्र कोरोना लाग्ला भन्ठान्या ? फर्केपछि तपाइँलाई सार्न नसकुँला र ?


मेरो मनोवैज्ञानिक डर देखेर उनले पनि साथ दिने भए । किनकि एकै ठाउँमा उठबस हुँदा भाइरस नसर्ला त भन्न सकिँदैनथ्यो । बरू दुईजना भएर गइयो भने एकले अर्कालाई सचेत गराउन त सकिन्छ । सोही विषयमा बहस गर्दै हिँड्दा डर पनि भाग्थ्यो ।


सानोमा बाख्रा चराउन गोठालो जाँदा जंगलमा एक्लै परिन्थ्यो र चिच्याई चिच्याई गीत गाइन्थ्यो । त्यसले डर भगाउन सजिलो हुन्थ्यो ।


सुरक्षित हुने भएपनि क्यान्टिनमा पाइने चिनियाँ खानाले चित्त नबुझ्ने । सुपरमार्केट जाने हिम्मत बल्लतल्ल जुटाइयो । यद्यपि त्यहाँ पनि ज्वरो नाप्ने सकसबाट मुक्ति त मिल्दैन । सुन्नमा आएको थियो, जहाँ भएपनि ज्वरोको संकेत मिल्यो कि लगेर अस्पताल भर्ना गरिदिन्छन् । एक हिसाबले चीन सरकारले जनताप्रति देखाएको यो उत्तरदायी कार्यको प्रशंसा गर्न मन लाग्छ । तर कहाँ, के सुरमा हिँडेको मान्छे अस्पताल भर्ना भएर, केही गरी शंकास्पद भइयो भने १४ दिन आइसोलेसनमा बस्नुपर्ने, कोरोनाकै संक्रमण देखिएपछि त अर्को पिरलो !


अहिले केही त्यस्ता भिडियोहरू भाइरल भएका छन् त्यो चीनप्रति आलोचना गर्नेहरूलाई मसला भएको छ । कुनै घरमा वा छिमेकमा कोरोना भाइरसको संक्रमण देखिएपछि चिकित्सकहरूले सबैलाई जाँच्न अनुरोध गर्छन् । यो सामान्य प्रकोप होइन भनेर बुझाउन खोज्छन् । तर धेरै मानिसहरू अस्पतालको नाम सुन्ने बित्तिकै आत्तिएर खाटमुनी लुक्न थाल्छन् । आइसोलेसनमा बस्नुपर्ने झन्झटमा पर्न कोही पनि चाहँदैन । जिम्मेवार निकायले उनीहरूलाई तानेरै भएपनि अस्पताल लगेर, चेकजाँच गरेर, पुष्टि गरेर मात्रै पठाउने भएकाले यो रस्साकस्सी जो कोहीका लागि तीतो लाग्नसक्छ ।


आवास क्षेत्रहरूमा एकद्वारे नियम बनाएर नाम/ठेगाना टिपाएर ओहरदोहर गर्न दिन्छन् । मास्क नलगाएमा लगाउन भन्छन् । जता गएपनि ज्वरो नापेकै हुन्छन् । सार्वजनिक यातायातदेखि लिफ्ट, सबवे, जहाँतहीँ कीटनाशक छरिरहेकै हुन्छन् । कोरोना विरूद्धको लडाइँमा चिनियाँको ऐक्यवद्धता लोभलाग्दो देखिन्छ । सबै कोरोना विरूद्धका गतिविधिमा लागिपरेका छन् ।


उनीहरूले विगतमा के काम गर्थे, अहिले कसरी जीवन चलाउँदा हुन् ? चिनियाँ राष्ट्रपतिदेखि नेताहरूको अनुगमन निरीक्षण चलेको चल्यै छ । उनीहरूले जनतालाई होस्याएका हौस्यायै छन् । जता जाउँ, सचेतनाका सन्देशहरू घन्किरहेका हुन्छन्, ‘कोठाबाट बाहिर नजाउँ, मास्क लगाउँ, हात धोउँ, भीडभाड कम गरौं ।’


बिहान उठ्ने बित्तिकै नाक बुजिएको जस्तो लाग्यो कि मनमा चिसो पस्छ । हाच्छ्युँ लाग्यो कि सात्तो जान्छ । अन्य केही कुराको झन्झटले शरीर तातियो कि अनायासै हात निधारमा गएर ज्वरो नाप्न थाल्छ । नास्तिक मुलुक चीनमा अचेल भगवानको नाम लिनेहरू धेरै देखिन्छन् । यो यस्तो घडी हो जतिखेर सारा विज्ञानले हार खाइरहेको छ । त्यो भन्दा पनि कहिलेकाहीं त मनोविज्ञानले हार खान्छ र उकुसमुकुस हुन थाल्छ । फेरि पनि विराट् सत्य यही हो कि प्रकृतिको तापमानसँग मेल राख्न नसक्दा मानव शरीरले उतारचढाव बेहोर्नुपर्दछ नै । आफूलाई सदैव सक्रिय राख्नू, योग ध्यानले चित्तमाथि नियन्त्रण राख्नू, पोषिलो खानेकुरा खानू, आफ्नो सुरक्षा आफैँले गर्नू, उच्च आत्मविश्वासका साथ हौसला जगाइराख्नू वर्तमानको आवश्यकता हो । जसरी अहिले विश्व समुदायले एकै स्वरमा भनिरहेको छ-

चोङ्को च्या यौ- चीन, होस्टे हैंसे !

वुहान च्या यौ – वुहान, होस्टे हैंसे !


प्रकाशित : फाल्गुन १, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?