३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोनाबाट २१३ को मृत्यु, विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

पुरै चीनमा फैलियो कोरोना भाइरस, झन्डै १० हजार संक्रमित
एजेन्सी

बेइजिङ — चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो ।

कोरोनाबाट २१३ को मृत्यु, विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको थियो । स्वास्थ्य संकटकाललाई डब्ल्यूएचओले असाधारण घटनाका रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ । यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले स्वास्थ्य संकटकालघोषणा गरेको थियो ।

मृतकको संख्या २ सय नाघ्यो

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २१३ जनाको मृत्यु भएको जनाएको छ । हुबेई प्रान्तका अधिकारीका अनुसार बिहीबार मात्रै थप ४२ जनाको मृत्यु भएको हो । त्यस्तै झन्डै १० हजार व्यक्तिमा यसको संक्रमण देखिएको छ । शुक्रबार बिहानसम्म ९६९२ जनामा यसको संक्रमण भेटिएको चीनले जानकारी दिएको छ । बिहीबार मात्रै थप १९८२ जना संक्रमित भेटिएका हुन् ।

पुरै चीनमा फैलियो कोरोना भाइरस

नोवल कोरोना भाइरसको संक्रमण चीनका सबै क्षेत्रमा फैलिएको छ । बिहीबार तिब्बतका एक व्यक्तिमा भाइरसको संक्रमण देखिएसँगै यो चीनका सबै क्षेत्रमा पुगेको हो ।

चिनियाँ सञ्चारमाध्यमका अुनसार वुहानबाट तिब्बत पुगेका ३४ वर्षीय एक पुरुषमा बिहीबार भाइरसको संक्रमण भेटिएको हो । जनवरी २५ मा रेलबाट त्यहाँ पुगेका उनलाई त्यसै दिन अस्पताल भर्ना गरिएको अधिकारीले बताएका छन् । संक्रमितको स्वास्थ्य स्थिर रहेको र सूक्ष्म निगरानीमा राखिएको राज्य सञ्चालित चाइना डेलीले उल्लेख गरेको छ ।

कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १५ देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का एक विज्ञले भाइरसको संक्रमण कम्तीमा अझै १० दिन फैलन सक्ने बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीले सार्स र इन्फ्लुएन्जा भाइरसजस्तै कोरोना बढी उमेर समूह र पहिले नै श्वासप्रश्वाससम्बन्धी रोगको समस्या भएका मानिसका लागि निकै जोखिमयुक्त रहेको बताएका छन् ।

चीनबाहिर २० देशमा कोरोना भाइरसको संक्रमण फैलिए पनि अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

वुहानबाट बाहिर निकाल्न आग्रह

वुहानमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले त्यहाँबाट निकाल्न आग्रह गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल, फोन र पत्रमार्फत आफ्ना सरकारलाई जतिसक्दो चाँडो निकाल्न आग्रह गरेका हुन् । भाइरस संक्रमण फैलन थालेपछि वुहानमा अत्यावश्यकबाहेकका अन्य क्षेत्र बन्द छन् । यसरी आग्रह गर्नेमा धेरैजसो दक्षिण एसियाली राष्ट्रका विद्यार्थी छन् ।

पाकिस्तानले वुहानमा ५ सय विद्यार्थी र उनीहरूका परिवार रहेको जनाएको छ । उसले भाइरस निगरानीमा आवश्यक पर्ने सतर्कताका कारण उनीहरूलाई स्वेदश फर्काउन अप्ठेरो भइरहेको बताएको छ । बंगलादेश र भारतले भने विमानलाई तयारी अवस्थामा राखेको जनाएका छन् ।

नागरिक फिर्ता सुरू

केही दिनअघि चिनियाँ विदेश मन्त्रालयले गरेको आग्रहविपरीत कैयौं राष्ट्रले आफ्ना नागरिक फिर्ता लगेका छन् । केहीले फिर्ता लाने तयारी गरिरहेका छन् । अमेरिकाले बुधबार २ सय अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई वुहानबाट फिर्ता लगेको छ । उसले थप मानिस फिर्ता लाने तयारी गरिरहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार वुहानमा बाँकी रहेका अमेरिकी नागरिकलाई फेब्रुअरी ३ भित्र फिर्ता लगिनेछ ।

चीनले २ दिनमै बनायो 'कोरोना भाइरस अस्पताल'

दक्षिण कोरिया र बेलायतले आफ्ना नागरिक फिर्ता लाने तयारी गरे पनि चीनबाट अनुमति प्राप्त नगरेका कारण केही ढिला भएको छ । बीबीसीका अनुसार जापानले विशेष विमानमार्फत बुधबार आफ्ना नागरिकलाई राजधानी टोकियो ओरालेको छ । अधिकारीका अनुसार थप ६ सय ५० जना जापान फर्कन चाहेकाले उनीहरूलाई ल्याउने तयारी भइरहेको छ । मलेसियाले पनि वुहानस्थित आफ्ना नागरिकलाई फर्काउने तयारी गरिरहेको जनाएको छ ।

अमेरिकामा टास्क फोर्स

वुहानबाट अमेरिकी नागरिक फर्काउने प्रक्रिया सुरु भएसँगै ट्रम्प प्रशासनले कोरोना भाइरस टास्क फोर्सगठन गरेको छ । तीव्र गतिमा फैलिरहेको भाइरसबाट अमेरिकालाई जोगाउन र निरीक्षण गर्न विशेष फोर्सको सुरुवात गरिएको हो ।

बुधबार राति घोषणा गरिएको टास्क फोर्समा १२ जना सदस्य रहने छन् । समूहको नेतृत्व अमेरिकी स्वास्थ्य सेवामन्त्री एलेक्स अजरलाई दिइएको छ । अमेरिकी नागरिकलाई भाइरसबारे पछिल्लो स्वास्थ्य र यात्राको जानकारी दिने जिम्मेवारी उक्त फोर्सलाई तोकिएको छ ।

कडा निगरानीमा राखिने

बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, सिंगापुर र न्युजिल्यान्डले वुहानबाट फिर्ता जाने सबैलाई कम्तीमा दुई साता प्रत्यक्ष निगरानीमा राख्ने जनाएको छ । देशमा थप संक्रमण फैलन नदिन उनीहरूलाई प्रत्यक्ष निगरानीमा राख्न लागिएको ती देशका अधिकारीले बताएका छन् । अस्ट्रेलियाले वुहानबाट फर्काइएका आफ्ना नागरिकलाई मुख्य भूमिबाट करिब २ हजार किलोमिटर पर रहेको क्रिसमस टापुस्थित एउटा केन्द्रमा राखेर निरीक्षण गर्ने भएको छ । सिंगापुरले मुख्य भूमिबाट उत्तरपूर्वमा पर्ने पुलाउ उबिनमा निगरानी सुविधा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

कोरोना भाइरस : वुहानबाट विभिन्न देशले आफ्ना नागरिकको उद्धार गर्न सुरु गरे

अमेरिकाले बुधबार फिर्ता लगेका मानिसलाई क्यालिफोर्नियास्थित सैन्य शिविरमा कडा निगरानीमा राखेको छ । उनीहरूलाई कम्तीमा दुई साता त्यहाँ राखिने अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् । जापानले पनि वुहानबाट फर्किएका नागरिकलाई विशेष निगरानीमा राखेको छ । यसैबीच, ओलम्पिकको छनोट चरणको खेलका लागि अस्ट्रेलिया पुगेको चिनियाँ राष्ट्रिय महिला फुटबल टोलीलाई कडा स्वास्थ्य जाँचपछि अलग्गै राखिएको छ । अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार ३२ सदस्यीय टोलीलाई फेब्रुअरी ५ सम्म ब्रिसबेनस्थित होटलमा राखिनेछ ।

भारत र यूएईमा पनि संक्रमण पुष्टि

भारतले वुहानमा अध्ययनरत दक्षिणी राज्य केरलाका एक विद्यार्थीमा भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । खाडी राष्ट्र संयुक्त अरब इमरेट्स (यूएई) मा पनि नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । स्वास्थ्य अधिकारीका अनुसार चीनको वुहानबाट फर्किएका व्यक्तिमा भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । फिलिपिनसमा पनि दुई जनामा संक्रमण देखिएको छ ।

दुष्ट भाइरसलाई पराजित गर्छौं

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन दुष्ट भाइरस (नोवेल कोरोना) सँग लडिरहेको जनाउँदै आफ्नो देशले जित्नेमा विश्वस्त रहेको बताएका छन् । चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस एड्हानम घेब्रेयसुससँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले कोरोना भाइरसको संक्रमण थप फैलन नदिन आफ्नो निर्देशनमा काम भइरहेको जनाए । यो महामारी फैल्याउने दुष्ट भाइरसलाई हामीले लुक्न दिने छैनौं,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै

घेब्रेयसुसले बताए । भेटमा सीले भाइरस संक्रमितबारे पारदर्शी रूपमा समयसमयमा सूचना दिइने बताए । यसअघि वुहान सहरका मेयरले संक्रमितको अवस्थाबारे सूचना सार्वजनिक नगरिएको बताएका थिए ।

विमान सेवा बन्द

बेलायती राष्ट्रिय ध्वजाबाहक ब्रिटिस एयरवेजले चीनमा गर्दै आएका सबै उडान तत्कालका लागि स्थगित गरेको जनाएको छ । युनाइटेड एयरलाइन्स, क्याथे प्यासिफिक र लायन एयरले पनि उडान स्थगित गरेका छन् ।

कहाँ कति संक्रमित ?

चीन - २१३ मृत्यु, ९६९२ संक्रमित

थाइल्यान्ड - १४ जना संक्रमित

हङकङ - १२ जना संक्रमित

जापान - ११ जना संक्रमित

सिंगापुर - १० जना संक्रमित

अस्ट्रेलिया, ताइवान - ९/९ जना संक्रमित

मलेसिया, मकाओ - ७/७ जना संक्रमित

अमेरिका, फ्रान्स, दक्षिण कोरिया - / जना संक्रमित

जर्मनी, यूएई - ४/४ जना संक्रमित

भियतनाम, क्यानडा इटाली - २/२ जना संक्रमित

नेपाल, कम्बोडिया, श्रीलंका, फिनल्यान्ड, फिलिपिन्स, भारत - १/१ जना संक्रमित

कोरोना भाइरस के हो? कसरी जोगिने ?

प्रकाशित : माघ १७, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?