कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाको एसपीपी प्रस्तावबारे परराष्ट्रमन्त्रीले भने - सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताएका छन् । अमेरिकी जर्नेलको नेपाल भ्रमणका क्रममा आएको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) प्रस्ताव सम्बन्धमा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।

अमेरिकाको एसपीपी प्रस्तावबारे परराष्ट्रमन्त्रीले भने - सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन

प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री खड्काले अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए. फ्लिनको नेपाल भ्रमणका क्रममा एसपीपीमा हस्ताक्षर अर्थात् अमेरिकी सैन्य गठबन्धन गर्ने विषय हल्लामात्रै भएको दाबी गरे ।

उनले कांग्रेस नेतृत्वको सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताए । ‘अमेरिकाका जर्नेलको नेपालको भ्रमण र उहाँको भेटघाट यो कहीं अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई लाने प्रस्ताव हो कि, भन्ने १० बुँदे केही पत्रपत्रिकाले लेखेका छन् । स्टेट पार्टनरसीपअन्तर्गत हिजोको दिनमा एमसीसी आइरहँदा हामीले इन्डो-प्यासिफिकका कुरा गर्‍यौं । यसमा कुनै गठबन्धनमा सहभागी हुने कुरा भएको छैन । सैन्य गठबन्धनमा फस्न लाग्यो नेपाल भन्ने बाहिर आएको छ । त्यो होइन,' उनले भने, 'कांग्रेस नेतृत्वको सरकार स्वाभीमानी, राष्ट्रवादी र देशभक्ति रहेको छ । विगतमा प्रधानमन्त्री, राष्ट्रपतिको भ्रमण हुँदा कुरा उठेनन् । कहिले काहीं यस्ता विषय उठाइने गरिएको छ । तर संसद्मा‌ म पूर्ण विश्वासकासाथ निवदेन गर्न चाहन्छु । स्वाभीमानी, राष्ट्रवादी र मुलुकको हितमा काम गर्ने सरकारले कुनै खालका सैन्य गठबन्धनमा जाँदैन । आवश्यकता छैन ।'

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कुनै पनि सैन्य गठबन्धनमा जान आवश्यकता नरहेको उनले बताए । उनले भने, 'के को लागि टाढाको देशले कुन हवाई मार्ग प्रयोग गरेर कुन दिशा प्रयोग गर्छ । हामी पत्रपत्रिकाको हल्लाको पछि नजाऔं ।’

परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका थिए । दुई पक्षको सम्बन्धलाई थप मजबुत बनाउन, आपसी सम्बन्धलाई गति प्रदान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनका लागि दुई देशको भ्रमण तथा छलफल अपरिहार्य रहेको उनले दाबी गरे ।

प्रकाशित : जेष्ठ ३१, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?