१० दिनपछि आर्टेमिस-२ को टोली सुरक्षित रूपमा पृथ्वी फर्कियो

आफ्नो १०-दिने मिसन सफलतापूर्वक पूरा गर्दै आर्टेमिस–२ को टोली शनिबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगो नजिकको प्रशान्त महासागरमा अवतरण गरेको हो।

चैत्र २८, २०८२

कान्तिपुर संवाददाता

The Artemis-2 crew returned safely to Earth after 10 days.

What you should know

काठमाडौँ — अमेरिकी अन्तरिक्ष यान आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरू सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्।

आफ्नो १०-दिने मिसन सफलतापूर्वक पूरा गर्दै आर्टेमिस–२ को टोली शनिबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगो नजिकको प्रशान्त महासागरमा अवतरण गरेको हो।

टोलीले वायुमण्डलमा पुनः प्रवेश गर्नुअघि ६ मिनेटको सञ्चार अवरोध खेपेको थियो। अवतरणपछि उक्त मिसनका कमान्डर रीड वाइजम्यानले आफ्नो टोली स्वस्थ रहेको बताए।


यात्राका क्रममा आर्टेमिस–२ टोलीले चन्द्रमाको अर्को पाटोलाई करिब ६ हजार किलोमिटर नजिकबाट प्रत्यक्ष अवलोकन गरेको थियो।

बिहीबार अमेरिकी वैज्ञानिक अनुसन्धान संस्था नासाको ‘आर्टेमिस दोस्रो मिसन’ अन्तर्गत फ्लोरिडाबाट चार जना अन्तरिक्ष यात्री अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए। ५४ वर्षपछि मानिसहरू चन्द्रमाको वरिपरि पुगेका हुन्।

यस पटक उनीहरूले मानव जाति पृथ्वीबाट सबैभन्दा टाढा पुगेको नयाँ कीर्तिमान पनि कायम गरे। चन्द्रमाको अँध्यारो र अत्यधिक चिसो दक्षिणी ध्रुवीय क्षेत्र (फार साइड अफ द मुन) मा पुग्दा आर्टेमिस–२ चन्द्र अभियानको पृथ्वीसँग पूर्ण रूपमा सम्पर्क टुटेको थियो।

यस अभियानको प्रत्यक्ष प्रसारण झन्डै १.२ अर्ब व्यक्तिले हेरेको प्रारम्भिक अनुमान गरिएको छ। तथापि, नासाकै विभिन्न प्लेटफर्म र अन्य माध्यमबाट पनि प्रसारण भएकाले तथ्यांक अझै एकीकृत भइसकेको छैन।

नासाको वेबसाइटका साथै युट्युब, फेसबुक, एक्स, नेटफ्लिक्स र डिज्नी जस्ता प्लेटफर्मबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो। झन्डै ४ लाख किलोमिटर टाढाबाट गरिएको यो लाइभ प्रसारण फोर–के गुणस्तरमा उपलब्ध थियो।

आर्टेमिस–२ चन्द्र सतह नजिक पुगेको र अपोलो–१३ ले राखेको कीर्तिमानी दूरी पार गरेको क्षणलाई नासाको एक्समा मात्रै झन्डै १ करोड दर्शकले प्रत्यक्ष हेरेका थिए।

यसअघि अपोलो–११ मार्फत नील आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा पहिलो पटक पाइला टेक्दा झन्डै ६५ करोड व्यक्तिले प्रत्यक्ष हेरेको अनुमान गरिन्छ।

कान्तिपुर

Link copied successfully