५४ वर्षपछि फेरि चन्द्र यात्रामा मानव

नासासहित विभिन्न देशको सहकार्यमा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट बिहीबार चार अन्तरिक्ष यात्रुसहित रकेट प्रक्षेपण

चैत्र २०, २०८२

सजना बराल

Humans return to the moon after 54 years

काठमाडौँ — चन्द्रमाको सतहमा मानव पाइला परेको झन्डै ५४ वर्षपछि अन्तरिक्ष यात्री पुनः चन्द्रमाको यात्रामा निस्किएका छन् । सन् १९७२ को ‘अपोलो १७’ मिसनपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष एजेन्सी नासासहित विभिन्न देशको सहकार्यमा, बिहीबार बिहान ४ बजे (नेपाली समयअनुसार) फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट चार अन्तरिक्ष यात्रुसहित रकेट प्रक्षेपण गरिएको छ । 

‘आर्टेमिस दुई’ नाम दिइएको यो अभियान करिब १० दिनको यात्रा हुनेछ । यसमा पहिलो महिला, अश्वेत र गैरअमेरिकी (क्यानडेली) अन्तरिक्ष यात्री सहभागी छन् । उनीहरूले चन्द्रमाको सतहभन्दा ७४०० किमि माथिबाट परिक्रमा गर्नेछन् । करिब ८/९ लाख किलोमिटर दूरी तय गर्दै चन्द्रमाको वरिपरि घुमेर उनीहरू पुनः पृथ्वीमा फर्किनेछन् । यस पटकको यात्रा अन्वेषणका लागि मात्रै नभएर दीर्घकालीन रूपमा चन्द्रमामा मानव उपस्थिति स्थापना गर्ने लक्ष्यसहित अघि बढाइएको छ । 

पृथ्वीबाट चन्द्रमासम्म पुग्न झन्डै ३ देखि ४ दिन लाग्छ । एक महिनायता मौसम र अन्य प्राविधिक कारणले स्थगित हुँदै आएको लगभग २४ अर्ब अमेरिकी डलर लागतको यो मिसनमा यात्रुहरू चन्द्रमाको सतहमा भने उत्रने छैनन् । यो अभियानमा नासाको शक्तिशाली स्पेस लन्च सिस्टम (एसएलएस) रकेट प्रयोग गरिएको छ । यसले ओरियन अन्तरिक्ष यानलाई अन्तरिक्षसम्म पुर्‍याउनेछ । 

ओरियनले मानव इतिहासमा अहिलेसम्मकै सबैभन्दा टाढासम्मको दूरी पार गर्न लागेको हो । अभियानका क्रममा यात्रीहरूले विभिन्न नयाँ प्रविधि, उपकरण र प्रणालीको परीक्षणसँगै म्यानुअल नियन्त्रण अभ्यास तथा अन्तरिक्ष यानको कार्यक्षमतासम्बन्धी विभिन्न मूल्याङ्कनहरू गर्ने नासाले जनाएको छ । 

पृथ्वीमा फर्किंदा यो अन्तरिक्ष यान करिब ४० हजार किलोमिटर प्रतिघण्टा वेगमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नेछ । त्यो बेला यस यानको ताप प्रतिरोधी कवचको परीक्षण र पुनः प्रयोगको सम्भाव्यता लेखाजोखा पनि हुनेछ । 

नासाका अधिकारीहरूले यस अभियानलाई विगतको अन्वेषण र भविष्यको स्थायी बसोबासतर्फको महत्त्वपूर्ण पुलका रूपमा व्याख्या गरेका छन् । नासाका प्रशासक बिल नेल्सनले यसलाई अन्वेषणको नयाँ युगको सुरुवात भन्दै अन्तर्राष्ट्रिय सहकार्य र निजी क्षेत्रको सहभागितालाई महत्त्व दिएका छन् । सन् १९६० र ७० को दशकका एपोलो अभियानहरू मुख्यतः छोटो अवधिका चन्द्र अवतरण र भूराजनीतिक प्रतिस्पर्धामा केन्द्रित थिए भने आर्टेमिस कार्यक्रम दीर्घकालीन पूर्वाधार निर्माणतर्फ उन्मुख छ । यसमा अमेरिकीसँगै क्यानडेली र युरोपेली अन्तरिक्ष एजेन्सी संलग्न छन् । निजी क्षेत्रबाट स्पेसएक्स र ब्लु ओरिजिनको साझेदारी छ । 

भविष्यमा लुनार गेट–वे अन्तरिक्ष स्टेसन र चन्द्र सतहमा बसोबासयोग्य संरचना निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो । गत साता मात्रै नासाले करिब २० अर्ब डलर लगानी गर्दै चन्द्रमाको सतहमा दीर्घकालीन मानव उपस्थिति खडा गर्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको थियो । यसमा ह्वाइटहाउस अर्थात् राष्ट्रपति कार्यालयले समेत ‘अमेरिकाले अब कहिल्यै पनि चन्द्र यात्रामा हार मान्ने छैन’ भन्ने सन्देशसहित विशेष समर्थन जाहेर गरेको छ । 

‘यो चन्द्र सतहमा स्थायी मानव उपस्थिति निर्माण गर्ने विषय हो,’ नासाका प्रशासक नेल्सनले वक्तव्यमा भनेका छन्, ‘हामी अब चन्द्रमाको भ्रमण मात्र गर्ने छैनौं, त्यहाँ दीर्घकालिन बसोबासको तयारी पनि गरिरहेका छौं ।’ चन्द्रमासम्मको यात्रा, आधार शिविर निर्माण र सञ्चालनसँगै दीर्घकालीन लागत र समयसीमा घटाउन निजी साझेदारहरूले प्रमुख भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

यो अभियानको महत्त्व पुग्ने र फर्किनेमा मात्र सीमित छैन । वैज्ञानिकहरूका लागि मंगल ग्रह वा त्योभन्दा परको गन्तव्यका लागि चन्द्रमा आधार स्थलका रूपमा सोचिएको छ । त्यहाँ दीर्घकालीन बसोबास, स्रोत उपयोग र स्वायत्त प्रविधिहरू परीक्षण गरिनेछ । आर्टेमिस कार्यक्रमले अन्तरिक्ष अर्थतन्त्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ । 

यसमा चन्द्रमाका प्राकृतिक स्रोत उत्खननदेखि अन्तरिक्षमा उत्पादनसम्मका योजना समावेश छन् । तर, यसको लागत उच्च छ, नासाका अनुसार पूरा आर्टेमिस अभियानको कुल खर्च ९० अर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

सन् १९६९ देखि १९७२ सम्म नासाका १७ वटा एपोलो अभियानमध्ये ६ यानले १२ अन्तरिक्ष यात्रीलाई सफलतापूर्वक चन्द्रमामा अवतरण गराएका थिए । तथापि, दीर्घकालीन संरचना स्थापना गर्ने वा मानव बसोबास नै सम्भव गराउनेतर्फ त्यो बेला कसैले सोचेको थिएन । 

अहिलेको नयाँ योजनाले अन्तरिक्षमा अब्बल हुने होडलाई पुनः मूलधारमा फर्काएको छ । यसमा चीनले पनि चन्द्र अभियान र आधार निर्माण योजनाहरू अघि बढाइसकेको छ । चीनले सन् २०३० सम्ममा मानव सहितको यान चन्द्र सतहमा उतार्ने र २०३५ सम्म दीर्घकालीन आधार शिविर निर्माण गर्ने योजना अघि सारेको छ । यही सदर्भमा नासाको संयुक्त अनुसन्धान केन्द्र स्थापनाको प्रस्ताव आएको हो ।

आर्टेमिस दुई अभियानमा सबै योजनाअनुसार काम भए, अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा पूरा गरी यात्राको दसौं दिन, प्रशान्त महासागरमा अवतरण गर्नेछन् । त्यसपछि अर्को महत्त्वपूर्ण चरण आर्टेमिस–३ हुनेछ । त्यसले यस दशकभित्रै अर्थात् सन् २०३० सम्ममा चन्द्र सतहमा मानव अवतरण गराउने लक्ष्य राखेको छ । (एजेन्सीको सहयोगमा) 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully