मानवसहित अहिलेसम्म सबैभन्दा टाढाको यात्रा गर्ने यानको रेकर्ड आर्टेमिस २ ले बनाएको छ ।
काठमाडौँ — नासाको आर्टेमिस–२ का चार अन्तरिक्ष यात्री पृथ्वीबाट टाढा त्यो दूरीमा पुगेका छन्, जहाँ आजसम्म कुनै मानिस पुग्न सकेका थिएनन् ।
ओरियन स्पेसक्राफ्टले पृथ्वीबाट आफ्नो सबैभन्दा लामो दूरी तय गरेको छ । मानवसहित अहिलेसम्म सबैभन्दा टाढाको यात्रा गर्ने यानको रेकर्ड आर्टेमिस २ ले बनाएको छ ।
नासाका अनुसार यो दूरी २ लाख ५२ हजार ७५६ माइल अर्थात् ४ लाख ६ हजार ७७१ किलोमिटर रहेको छ । पछिल्लो रेकर्ड सन् १९७० मा अपोलो १३ ले मानवयात्रीसहित सबैभन्दा टाढाको दूरी तय गर्दा बनेको थियो ।
५० वर्षभन्दा धेरै पछि चन्द्रमालाई लिएर हालको मिसन सुरु भएको थियो । आर्टेमिस २ मिसनको रकेट फ्लोरिडाको केप केनावेरलस्थित केनेडी सेन्टरबाट उडान भरेको थियो ।
यो मिसन १ अप्रिलबाट सुरु भएको हो । १० दिनको यो मिसनमा अन्तरिक्ष यात्री चन्द्रमाको सतहमा भने उत्रिने छैनन् । उनीहरु चन्द्रमाको अर्बिटमा चक्कर लगाउनेछन् ।
