चन्द्रमाको फन्को लगाएर फर्किंदै अन्तरिक्ष यात्री

चार जना अन्तरिक्ष यात्री बोकेको आर्टेमिस–२ चन्द्रमाको परिक्रमा गरेर पृथ्वीतर्फ फर्किएको छ ।

चैत्र २५, २०८२

सजना बराल

Astronaut returning from the moon landing

What you should know

काठमाडौँ — चार जना अन्तरिक्ष यात्री बोकेको आर्टेमिस–२ चन्द्रमाको परिक्रमा गरेर पृथ्वीतर्फ फर्किएको छ । नेपाली समयअनुसार मंगलबार बिहान चार अन्तरिक्ष यात्रीले चन्द्रमाको फन्को लगाए । यस पटक उनीहरूले मानव जाति पृथ्वीबाट  सबैभन्दा टाढा पुगेको नयाँ कीर्तिमानी पनि राखे । अन्धकार र अधिक चिसो रहने चन्द्रमाको दक्षिणी ध्रुव (फार साइड अफ द मुन) मा पुग्दा आर्टेमिस–२ चन्द्र अभियानको पृथ्वीसँग पूर्ण रूपमा सम्पर्क टुटेको थियो । 

यस अभियानको प्रत्यक्ष प्रसारण झन्डै १.२ अर्ब व्यक्तिले हेरेको प्रारम्भिक अनुमान गरिएको छ, तथापि नासाकै विभिन्न प्लाटफर्म र अन्यबाट पनि प्रसारण भएकाले तथ्यांक एकीकृत भइसकेको छैन । नासाको वेबसाइट र अन्य प्लाटफर्म, युट्युब, फेसबुक, एक्ससँगै नेटफ्लिक्स र डिज्नीबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । झन्डै ४ लाख किलोमिटर परको दूरीबाट लाइभ गरिएको यो अभियान फोर–के गुणस्तरमा उपलब्ध थियो ।

आर्टेमिस–२ चन्द्र सतहको नजिक पुगेको र अपोलो–१३ ले राखेको कीर्तिमानी दूरी पार गरेको क्षणलाई नासाको एक्समा मात्रै झन्डै १ करोड व्यक्तिहरूले प्रत्यक्ष हेरेका थिए । यसअघि अपोलो–११ यानमार्फत नील आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमाको सतहमा पहिलो पटक मानव पाइला टेक्दाको क्षणलाई लगभग ६५ करोड व्यक्तिले प्रत्यक्ष हेरेको अनुमान गरिन्छ ।

सन् १९६९ मा विश्वका २० प्रतिशतले त्यो क्षण टेलिभिजनमा हेरेको विभिन्न पुस्तकहरूमा लेखिएको छ । अन्तरिक्ष यात्रीहरू करिब ४० मिनेट सम्पर्कविहीन हुँदा पनि नासाले प्रत्यक्ष प्रसारण जारी राखेको थियो । त्यो बेला नासाको आधिकारिक च्यानल र विभिन्न सामाजिक सञ्जाल प्लाटफर्ममा १ करोडभन्दा धेरै दर्शक जोडिएका थिए । तीमध्ये कैयौंको नाम ओरियन यानमा लगिएको एसडी कार्डमार्फत चन्द्रमाको परिक्रमा गर्दै थियो । सम्पर्क टुट्नु कुनै प्राविधिक गडबडी भने थिएन, त्यो अपेक्षित ‘ब्ल्याकआउट’ थियो ।

पछाडिको भागमा पुग्दा चन्द्रमाले अन्तरिक्ष यान र पृथ्वीबीचको रेडियो सिग्नल अवरुद्ध पार्ने हुँदा सम्पर्क टुटेको थियो । उक्त ‘ब्ल्याकआउट’ अपेक्षित भए पनि चन्द्रमाको पछाडिबाट यान सुरक्षित निस्किन्छ कि निस्किँदैन भन्ने कुरा प्राविधिक हिसाबले संवेदनशील मानिन्छ । चन्द्रमालाई फन्को लगाएर अन्तरिक्षयात्रीहरू पुनः सम्पर्कमा आउँदा नासाको ह्युस्टनस्थित मिसन कन्ट्रोल रुम र लाइभ हेरिरहेका दर्शकले उत्साह प्रकट गरेका थिए ।

पृथ्वीसँग पुनः सम्पर्कमा आउन पाउँदा उत्साहित महसुस भएको अन्तरिक्षयात्री क्रिस्टिना कोचले बताएकी थिइन् । ‘हामी भविष्यमा थप अन्वेषण गर्नेछौं, नयाँ यानहरू बनाउनेछौं र फेरि भ्रमणमा निस्किनेछौं,’ उनले भनेकी थिइन्, ‘तर, अन्त्यमा हामी सधैं पृथ्वीलाई नै रोज्नेछौं, हामी एक–अर्कालाई रोज्नेछौं ।’  चन्द्रमाको सफलतापूर्वक फन्को मारेर पृथ्वीतर्फको चारदिने यात्रा सुरू गर्नुअघि अन्तरिक्षयात्रीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नासाका प्रशासक ज्यारेड आइज्याकम्यानसँग प्रत्यक्ष कुराकानी गरेका थिए । ट्रम्पले आर्टेमिस–२ मिसनका ४ अन्तरिक्षयात्रीलाई ‘आधुनिक युगका अगुवा अन्वेषक’ भएकोमा बधाई दिए । ‘आर्टेमिस–२ मा रहनुभएका सबैजनालाई म विशेष हेलो भन्न चाहन्छु, आज तपाईंहरूले सारा अमेरिकालाई गौरवान्वित बनाउनुभएको छ,’ ट्रम्पले भने, ‘अमेरिका अन्तरिक्षको खोजी र अन्वेषणको विषयमा कहिल्यै पनि पछि पर्ने छैन । हाम्रो यात्रा चन्द्रमा मात्र नभएर त्योभन्दा धेरै परसम्म पुग्ने क्रमको सुरुवात हो ।’

यात्राका क्रममा आर्टेमिस–२ टोलीले चन्द्रमाको अर्को छेउलाई लगभग ६ हजार किमिभन्दा नजिकबाट प्रत्यक्ष अवलोकन गरे । पृथ्वीसँग एउटै दिशामा मात्र फर्किने गरी गुरुत्त्वाकर्षणले जोडिएको हुँदा चन्द्रमाको त्यो भाग कहिल्यै पनि पृथ्वीबाट देखिँदैन । यसलाई रहस्यमय क्षेत्र पनि मानिन्छ । यसअघिका मानवसहितका सबै यान चन्द्रमाको पृथ्वीतिर फर्किएको भागमा अवतरण गर्ने गरेका थिए । आर्टेमिस–२ अन्तरिक्ष यात्रीहरूले ‘अर्थ राइज’ भनिने चन्द्रमाको सतहमा पृथ्वी उदाउँदाको क्षण र चन्द्रमाको सतहबाट देखिने सूर्य ग्रहण पनि अवलोकन गरे । यो अभियानले ५६ वर्ष पुरानो अपोलो–१३ को रेकर्ड तोडेको छ ।

अन्तरिक्षयात्रीहरू पृथ्वीबाट ४ लाख ६ हजार किलोमिटर टाढा पुगेका छन् । मानव जाति अहिलेसम्म पुगेको सबैभन्दा टाढाको बिन्दु हो यो ।  यस अभियानमा अन्तरिक्षयात्रीहरूले दुर्लभ तस्बिर र दृश्यहरू खिचेका छन् । चन्द्रमाले सूर्यलाई छेकेर पृथ्वीको केही भागमा छाया परेको क्षणदेखि अन्तरिक्षबाट अफ्रिकी महादेश देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल छन् ।

आर्टेमिस–२ मंगलबार रातभरमा चन्द्रमाको प्रभाव क्षेत्र छोडेर पृथ्वीको प्रभाव क्षेत्रतर्फ आइपुग्नेछ । फर्किने बेला अन्तरिक्षयात्रीहरूले एक दिनका लागि आराम गर्न पाउने नासाले जनाएको छ । अमेरिकी स्थानीय समयअनुसार शुक्रबार साँझ (नेपाली समयअनुसार शनिबार बिहान) अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगो छेउको प्रशान्त महासागरमा ओरियन यान उत्रने कार्यक्रम छ । 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully