फ्लोरिडाबाट लन्च गरिएको ओरिअन क्याप्सुल नाम अत्याधुनिक यानमा रीड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोच, क्यानेडियन अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन छन् ।
काठमाडौँ — अमेरिकी वैज्ञानिक अनुसन्धान संस्था नासाको ‘आर्टेमस सेकेन्ड मिसन’ अन्तर्गत फ्लोरिडाबाट चारजना वैज्ञानिक अन्तरिक्षतर्फ प्रस्थान गरेका छन् । चन्द्रमा आसपास ५४ वर्षपछि मानिसहरु पुग्न लागेका हुन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समय अनुसार बुधबार साँझ ६:३५ बजे (नेपाली समयअनुसार बिहिबार बिहान साढे ४ बजे) आर्टेमिस-२ अभियान सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसले झण्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाएको छ ।
फ्लोरिडाबाट लन्च गरिएको ओरिअन क्याप्सुल नाम अत्याधुनिक यानमा रीड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोच, क्यानेडियन अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन छन् ।
मिशन सफल भएपछि ह्यान्सन चन्द्रमा आसपास पुग्ने पहिलो क्यानेडेली बन्नेछन् । यो यान आगामी २४ घण्टासम्म पृथ्वीको कक्ष आसपास नै रहनेछ । यसक्रममा वैज्ञानिकहरुले चन्द्रमाको अवस्था नियाल्नेछन् र जानु ठिक भएपछि मात्रै जाने छन् ।
मिशनका सदस्य सुरक्षित र उच्च मनोबलमा रहेको नासाले जनाएको छ ।
यस यात्राको पूर्ण अवधि १० दिनको छ । यसक्रममा सुरुमा उनीहरू पृथ्वीको नजिकै घुम्छन् र अवस्था नियाल्छन् । अवस्था ठिक देखिएपछि ठूलो इन्जिन चलाएर चन्द्रमातिर जान्छन् । यसलाई “ट्रान्स–लुनार इन्जेक्सन” भनिन्छ, जसले यानलाई ठूलो धक्कासहित पृथ्वीबाट टाढा धकेल्छ ।
केही मिनेटसम्म यान धेरै छिटो अगाडि बढ्छ । त्यसपछि पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षणले यानलाई घुमाएर फेरि पृथ्वीमै फर्काउनुपर्ने अवस्था पनि आउनसक्छ । यदि बीचमा समस्या आयो भने, उनीहरू त्यही बाटो हुँदै सुरक्षित रूपमा फर्किन सक्छन् ।
चन्द्रमाको कक्ष पुग्न करिब ४ दिन लाग्छ । त्यो समयमा अन्तरिक्ष यात्रीहरूले अभ्यास गर्छन्, सुरक्षा अभ्यास गर्छन् । यसमा सूर्यबाट खतरनाक विकिरण आयो भने कसरी जोगिने भन्नेजस्ता विषय छन् ।
पृथ्वीबाट सबैभन्दा टाढा जाँदा उनीहरू पृथ्वीबाट करिब २३०,००० माइल टाढा पुग्छन् र चन्द्रमालाई यानमार्फत नजिकबाट अवलोकन गर्छन् । त्यसपछि यानले सानो–सानो इन्जिन चलाएर फर्कने बाटो मिलाउँछ ।
फेरि करिब ४ दिनपछि यान पृथ्वीमा फर्किन्छ । फर्कने क्रममा पृथ्वीको वायुमण्डलमा छिर्दा यान धेरै तातो हुन्छ । पछि प्यारासुट खुल्छ र यान बिस्तारै समुद्रमा झर्छ । जहाँ अमेरिकी जलसेनाका सदस्यले यात्रुहरुलाई स्वागत गर्छन् ।
यसअघि पछिल्लोपटक १९७२ चन्द्रमामा एपोलो मिशन १७ यान पुगेको थियो । यस यानमा रहेकामध्ये युजिन कोर्नान र ह्यारिसन समिटले चन्द्रमाको सतहमै पाइला टेकेको थिए । रोनाल्ड इभान्सले यानबाटै चन्द्रमालाई नियाले । चन्द्रमामा अहिलेसम्म १२ जना वैज्ञानिकले मात्रै पाइला टेकेका छन् । जुन १९६९ मा पहिलोपटक निल आर्मस्ट्रंगले पाइला राखेका थिए ।
अहिलेको मिशन चन्द्रमाको कक्ष आसपास नजिकबाट घुम्नेछ । तर वैज्ञानिकहरुले पाइला राख्नेछैनन् । अहिलेको सुरक्षा परीक्षण मिशन सफल भएमा नासाले अर्टेमस थर्ड मिशन गर्नेछ । यसका सदस्यले चन्द्रमामा पाइला राख्ने अवसर पाउनेछन् ।
