करिब ५५ वर्षपछि नासाले आर्टेमिस अभियानमार्फत् मानवलाई पुनः चन्द्रमामा पठाउँदै छ । करिब २० अर्ब डलर लगानीसहित चन्द्रमामा दीर्घकालीन बसोबास खडा गर्ने र चन्द्रमालाई आधार बनाएर अन्तत: मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य राखिएको छ ।
What you should know
काठमाडौँ — जाडो, चिसो, ठन्डी, माइनस भन्ने चिज मलाई खासै मन पर्दैन । चिसो पेय/परिकार खान र चिसो ठाउँमा जान पनि त्यति जाँगर चल्दैन । हिमाली देशमा जन्मिएर अहिलेसम्म कुनै हिमालको छेउछाउ वा फेदसम्म पुगेको छैन, चढ्ने त कुरै नगरौँ ! मार्दी हिमाल पदयात्रामा जाँदा साथीहरू आधार शिविरसम्म पुग्न उत्सुक थिए, मैले नै भाँडेर तलैबाट फर्काएँ । चिप्लेर लडिन्छ, कसैले उद्दार गर्दैन, वर्षौँसम्म बरफ बनेर बस्नुपर्ने हुनसक्छ, हिउँ चितुवाले भेट्यो भने…अनेक बकवास र त्रास फैलाइयो ! साथीहरू मेरो लागि तर्सिदिए । तर, मूल कारण थियो, चिसो । मलाई बादल डाँडामै जाडो भइसकेको हुनाले हाई क्याम्पभन्दा माथि पुगेर थप माइनस अनुभव गर्नु थिएन ।
यता जाडो सकिएर गर्मी मौसम आउनै लाग्दा, फागुन अन्तिम साता संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने मौका मिल्यो । आफू परियो सिधा-सिधा ढोगीँ ! ‘जाडो छ, अमेरिका जान्नँ’ भन्ने कुरा आएन ! त्यहाँ पुग्दा वासिङ्टन डीसीको मौसम माइनसमा झर्न ठीक्क परेको थियो । अमेरिका पुगेर पनि जाडोकै गनगन गर्न त भएन, चुप लाग्ने निकै कोशिस गरेँ ।
तर, बेला-बेला मुखबाट फ्याट्ट निस्किहाल्थ्यो-‘कस्तो चिसो, कस्तो चिसो ।’ मैले निकै ठसठस गरेको देखेपछि अफगानी मुलका अमेरिकी नागरिक एवं हाम्रो भ्रमणभरका सहजकर्ता फारुकले मलाई जिस्काउँदै भने, ‘मलेसिया, इन्डोनेसिया वा बंगलादेशका साथीहरूले आच्छु, आच्छु भन्न सुहाऊला, तिमी हिमाली देशको मान्छे, यसरी काँप्नु भएन है ।’
उनले त्यसो भने पनि न्यून तापक्रम र चिसो हावा थामिसक्नु थिएन, मेरो गनगन रोकिएन । बाहिर फुरफुर हिउँ परेको छ, हुस्सुले शहर डम्म ढाकेको छ, अमेरिकीहरू आइस हालेको कोकाकोला पिउँदै मक्ख परेर हिँडेको देख्दा अन्नपूर्ण पोस्टकी समाचार संयोजक रामकला खड्का दिदी अनौठो मान्नु हुन्थ्यो ।
‘उनीहरूलाई कस्तो जाडो नभएको,’ उहाँ भन्नु हुन्थ्यो, ‘यस्तो चिसो कोक खाएर घाँटी दुख्दैन होला ?’ साह्रै जायज प्रश्न ! यसरी ‘चिसो बुझ्ने’ मानिस भेट्दा मलाई खूब आनन्द आयो । मैले अमेरिकाभर जहाँ जाँदा पनि आफूसँग भएको सबैभन्दा मोटो, कालो ज्याकेट लगाउन कहिल्यै छोडिनँ । अहिले आएर यसो फोटो हेर्छु, सबैमा एउटै लुगा पो ! सोसल मिडियामा पोस्ट गर्न पनि लाजै लाग्ने ।
अमेरिकाको चिसो यति कडा थियो, म तर्सिएर फ्लोरिडाको समुद्री किनारमा पनि बाक्लो मोजा, भुवावाला ट्राउजर र सर्टभित्र टिसर्ट लगाएर पुगेँ । स्थानीयहरू वान पिस र टु पिसमा कोही डुबुल्की मार्दै, कोही बीच भलिबलमा रमाइरहेका थिए । मलाई भने जाडो नै भयो, चिसो सिरेटो छेक्न बेलाबेला झोलाबाट गलबन्दी निकालेर टाउकोमा बेर्थेँ । म फ्लोरिडाको न्यानो घाममा टहलिरहँदा, त्यहाँबाट केही माइल पर, केनेडी स्पेस सेन्टरभित्र मानव जीवनकै एउटा ठूलो सपना, ‘आर्टेमिस २’ मर्मत र अन्तिम तयारीको चरणमा थियो । मानिसहरू पछिल्लोपटक चन्द्रमामा पुगेको झण्डै ५५ वर्षपछि आर्टेमिस अभियानमार्फत पुन: त्यहाँ जाँदै छन्, यसपटकको यात्रा चन्द्रमाको दक्षिणी धुव्रतिर हो, जुन अनन्त: अन्धकार र अत्यधिक चिसो छ । नेपाली समयअनुसार चैत २० को बिहान उड्ने तयारी छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा गहिरा खाडल वा क्रेटरहरू छन् । त्यहाँ सूर्यको प्रकाश पुग्न सक्दैन । यसले गर्दा त्यो भाग अँध्यारो त छ नै, तापक्रम भने माइनस २३५ डिग्री सेल्सियलसम्म झर्ने र यो सौर्य मण्डलकै सबैभन्दा चिसो ठाउँहरूमध्ये एक भएको नासाले जनाएको छ । मलाई केनेडी स्पेस सेन्टरमा जाने ठूलो रहर थियो, फ्लोरिडा पुगेपछि त्यहाँ पनि फुत्त जाऊँला भन्ने ठानेकी थिएँ । तर, अमेरिका पुगेपछि थाहा भयो, एउटै राज्यका ठाउँहरू पनि असाध्यै टाढा-टाढा हुँदा रहेछन् । म बसेको पेन्साकोला भन्ने ठाउँ फ्लोरिडाको सुदूर पश्चिममा पर्दो रहेछ, केनेडी स्पेस सेन्टर पूर्वी तटमा रहेछ । बीचमा कहीँ नरोकि गाडी चलाउँदा पनि ८ घण्टा लाग्ने !
आधा शताब्दीअघि मानिसलाई चन्द्रमामा पुर्याउने र अहिले फेरि मंगल ग्रहसम्मको यात्राका लागि तयारी गरिरहेको केनेडी स्पेस सेन्टर परैबाट भए पनि हेर्ने मेरो धोको पूरा भएन । तर, अन्तरिक्ष विज्ञान र अभियानहरूमा मेरो रुची देखेर भ्रमणका सहजकर्तामध्ये एक, उनै फारुकले मलाई वासिङ्टन डीसीको स्मिथ्सोनियन नेसनल एयर एन्ड स्पेस म्युजियम जान सल्लाह दिएका थिए ।
उक्त संग्रहालयको मुख्य ढोकाबाट भित्र छिर्नेबित्तिकै ‘माइलस्टोन्स अफ फ्लाइट’ ग्यालरीमा मानव जातिलाई पहिलोपटक चन्द्रमामा पुर्याउने ‘अपोलो ११’ यानको ‘कमान्ड मोड्युल’ देखियो । यही यानमा बसेर नील आर्मस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ मा चन्द्रमाको यात्रामा निस्किएका थिए । चन्द्रमामा ओर्लिन प्रयोग गरिएको ‘ईगल’ नामक ल्यान्डर अन्तरिक्षमै छोडिएको थियो । यो कमान्ड मोड्युल भने तीनैजना यात्रीलाई लिएर प्रशान्त महासागरमा सुरक्षित ओर्लिएको संग्रहालयको विवरणमा उल्लेख छ ।
त्यस ग्यालरीको सिलिङमा अनेक-अनेक विमान झुन्ड्याइएका थिए । ‘स्पिरिट अफ सेन्ट लुइस’ नाम दिइएको एउटा विमान त्यहीँ थियो, त्यसमै चढेर चार्ल्स लिन्डबर्ग भन्ने मानिस एक्लैले सन् १९२७ मा एटलान्टिक महासागरको यात्रा गरेका रहेछन् । सिलिङमै झुण्डिएको अर्को एउटा गोलो भूउपग्रह चाहिँ ‘टेलस्टार वान’ रहेछ । ओहो ! यसबारे त आमसञ्चारको पाठ्यक्रममा कतै पढेको हो भन्ने सम्झिएँ । यस भूउपग्रहले विश्वमा पहिलोपटक अन्तरिक्षबाट टेलिभिजन सिग्नल र फोन कलहरू आदन-प्रदान गर्न सम्भव गराएको थियो ।
मानव र अन्तरिक्ष इतिहासका पहल र सफलताहरू नियालिहरँदा म त्यस संग्रहालयको सबैभन्दा चर्चित वस्तुको खोजीमा थिएँ, जसबारे फारुकले जानकारी दिएका थिए । त्यो थियो- चन्द्रमाबाट ल्याइएको ढुंगा । सन् १९७२ मा अपोलो १७ अभियानमा चन्द्रमाको सतहमा पुगेर पुन: पृथ्वीमा फर्किएका तीन यात्रीले चन्द्रमाबाट ८ किलोको एउटा ढुंगा पृथ्वीबासीलाई कोशेली ल्याएका रहेछन् । सोही ढुंगाको एउटा सानो टुक्रो एयर एन्ड स्पेस संग्रहालयमा छ । सिसाभित्र सुरक्षित राखिएको त्यस ढुंगालाई औँला छिराएर छुन पाइने रहेछ । संग्रहालयको तथ्यांकअनुसार हालसम्म करिब ३७ करोडभन्दा धेरै मानिसले छोइसकेको सो टुक्रा अन्तत: मैले पनि छोएँ ।
चन्द्रमाको ढुंगा छुँदा मलाई सानो बेला, कुनै सुन्दर गर्मी याममा, पूर्णिमाको रात, बेलुकाको खाना खाइसकेपछि घरको कौशीमा बसेर आकाशतर्फ हेर्दै हजुरआमाले सुनाएको चन्द्र-सूर्यको कथा याद आएको थियो । आमाका अनुसार एकदिन चन्द्र र सूर्यबीच आफू दुईमध्ये को बढी राम्री भन्ने विषयमा भनाभन परेछ । निकै लामो गलफतीपछि सूर्यलाई औधी रिस उठेछ । उसले ‘इस् तँ राम्री छस्, थुक्क’ भनेर चन्द्रमालाई थुकिदिएछ । त्यही थुकको दाग चन्द्रमाको अनुहारमा अझैसम्म रहिरहेकाले ठाउँ-ठाउँमा धब्बा देखिएको हो । त्यो बेलाको बुझाइअनुसार मैले ‘त्यो त पहाड हो रे’ भन्दा आमाले पटक्कै पत्याउनु भएन, सूर्यको थुक भन्नेमै उहाँको अडान रह्यो । त्यो थुक मैले छोएको चट्टानको टुक्रोमा त परेको थिएन ? म मनमनै हासेँ ।
तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अपोलो १७ बाट ल्याइएका चट्टानका साना टुक्राहरू विश्वका १३५ वटा देश र अमेरिकाका ५० वटा राज्यहरूलाई उपहारस्वरूप दिएका थिए । नेपाललाई पनि एउटा सानो टुक्रा उपहार दिइएको थियो । त्यो हाल काठमाडौँको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा सुरक्षित राखिएको छ । त्यसलाई भने छुन पाइदैनँ । डीसीको संग्रहालयमा लाखौँ मानिसका औँलाको स्पर्शले चिल्लो र चम्किलो बनेको यो सानो टुक्राले मानिसलाई ३ लाख ८४ हजार किलोमिटर टाढाको चन्द्रमासँग सिधा जोड्ने काम गरेको अनुभव हुन्छ ।
सूचना प्रविधि र अन्तरिक्षमा चासो राख्ने मानिसलाई यो संग्रहालय र त्यहाँ भएका सामग्री एवं सूचना निकै रोचक लाग्छन् । कतिपय अन्तरिक्ष मिसनका यानहरूको पाटपूर्जा, सिंगै ल्यान्डरको दुरुस्त नमूना, अन्तरिक्ष यात्रीहरूले लगाउने स्पेस सुटदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)को झ्याल ‘विन्डो अन अर्थ’ को मोड्युलहरू त्यहाँ प्रदर्शनमा राखिएको छ । जेफ बेजसको अन्तरिक्ष प्रविधि एवं एयरोस्पेस कम्पनी ‘ब्लु ओरिजिन’को एउटा क्याप्सुल पनि मैले देखेँ । स्पेस-एक्सको मर्लिन वान डी इन्जिन, थ्रीडी प्रिन्टेड प्रविधि प्रयोग भएको रदरफोर्ड इन्जिन र व्यावसायिक उडानका लागि प्रयोग हुने रकेटमोटर टु प्रदर्शनमा छन् ।
रकेटलाई ठ्याक्कै सहि ठाउँमा अवतरण गराउन मद्दत गर्ने ग्रिड फिन पनि त्यहाँ राखिएको छ । मंगल ग्रहको सतहमा पुगेको भाइकिङ ल्यान्डरको दुरुस्त नमुना देख्दा म उत्साहित बनेँ । यस ल्यान्डरले मंगल ग्रहसम्बन्धी थुप्रै रहस्य खोल्नुका साथै मानिसहरूको बुझाइ फराकिलो बनाइदिएको थियो । सन् १९७६ मा भाइकिङ ल्यान्डर मंगल ग्रहको सतहमा सफलतापूर्वक अवतरण गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान बन्यो । यसले मंगल ग्रह केले बनेको छ, यो कसरी बनेको हुन सक्छ र यसले हाम्रो सौर्य मण्डलको विकासबारे के सङ्केत गर्छ भन्ने कुरा विश्लेषण गर्न वैज्ञानिकहरूलाई मद्दत पुर्याएको थियो ।
विश्वमा सञ्चार क्रान्ति सुरु गर्ने टेलस्टार भूउपग्रहदेखि भविष्यको निजी ‘एक्सियम स्टेसन’का मोड्युलहरू महत्वपूर्ण आकर्षण हुन् । अझै रोचक त, संग्रहालयको ‘केनेथ सी. ग्रिफिन एक्सप्लोरिङ द प्लानेट्स’ ग्यालरीमा मंगल ग्रहसम्बन्धी अत्याधुनिक भिडियो तथा डिजिटल सामग्रीहरू राखिएका छन् । ‘पर्सेभरेन्स रोभर’ ले रेकर्ड गरेका वास्तविक आवाज यहाँ सुन्न सकिने रहेछ । ‘सेभेन मिनेट्स अफ टेरर’ शीर्षकको भिडियोमा मंगलमा रोभर अवतरण गर्दाको अत्यन्तै जटिल र चुनौतिपूर्ण प्रक्रिया देखाइएको छ ।
मंगल ग्रहमा जीवनको खोजी ‘सर्चिङ फर लाइफ’ खण्ड मलाई बढी नै रूचिकर लाग्यो, साथीलाई बाहिरै ‘एकछिन पर्खनु है’ भनेर म दुईचोटी त्यो खण्डमा गएर उभिएँ । मंगलमा पानीको इतिहास र त्यहाँ पहिले कुनै जुगमा जीवन थियो कि थिएन भन्नेबारे वैज्ञानिकहरूको भनाइसहितको भिडियो त्यहाँ थियो । सो भिडियोमा नासाका पूर्व प्रमुख वैज्ञानिक डा. जिम ग्रीनले भनेका छन्, ‘हामी मंगल ग्रहमा जीवन सम्भव छ भन्नेबारे धेरै नजिक पुगिसकेका छौँ । तर, यो खबर सुन्न के विश्व तयार छ ? हामीले त्यहाँ सूक्ष्म जीव भेट्टायौँ भने त्यसले जीव-विज्ञानको परिभाषा नै फेरिदिनेछ ।’ सोही भिडियोमा इलन मस्कले मंगल ग्रहलाई ‘लाइफ इन्सुरेन्स फर ह्युमानिटी’ भनेका छन् । पृथ्वीमा उल्कापिण्ड ठोक्किने वा आणविक युद्धजस्तो कुनै ठूलो संकट आइपर्यो भने मानव जातिलाई जोगाउन मंगल ग्रहमा शहर बसालिहाल्नुपर्ने उनको तर्क छ ।
सौर्य मण्डलका अन्य ग्रहहरूको तुलनामा मंगल ग्रह पृथ्वीसँग धेरै हदसम्म मिल्दोजुल्दो पनि भएकाले मस्क लगायतले यसलाई भविष्यको विकल्प वा मानव जातिको ‘दोस्रो घर’ हुनसक्ने औँल्याएका छन् । मंगलमा एक दिनमा २४ घण्टा ३७ मिनेट हुन्छ । पृथ्वीमा जस्तै मंगलमा पनि चारवटा ऋतुहरू हुन्छन् । मंगलको ध्रुवीय क्षेत्रमा हिउँ वा आइस फेला परिसकेको छ । जहाँ पानी छ, त्यहाँ जीवनको सम्भावना हुने वैज्ञानिकहरूको ठहर छ ।
वैज्ञानिकहरूले मंगल ग्रहमा जान चन्द्रमालाई आधार शिविर बनाउन खोजिरहेका छन् । अमेरिका र नासाले चन्द्रमामा स्थायी शिविर स्थापना गर्ने घोषणा नै गरिसकेका छन्, अहिलेको आर्टेमिस-टु अभियान त्यसकै लागि तयारी हो । अन्तरिक्षमा यत्रो विशाल प्रगति सामुन्ने देख्दा मलाई भने आफ्नै चिन्ताले पिरोल्छ । भनिहालेँ- चिसो ठाउँ मलाई मन पर्दैन, मंगल त असाध्यै चिसो छ ।
विज्ञान र प्रविधिको चमत्कारले मेरै जीवनकालमा मंगल यात्रा सम्भव भएर मानिसहरू दोस्रो घरतिर लागे भने, म के गर्ने होला ? तर, म त ढोगीँ छु- तापक्रम माइनस छ भन्दैमा मंगल ग्रह नजाने कुरा भएन !
