५३ वर्षपछि पुनः चन्द्रमाको यात्रामा मानवजाति

सन् १९६९ जुलाईमा पहिलोपटक तीन जना र १९७२ डिसेम्बरमा अन्तिम पटक तीन अन्तरिक्षयात्री चन्द्रमामा पुगेका थिए, यसपाली अन्तरिक्ष यात्रीहरुले चन्द्रमाको सतहमा अवतरण भने गर्नेछैनन्, यो ‘फ्लाई बाई’ अर्थात् चन्द्रमाको परिक्रमा गर्ने मिसन हो।

माघ १८, २०८२

सजना बराल

After 53 years, humanity is once again on a journey to the moon.

What you should know

काठमाडौँ — चन्द्रमामा पछिल्लो पटक मानव पाइला परेको (सन् १९७२) झन्डै साढे पाँच दशकपछि आगामी आइतबार पुनः चार अन्तरिक्षयात्री त्यता जाँदै छन् । ‘आर्टेमिस–२’ नाम दिइएको यस बहुप्रतीक्षित मिसनका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी, नासाले रकेटको प्राविधिक जाँच, सुरक्षा व्यवस्था, बुस्टरको अन्तिम मर्मतलगायतका काम पूरा गरिसकेको छ ।

अन्तरिक्षको वातावरणसँग आफूलाई मानसिक रूपमा तयार पार्न र स्वास्थ्य अनुकूलता मिलाउन दुई सातादेखि चारै जना अन्तरिक्षयात्री टेक्ससस्थित जनसन स्पेस सेन्टरमा ‘क्वारेन्टिन’ मा छन् । नासाले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा फेब्रुअरी २ मा वेट ड्रेस रिहर्सल (परीक्षण उडान एवं इन्धन भर्ने काम) गर्दै छ । 

अन्तरिक्षयात्रीहरू ठ्याक्कै ५३ वर्षपछि यही फेब्रुअरी ८ देखि ११ को बीचमा चन्द्रमातर्फको यात्रामा निस्कन लागेका हुन् । पूर्वनौसेना पाइलट एवं मिसन कमान्डरका रूपमा रिड विसम्यानले यो मिसनको नेतृत्व गर्नेछन् । पाइलटको भूमिकामा नौसेनाका अर्का पाइलट भिक्टर ग्लोभर छन्, चन्द्रमाको यात्रा गर्ने उनी पहिलो अश्वेत हुनेछन् । यी दुईसँग मिसन स्पेसलिस्टका रूपमा अन्तरिक्ष यात्रामा सबैभन्दा लामो समय बिताउने महिलाको कीर्तिमान राखेकी क्रिस्टिना कोच र क्यानडाका रोयल एयर फोर्सका कर्नेल जेरेमी ह्यान्सन छन् । जेरेमी चन्द्रमातर्फ जाने पहिलो गैरअमेरिकी अन्तरिक्षयात्री बन्नेछन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो मिसनले मानव इतिहासको एउटा पुरानो उपलब्धि पुनः सम्झाइदिएको मात्र नभएर नयाँ वैज्ञानिक खोज तथा अनुसन्धान एवं मंगलग्रह अभियानका लागि समेत बाटो खोल्ने अपेक्षा गरिएको छ । यसअघि सन् १९७२ डिसेम्बरमा अपोलो–१७ मिसनमा तीन जना अन्तरिक्षयात्री अन्तिम पटक चन्द्रमामा पुगेका थिए ।

After 53 years, humanity is once again on a journey to the moon.

यसपालि अन्तरिक्षयात्रीहरूले चन्द्रमाको सतहमा अवतरण भने गर्ने छैनन्, यो ‘फ्लाई बाई’ अर्थात् चन्द्रमाको परिक्रमा गर्ने मिसन हो । तथापि यसमा उनीहरूले चन्द्रमाको सुदूर भेगसमेत अवलोकन गर्दै छन् । सन् २०२७ वा २०२८ मा हुने ‘आर्टेमिस–३’ मिसनको अभ्यासस्वरूप यो यात्रा गर्न लागिएको हो । आर्टेमिस–३ का यात्रीहरूले भने चन्द्रमामा अवतरण गर्नेछन् । सो मिसनका लागि इलन मस्कको कम्पनी, स्पेस एक्सले ‘स्टारसिप’ नामक यान बनाइरहेको छ । 

‘आर्टेमिस–२’ यस मिसनमा यात्रीहरू ‘ओरियन’ नामक अन्तरिक्षयानमा चढेर जाँदै छन् भने त्यसलाई नासाको शक्तिशाली स्पेस लन्च सिस्टम (एसएलएस) रकेटले अन्तरिक्षमा पुर्‍याउनेछ । जम्मा १० दिन लामो उडानका क्रममा सो अन्तरिक्षयान चन्द्रमालाई परिक्रमा गरी पृथ्वीमा फर्किनेछ । नासाका अधिकारीहरूले यो उडान कुनै साधारण अभ्यास नभएर चन्द्र सतहमा पुनः मानव अवतरणतर्फको निर्णायक सेतु भएको दाबी गरेका छन् ।

नासाका प्रमुख प्रशासक बिल नेल्सनले यसअघि सार्वजनिक ब्रिफिङहरूमा भनेका थिए, ‘हामी फेरि चन्द्रमामा फर्किंदै छौं । तर, यस पटक पहिलेजस्तो जाने–आउनेभन्दा पनि त्यहाँ दीर्घकालीन रूपमै बस्ने हाम्रो तयारी छ ।’ नासाले आर्टेमिस कार्यक्रमको मूल लक्ष्यका रूपमा ‘स्थायी बसोबास’ लाई दोहोर्‍याउँदै आएको छ भने चन्द्रमालाई मंगलग्रहमा जाने ‘ट्रान्जिट’ बनाउने सोच पनि यसमा जोडिएको छ ।

After 53 years, humanity is once again on a journey to the moon.

आर्टेमिस–२ मिसन किन फरक र महत्त्वपूर्ण छ भन्ने कुरा नासाको सोही लक्ष्यबाट बुझ्न सकिन्छ । अपोलो मिसनहरू शीतयुद्धकालीन स्पेस होडबाजीबाट जन्मिएका थिए । आणविक प्रविधिको दौड र आतंकबीचको बढी अब्बल हुने भन्ने प्रतिस्पर्धाले नै अपोलो मिसन सम्भव बनाएको थियो ।

आर्टेमिस भने दीर्घकालीन सोचमा आधारित छ, यसमा एक–दुई उडान र फोटोअप मात्र नभएर एउटा प्रणाली नै निर्माण गर्ने नासाको योजना छ । आर्टेमिस–२ सोही प्रणालीको पहिलो मानवसहितको परीक्षण हो । ओरियन यानमा रहेको उन्नत नेभिगेसन प्रविधि, सौर्य विकिरणबाट बचाउने ‘स्टर्म सेल्टर’, एसएलएस रकेटको क्षमता र झन्डै १० दिन लामो अन्तरिक्ष यात्रामा मानव सहनशीलताको परीक्षा यस मिसनमा हुनेछ । 

After 53 years, humanity is once again on a journey to the moon.

पुनः चन्द्रमामा पुग्ने महत्त्वाकांक्षाको मूल्य पनि त्यत्तिकै ठूलो छ । नासाका अधिकारीहरूको अनुमानअनुसार आर्टेमिस कार्यक्रमको कुल लागत सन् २०२७ सम्ममा ९० अर्ब अमेरिकी डलरभन्दा बढी पुग्नेछ । यो अपोलो कार्यक्रममा भएको करिब २५ अर्ब अमेरिकी डलर (आजको मुद्रास्फीतिअनुसार करिब २८० अर्ब अमेरिकी डलर) खर्चभन्दा ठूलो हो ।

एक पटकको आर्टेमिस उडानमा ४ अर्ब डलरभन्दा बढी खर्च हुने अनुमान छ । अपोलो जमानाको स्याटर्न–५ रकेट प्रक्षेपण आजको मूल्यमा करिब १.२ अर्ब डलर पर्थ्यो । अपोलो मिसनका जमानामा एक पटक प्रयोग भएपछि नष्ट हुने यान बन्थे, आर्टेमिसमा पुनःप्रयोग हुने प्रविधि बनाइएको छ । यस पटक भविष्यमा चन्द्रमामै बस्ने र काम गर्ने आधारभूत संरचना तयार गरिँदै छ ।

After 53 years, humanity is once again on a journey to the moon.

प्रविधिको दृष्टिले पनि यी दुई मिसनमा युगकै दूरी छ । अपोलोका अन्तरिक्षयात्रीहरूले आजको साधारण क्याल्कुलेटरभन्दा कमजोर क्षमताको पहिलो पुस्ताको कम्प्युटर प्रयोग गरेर नेभिगेसन (बाटो पहिल्याउने काम) गरेका थिए । ओरियनको एभियोनिक्स प्रणाली र फ्लाइट सफ्टवेयर निकै उन्नत र अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित छ ।

यसले रकेट उडाउने, अक्सिजन र तापक्रम मिलाउने, नेभिगेसन गर्ने र पृथ्वीसँग सञ्चारजस्ता हजारौं काम स्वाचालत रूपमा एकैसाथ गर्न सक्ने नासाको वेबसाइटमा जेनिफर हार्बगले लेखेकी छन् । सन् २०२२ मा भएको मानवरहित आर्टेमिस–१ प्रक्षेपणपछि ओरियनको ‘हिट सिल्ड’ (ताप प्रतिरोधी प्रविधि) मा देखिएको समस्याका कारण यसलाई पुनः डिजाइन र जाँच गरिएको थियो । नासाका अनुसार यसअघि सन् २०२४ मै हुने भनिएको उडान ढिलो हुनुमा प्रणालीलाई थप सुरक्षित बनाउन समय लागेको हो ।

आर्टेमिस–२ ले अन्तरिक्ष यात्राको नयाँ मोडल पनि देखाउनेछ । यो मिसन सन् १९६० को दशकमा सोच्दा पनि नसोचिएको अन्तर्राष्ट्रिय र निजी क्षेत्रसँगको साझेदारीको अवधारणामा आधारित छ । युरोपियन स्पेस एजेन्सीले ओरियनको सर्भिस मोड्युल उपलब्ध गराएको हो भने क्यानडाले रोबोटिक प्रविधिमा योगदान गरेको छ । यसको सट्टामा क्यानडाले पहिलो पटक चन्द्रयात्रामा आफ्ना एक अन्तरिक्षयात्री पठाउने अवसर पनि पाएको छ । निजी क्षेत्रतर्फ इलन मस्कको ‘स्पेस एक्स’ को नेतृत्वमा रहेका विभिन्न कम्पनीहरूले आर्टेमिस–३ का लागि चन्द्र सतहमा अवतरण गराउने यान बनाइरहेका छन् । 

After 53 years, humanity is once again on a journey to the moon.

नासाले यस पटक चन्द्रमाको दक्षिणी ध्रुवनजिक मानव अवतरण गराउने लक्ष्य लिएको छ । त्यहाँ अपोलो यानहरू कहिल्यै पुगेनन् । त्यस क्षेत्रमा लामो समयदेखि जमेको पानीको बरफ रहेको विश्वास गरिन्छ । पानीको सम्भावित स्रोत पहिल्याउन पाए भविष्यमा चन्द्रमालाई दीर्घकालीन र ठूला प्रकृतिका अन्तरिक्ष यात्राका लागि आधार बनाउन सकिने र अन्ततः मंगलग्रहसम्म मानव पठाउने नासाको योजना छ ।

नासाका पूर्वएसोसिएट एड्मिनिस्ट्रेटर जिम फ्रीले गत वर्ष सेवा निवृत्त हुनुअघि सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘हामी पृथ्वीबाहिर लामो समय बाँच्न र काम गर्न सिक्ने क्रममा छौं, त्यो प्रमाणित गर्ने ठाउँ चन्द्रमा नै हो ।’ 

आर्टेसिम–२ मिसनअन्तर्गत चन्द्रमातर्फ यात्रा गर्ने दिन नजिकिएसँगै अन्तरिक्षमा फर्किएको रौनक पहिलेझैं विश्व भूराजनीतिक प्रतिस्पर्धाबाट अलग भने छैन । चीनले यसै दशकको अन्त्यतिर मानिसलाई चन्द्रमामा पठाउने योजना सार्वजनिक गरिसकेको छ भने रुससँग मिलेर चन्द्रमामा अनुसन्धान केन्द्र निर्माणको प्रस्ताव अघि सारेको छ ।

भारतले पनि चन्द्रमामा मानव पठाउने औपचारिक घोषणा गरिसकेको छ । टेलिग्राफ इन्डियाका अनुसार गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) ले सन् ‘अन्तरिक्ष मार्गचित्र’ प्रस्तुत गरेका थिए । भारतले सन् २०४० भित्र चन्द्रमाको सतहमा गगनयात्री (भारतीय अन्तरिक्षयात्री) उतार्ने र उनीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काउने लक्ष्य राखेको छ ।

After 53 years, humanity is once again on a journey to the moon.

झन्डै ५ दशकपछि मान्छेलाई चन्द्रमामा फर्काउने, लामो समय बस्न सक्ने र त्यही बसाइलाई मंगल र अन्य ग्रहसम्म पुर्‍याउने जोसचाहिँ अन्तरिक्षमा निजी क्षेत्रको प्रवेशले आएको हो । नवीनतम सोच र लगानीसहित विश्वका विशेषतः प्रविधि क्षेत्रका अर्बपतिहरू अन्तरिक्ष अभियानमा जोडिन थालेका छन् ।

पहिलेका अन्तरिक्ष उडानहरू सरकारी लगानी र सैनिक प्रविधिको प्रयोगमा सीमित थिए भने अहिले निजी कम्पनीहरू अन्तरिक्ष पर्यटन, रियुजेबल रकेटजस्ता नयाँ र मितव्ययी अवधारणासहित उदाएका छन् । तथापि आर्टेमिस भने अझै अमेरिकी सरकार र अन्य देशका सरकारी नेतृत्व र लगानीमै सञ्चालन हुनेछ । 

अपोलो ८, ९ र १० मा जस्तो आर्टेमिस–२ यात्रामा मानिसले चन्द्र सतहमा पाइला नटेके पनि आधा शताब्दीपछि मानव जाति पृथ्वीको सबैभन्दा नजिकको छिमेकीतर्फ फर्किनुलाई रुचिपूर्वक हेरिएको छ ।

After 53 years, humanity is once again on a journey to the moon.

ओरियन अन्तरिक्षयान चन्द्रमाको पछाडिपट्टिको भागतर्फ जाँदा केही क्षणका लागि पृथ्वीबाट सम्पर्कविहीन हुँदा र १० दिन बिताउँदा, यसले मानिस, पृथ्वी र चन्द्रमाको सम्बन्धलाई पुनः जागृत गर्ने विश्वास लिइएको छ । सम्भवतः एक पटकका लागि नभई यसले दीर्घकालीन यात्राको सुरुवात र अझै उन्नत मानव–प्रविधिको प्रदर्शन प्रस्तुत गर्ने अपेक्षा पनि छ । 

(एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully