कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अब नास्टमै अक्सिजन सिलिन्डरको गुणस्तर परीक्षण हुने

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)मा अक्सिजन सिलिन्डरको गुणस्तर परीक्षण हुने भएको छ । मंगलबार नास्टले अक्सिजन ग्यास सिलिन्डरको सफलतापूर्वक उत्पादन परीक्षण गरेको हो ।

अब नास्टमै अक्सिजन सिलिन्डरको गुणस्तर परीक्षण हुने

कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भइरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी नास्टले परीक्षण गरेको हो । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गरेका थिए ।

सेमि अटोमेटिक टेक्नोलोजीको प्रयोगबाट निर्माण गरिएको अक्सिजन सिलिन्डरको सफल परीक्षण गरिएको नास्टका वैज्ञानिक शंकर ढकालले बताए । उनका अनुसार परीक्षण सफल भएको र अन्य सिलिन्डरहरुको गुणस्तर परीक्षण नास्टमै हुनेछ । 'हामीले एलपी ग्यासको सिलिन्डरलाई नै अक्सिजन ग्यास सिलिन्डर बनाउन सकिन्छ कि भनेर पनि परीक्षण गरेका थियौं,' ढकालले भने,'ग्यास सिलिन्डरले १५ केजी पर सेन्टिमटरको चाप थेग्न सक्दो रहेछ अक्सिजनका लागि चाहिने १५०केजी पर सेन्टिमिटर हो । ग्यास सिलिन्डरले सम्भव नभएपछि हामी आफैंले सेमि अटोमेटिक टेक्नोलोजी प्रयोग गरेर आफ्नै सिलिन्डर निर्माण गर्‍यौं ।'

नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको बताए । उनका अनुसार नेपालमा पाइने सिलिन्डरको न्यूनतम मूल्य करिब १५ हजार पर्नेछ भने नास्टको प्रविधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मूल्य पर्नेछ ।

परीक्षण अवलोकन गर्दै मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन र परीक्षणमा सहभागी सबैलाई धन्यवाद दिएका थिए । उनले भने,'नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्नानीटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गर्नुभयो । अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रविधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गर्नुभएको छ । '

मन्त्री श्रेष्ठले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभाव पूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताए । नास्टले अझ धेरै आविष्कार गर्न बाँकी रहेको बताउँदै त्यसको लागि सरकारको पूर्ण सहयोग रहने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

नेपाल अक्सिजन सिलिन्डरको निर्माण हुने गरेको छैन भने आयातित सिलिन्डरको गुणस्तर पनि परीक्षण हुने गरेको छैन । अगामी दिनहरुमा सिलिन्डरको गुणस्तर परीक्षण पनि नास्टमै हुनेछ ।

नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए । नास्टले कोभिड नियन्त्रणमा महत्वपूर्ण काम गरिरहेको दाबी गर्दै भविष्यमा अन्य कार्य अघि बढाइने जानकारी दिए । उनले अब नास्टलाई स्मार्ट नास्ट बनाउने गरी कार्ययोजना अघि बढाइएको बताए ।

प्रकाशित : जेष्ठ ४, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?