इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै डोटीमा प्रदर्शन

प्रदर्शनका क्रममा विद्यार्थीले ‘हत्यारालाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘छोरीको सुरक्षा गर’, ‘न्याय किन्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

चैत्र १, २०८२

मोहन पनेरु

Protest in Doti demanding action against those responsible for Inissa Bik's murder

डोटी — सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै डोटीमा विरोध प्रदर्शन गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियन, डोटी बहुमुखी क्याम्पसको आयोजनामा आइतबार विद्यार्थीले प्रदर्शन गरेका हुन्।

शैलेश्वरी मन्दिर प्रवेशद्वारबाट नारा लगाउँदै निकालिएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालयअगाडि हुँदै जिप्रकासम्म पुगेको थियो। त्यहाँबाट पुनः फर्किएर जिल्ला प्रशासन कार्यालयअगाडि कोणसभामा परिणत भई कार्यक्रम सम्पन्न भएको थियो।

प्रदर्शनका क्रममा विद्यार्थीले ‘हत्यारालाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘छोरीको सुरक्षा गर’, ‘न्याय किन्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

विरोध प्रदर्शनमा डोटी बहुमुखी क्याम्पस तथा पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, सिलगढीमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो। दोषीलाई कानुनी कारबाही नगरे आन्दोलनलाई अझ सशक्त बनाइने विद्यार्थीको भनाइ थियो।

गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्कनजिकैको सामुदायिक वन क्षेत्रमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको थियो। उक्त घटनाले सुर्खेतसहित देशभरका नागरिकमा आक्रोश उत्पन्न गरेको छ।

मोहन

Link copied successfully