इनिशाको न्यायका लागि बाँकेमा प्रदर्शन

उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापन पत्रसमेत बुझाए ।

फाल्गुन २८, २०८२

रुपा गहतराज

Demonstration in Banke for justice for Inisha

नेपालगन्ज — सुर्खेत वीरेन्द्रनगर–१ की १६ वर्षीया इनिशा विकको हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासन बाँकेमा स्थानीय युवा, विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर बलात्कारपछि हत्या गरिएको भन्दै विकलाई न्याय दिलाउन उनीहरुले माग गरेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी  दिलकुमार तामाङलाई ज्ञापन पत्र समेत बुझाए ।

विक सुर्खेतको उषा बालबाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत थिइन् । गत शनिबार बिहान वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा उनी बेहोस अवस्थामा फेला परेकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गर्ने भएको छ । यस घटनामा संलग्न रहेको आरोपमा हालसम्म १८ वर्षमूनिका चार जना किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully