सुदूरपश्चिममा नागरिक उन्मुक्तिले कांग्रेस सरकारलाई समर्थन गर्ने

चैत्र ४, २०८०

अर्जुन शाह

Civil immunities in the Far West will support the Congress government

धनगढी — सुदूरपश्चिम प्रदेशमा वर्तमान सरकार जोगिने वा ढल्ने अन्योलताकाबीच नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने निर्णय गरेको छ । आइतबार पार्टीको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारका मुख्ख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको हो ।

दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले संघमा नवगठित पुष्पकमल दाहाल सरकारलाई विश्वासको मत दिए पनि प्रदेशमा भने स्वायत्त अभ्यास गर्ने बताए ।  दलको बैठकमा पार्टीका सात सांसदमध्ये पाँच जनाको उपस्थिति थियो ।

सांसद कैलाश चौधरी र टीका थापा बैठकमा अनुपस्थित थिए । सांसद कैलाश चौधरीले विस्वासको मत नदिने बताउँदै आए पनि दलका नेता चौधरीले उनलाई पनि मन्त्री बनाएर सहमतिमा ल्याउने र दलको निर्णयबाहिर कुनै पनि सांसद नजाने बताए । हाल नागरिक उन्मुक्तिका सात सांसदमध्ये पाँच जना मन्त्री भइसकेका छन् । 

कमलबहादुर शाह नेतृत्वको कांग्रेस सरकारले विश्वासको मत प्राप्त गर्न नागरिक उन्मुक्तिले समर्थन गर्दा पनि राप्रपा र स्वतन्त्र सांसदले समर्थन गर्नुपर्ने हुन्छ । नागरिक उन्मुक्तिले समर्थन गरे आफूहरू पनि समर्थन गर्ने उनीहरूले बताउँदै आएका छन् ।  कांग्रेसका १८, नागरिकका सात, एक राप्रपा र एक स्वतन्त्र गरी २७ जना पुग्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन जुटाउनुपर्नेछ ।

सत्ता गठबन्धन हेरफेर

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully