सडक नहुँदा कर्मचारी र सुरक्षाकर्मीलाई पनि हेलिकोप्टरबाटै पठाइयो
दार्चुला — व्यास गाउँपालिका–१ छाङरु र टिंकर मतदान केन्द्रमा हेलिकोप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइएको छ । स्थलमार्गबाट जाने अवस्था नभएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रहरीसहित निर्वाचनमा खटिने कर्मचारी र सामग्री पठाइएको हो ।
नेपाली भूमिबाट व्यास जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत जनशक्ति र सामग्री पठाइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनका अनुसार छाङरु र टिंकर मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्री तथा मतदान अधिकृतसहित ८ कर्मचारी पठाइएको छ । सीमा प्रहरी चौकी टिंकरमा खटिन ७ जना प्रहरीलाई समेत पठाइएको छ ।
व्यास–१ मा दुई बस्ती छन्, छाङरु र टिंकर । त्यहाँका स्थानीय चिसो छल्न हिउँदमा बेसी (सदरमुकाम) झर्छन् । स्वदेशबाट थातथलो छाङरु र टिंकर पुग्ने बाटो नहुँदा स्थानीय भारतीय प्रशासनको अनुमति लिएर भारतीय बाटो हुँदै गाउँ फर्किसकेका छन् । बेसीबाट सरसामान र चौपायासहित कुञ्चा हिँडेकामध्ये आधाजसो गाउँ पुगिसकेको र केही बाटोमै रहेको स्थानीय दानसिह टिंकरीले बताए । जिल्ला निर्वाचन कार्यालयका अनुसार छाङरुको कैलाशपति आधारभूत विद्यालय मतदान केन्द्रमा ३ सय ७५ र टिंकरको आवि मोती महिला संघ केन्द्रमा २ सय ३१ मतदाता छन् । यसपाली गर्भवती, सुत्केरी, असक्त र वृद्धहरू खलंगामै बसेकाले मत कम खस्ने स्थानीय टिंकरीको आकलन छ । ‘भोट हाल्नैका लागि अब गाउँ जाने अवस्था कमै छ,’ उनले भने ।
जिल्लाका अधिकांश स्थानीय तहका मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका छन् । ९ वटै स्थानीय तहमा खटिने मतदान अधिकृतले आइतबारदेखि निर्वाचन सामग्री जिम्मा लिन थालेको जिल्ला निर्वाचन अधिकारी प्रदिपसिंह धामीले बताए । उनका अनुसार जिल्लामा १ सय १० मतदानस्थल र १ सय ३९ मतदान केन्द्र छन् । ८८ हजार २ सय ८५ मतदाता छन् । यसैबीच, स्थानीय प्रशासनले निर्वाचन अवधिभर मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाएको छ । प्रजिअ उपाध्यायका अनुसार वैशाख २५ गते राति १२ बजेदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको हो ।
टिंकरमा ६ महिनापछि प्रहरी
चिसो छल्न कात्तिक अन्तिमतिर बेसी झरेको चीनको सीमावर्ती टिंकर नाकामा प्रहरी टोली ६ महिनापछि फर्किएको छ । सीमा प्रहरी चौकी टिंकरबाट छाङरु र सदरमुकाम खलंगा झरेका उनीहरू सोमबारबाट काजमा फर्किएका हुन् । केही साताअघि टिंकर चौकी रहेको छियालेकको अनुगमन गरेर छाङरु फर्केको र अहिले पुरै टोली सीमा चौकीमा खटिएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रतीक विष्टले बताए ।
प्रहरी नायब निरीक्षक हर्कसिंह महताको कमान्डमा ७ जनाको टोली सेनाको हेलिकोप्टरमार्फत टिंकर पुगेको हो । हातहतियार तथा खाद्य सामग्री पनि हेलिकोप्टरमार्फत नै ढुवानी गरिएको विष्टले बताए ।
