रुकुम पश्चिम — नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका कार्यकर्ता ४ जना घाइते भएका छन् ।
सोमबार राति ९ बजेपछि बाँफिकोट गाउँपालिका–३, दहस्थित कांग्रेस कार्यकर्तामाथि माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए ।
आक्रमणमा कांग्रेस वडा सभापति सूर्यप्रकाश मल्ल, वडा सदस्य मित्रलाल ओली, राजेश केसी, हुपजंग बोहरा घाइते भएका छन् । सोमबार राति बसिरहेका कार्यकर्तामाथि माओवादीले आक्रमण गरेर भागेको घटनास्थलमा रहेका कांग्रेसको प्रचारप्रसार केन्द्रीय उपसमितिका सदस्य तारक केसीले बताए । घरमै बसिरहेकाहरुमाथि माओवादीले आक्रमण गरेको त्यसमा सुरक्षाकर्मी मुकदर्शक बनेको आरोप केसीले लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले सोमबार राति कांग्रेसका कार्यकतामाथि आक्रमण भएको खबर आएपछि प्रहरी परिचालन गरिएको र अहिलेको अवस्था सामान्य रहेको डिएसपीले बताए ।
दिनहुँ कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप र लफडा हुन थालेपछि कांग्रेस माओवादीका जिल्ला नेताले एक सयुंक्त अपिल जारी गरी त्यस्तो नगर्न आग्रह गरेका थिए । अपिल जारी गरेपछि पनि जिल्लाका दुई ठाउँमा यस्ता घटना भइसकेका छन् ।
