जिल्ला सभापतिदेखि उपमेयरसम्म पराजित

मंसिर ७, २०७८

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा कांग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहोरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका उम्मेद्वार रहेका बोहोराले २४४ मत ल्याए ।

 खुला पुरुषतर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि १९ जनाको उम्मेद्वारी परेको थियो । ५०८ मतदाता रहेको क्षेत्र नम्बर २ मा ५०४ मत खसेको थियो । 

क्षेत्र नम्बर २ मा नेताहरु रमेश लेखक र एनपी सावदले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । लेखक प्यानलबाट उम्मेद्वारी दिएका बोहोरासहित सबै उम्मेद्वार पराजित भएका छन् ।

यसैगरी भीमदत्त नगरपालिकाकी उपमेयर पनि क्षेत्रीय सचिवमा पराजित भएकी छन् । प्रतिनिधि सभाको क्षेत्र नम्बर ३ बाट सचिवकी उम्मेद्वार रहेकी उपमेयर सुशिला चन्द सिंह पराजित भएकी हुन् । सिंहले २२६ मत प्राप्त गरिन् । सचिवमा विजयी उम्मेद्वार उमेश प्रसाद जोशीले ३०७ र गंगादत्त भट्टले ३०१ मत प्राप्त गरे ।

कांग्रेस महाधिवेशन

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully