कांग्रेसका मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित
काठमाडौँ — कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत सोमबारदेखि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन थालेको छ । विधानले क्षेत्रीय अधिवेशनले क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको छ । यसरी क्षेत्रीय अधिवेशनबाट निर्वाचित भएका प्रतिनिधि नै केन्द्रीय महाधिवेशनका मतदाता हुन् ।
जसकारण क्षेत्रीय अधिवेशनको नतिजालाई नेताहरूले नजिकबाट हेरिरहेका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रमा पदका आकांक्षी नेताहरुको ध्यान अहिले क्षेत्रीय अधिवेशनले खिचेको छ । केन्द्रीय निर्वाचन समितिले सोमबारदेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र एकमात्र क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन सुरू भएको जनाएको छ । समितिका सदस्य गोपालकृष्ण घिमिरेले १२५ निर्वाचन क्षेत्रमा सोमबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको जानकारी दिए ।
कांग्रेसले १४ वटा हिमाली जिल्लामा यसअघि नै क्षेत्र र जिल्लाको अधिवेशन गरिसकेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये हिमाली जिल्लाका १५ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ भने २५ वटा क्षेत्रमा अधिवेशन हुन बाँकी छ । ‘१० गते दुई वा सोभन्दा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन छ, त्यसबेलासम्म सबैले जिल्ला तहसम्मकै अधिवेशन सक्ने गरी निर्देशन गरेका छौं, ’ घिमिरेले भने, ‘त्यहीअनुसार देशैभरि अधिवेशन भइरहेको छ ।’
केन्द्रीय निर्वाचन समितिले क्षेत्रीय अधिवेशनका लागि सोमबारको मिति तोके पनि परिस्थिति अनुकुल जिल्ला कार्यसमितिसँग परामर्श गरी जिल्ला निर्वाचन अधिकृतले अर्को दिन पनि निर्वाचन गर्न सक्ने व्यवस्था मिलाइएको छ । जसअनुसार अहिले क्षेत्रीय अधिवेशन गर्न नसकेका जिल्लाले क्रमशः मंगलबार, बुधबार र बिहीबार अधिवेशन गर्न सक्ने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।‘सोमबार धेरै क्षेत्रहरूमा उद्घाटन र मतदान भयो, अहिले गणना भइरहेको छ । कसैले सोमबार उद्घाटन मात्रै गरे, आज मतदान भइरहेको छ,’ उनले भने, ‘ठाउँ अनुसार फरक–फरक छ । परिणाम आउनेक्रम छ ।’
निर्वाचन समितिका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट त्यहाँको जनसंख्याको आधारमा २५ देखि २७ जनासम्म महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यसरी देशभरका १६५ निर्वाचन क्षेत्रबाट करिब ४५ सय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
कांग्रेसले पहिलो चरणमा १४ हिमाली जिल्लाहरू मनाङ, रुकुमपुर्व, मुस्ताङ, हुम्ला, संखुवासभा, ताप्लेजुङ, गोरखा, दोलखा, रामेछाप, कालिकोट, म्याग्दी, बझाङ, बाजुरा र मुगुका १५ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिसकेको छ । यी जिल्लामा जिल्ला अधिवेशन नै भइसकेको छ ।
क्रियाशील सदस्यताको विवादका कारण वडा अधिवेशनमै ढिलाइ भएपछि रौतहट, सर्लाही, बारा, पर्सा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा क्षेत्रीय अधिवेशन हुन सकेको छैन । ‘कतिपयले वडा अधिवेशन मात्रै सक्दैछन् । कतिपयले स्थानीय तहको अधिवेशन गर्दैछन्,’ सचिव श्रेष्ठले भने । समितिका अनुसार १० मंसिरमा जिल्ला अधिवेशन सक्नुपर्ने कार्यतालिका छ । १६ र १७ मंसिरमा सात प्रदेशको प्रदेश महाधिवेशन हुनेछ । त्यसपछि २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
डडेलधुराबाट देउवा निर्वाचित, आरजु सर्वसम्मत
विधानअनुसार केन्द्रीय कार्यसमितिमा हुने नेताहरूले महाधिवेशन प्रतिनिधि भएर आउनुपर्ने बाध्यता नभएपनि सभापति शेरबहादुर देउवाले भने डडेलधुरा जिल्ला अधिवेशनमा चुनाव लडेरै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा रिले अनसनमा बसेका छन् । तर, देउवाले डडेलधुरामा जिल्ला सभापति मल्लको अनुपस्थितिमै जिल्ला अधिवेशन गराएका हुन् । त्यो अधिवेशनले उनलाई महाधिवेशन प्रतिनिधि चुनेको हो । देउवाले खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित १० मध्ये सर्वाधित मत पाएका छन् । १० वटा कोटाका लागि २१ जनाले प्रतिस्पर्धा गरेका थिए । तर, देउवा पत्नी आरजु देउवा राणा भने सर्वसम्मत निर्वाचित भएकी छन् । जिल्ला अधिवेशनले राणासहित महिलातर्फ सबै कोटामा सर्वसम्मत प्रतिनिधि चयन गरेको हो ।
मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित
जारी अधिवेशनमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट उनी महाधिवेशन प्रतिनिधिमा उठेका थिए । यसअघि स्याङ्जाबाट उठ्दै आएका पौडेल १४औं महाधिवेशनका लागि भनेर काठमाडौंमा सदस्यता सारेका थिए । सभापति शेरबहादुर देउवा पक्षीय टिमबाट उम्मेदवारी दिएका उनले जम्मा ८३ मत मात्रै पाए ।
काठमाडौं नेता प्रकाशमान सिंहको प्रभाव क्षेत्र हो । क्षेत्रीय सभापतिमा भने मुकुन्द रिजाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीलाई फराकिलो मतान्तरसहित पराजित गरेका हुन् । रिजालले २०४ मत पाएका थिए भने तिवारीले ५० मत मात्रै पाएका थिए ।
यसैबीच, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनले परियारलाई सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।
